राष्ट्रिय स्वतन्त्र पार्टी मिशन ८४ मा : सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी मिशन ८४ मा : सभापति रवि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २५ गते सोमबार ०७:५६


रास्वपाले वि.सं. २०८४ सालमा हुने आमनिर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउने तयारीका साथ संगठन विस्तारमा मुलुकभर जुट्ने तयारी गरेको जनाएको छ ।

प्रतिपक्षी बेञ्चसँगै पार्टी संगठन विस्तारको एजेण्डामा केन्द्रीत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी अब २०८४ मा हुने निर्वाचनको मिसनमा पार्टीलाई संगठित गर्न लाग्ने बताउनु भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय भएसँगै सो दललाई संगठन विस्तार गर्न फुर्सद पनि मिलेको रुपमा लिइएको छ ।
मतदाता एवम् आमनेपालीहरूको चाहना तथा म्यान्डेटअनुसार रास्वपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारीसँगै सो दलका सभापति रविले ‘उपनिर्वाचनमा जनताले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेड दिएको छ । जनताको जनभावनाअनुसार द्रूत गतिमा अगाडि बढ्छौं, पहिलो रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र दोस्रो, संगठन विस्तारमा लाग्ने छौं ।’
उहाँले यसअघिको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम जनभावना अनुसार भए पनि अहिले त्यो नरहेपछि प्रतिपक्षमा बस्नुपर्ने स्पष्ट्याउनु भएको छ ।
अब पार्टी मिशन २०८४ मा लाग्ने बताउँदै भन्नुभयो, ‘हामी अरु कुराभन्दा पनि मिशन २०८४ अभियानमा लाग्ने छौं । त्यसका लागि संगठन विस्तार अभियानमा जुट्नेछौं । आम मतदाताको भावना अनुसार काम गर्नेछौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बैशाख २२ गते पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले गरेको हो । रास्वपाका सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको बताउनु भएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गर्नु भएको थियो । केही दिनअघि भएको भेटमा लामिछानेले साविककै मन्त्रालय दिने र साझा कार्यक्रमको पुनर्लेखन गरेमा मात्रै सरकारमा सहभागी हुने अडान राख्नु भएको थियो ।
समापति रवि सहित केही सांसदले सरकारमा जान इच्छा देखए पनि पार्टीभित्र प्रतिपक्षमा बस्नुपर्ने मत बलियो बन्दै गएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको समेत उल्लेख गर्नु भएको छ । उहाँले पार्टी सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने तर अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने उल्लेख गर्नु भयो ।
रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने हालसम्म कायमै राखेको थियो । पुस १० गते सरकारमा सहभागी भएको रास्वपा माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।
रास्वपाले वि.सं. २०८४ सालमा हुने आमनिर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउने तयारीका साथ संगठन विस्तारमा मुलुकभर जुट्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति २०८० बैशाख २५, सोमबार ०७:५६ गते
हजुरको प्रतिक्रिया