सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकाद्वारा करको दरभन्दा दायरा बढाउने निर्णय गरेको छ । नगरपालिकाको आ.व. २०८०/८१को बजेट निर्माणका लागि राजस्व परामर्श समितिको बैठकले असार ३ गते त्यस्तो निर्णय गरेको हो ।उक्त अवसरमा विशिष्ट आमन्त्रित सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले जनताको मन जित्ने, स्वस्फुर्त कर तिर्ने वातावरण बनाउन नगरपालिका लागि पर्ने बताउनु भयो । उहाँले करको दर भन्दा करको दायरा बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
राजस्व परामर्श समितिको सो बैठकको अध्यक्षता सुन्दरबजार नगरपालिकाका उप–मेयर एवम् राजस्व परामर्श समितिका संयोजक भवानी के.सी.ले गर्नुभएको थियो । बैठकले बार्षिक सवारी कर लगाउने व्यवस्था, भुमिकरको व्यवस्था, सम्पत्तिकरको व्यवस्था, भौतिक संरचनाको ह्रासकट्टीको व्यवस्था, घर, टहरा, जग्गा आदिको बहाल कर लगाउने व्यवस्था गर्ने निर्णय गरिएको नगरपालिकाका सूचना प्रविधि प्रमुख सुजन मिश्रले बताउनु भयो । उहाँका अनुसार व्यावसायिक कर लगाउने व्यवस्था, बिगापन करको व्यवस्था, अभिलेखीकरण दस्तुर, दहत्तर बहत्तर सम्बन्धि करको दर लगाउने व्यवस्थाका साथै राजस्व अनुमान गर्ने निर्णय गरि आउँदो नगरसभामा पेश गर्ने निर्णय गरिएको छ ।
उक्त अवसरमा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडानं.– ७ का वडाध्यक्ष जयराम रेग्मी, कार्यपालिका सदस्य राधिका भट्टराई, लेखा अधिकृत एवम् राजस्व परामर्श समितिको सदस्य सचिव नरेन्द्रराज घिमिरे, प्रसासन प्रमुख विवेककुमार पण्डित, योजना अधिकृत ऋषिराम पौडेल, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, राजस्व विज्ञ रामबाबु श्रेष्ठ, देवीप्रसाद अधिकारी, लेखापाल सुरेन्द्र पोख्रेल, राजस्व फाँटका सहायक हरीप्रसाद कुमाल, एम.एस. अप्रेटर सन्तोष पोख्रेल, किसानकुमाल लगायतको उपस्थितिमा सो बैठक सम्पन्न भएको हो ।
राजस्व परामर्श समितिका संयोजक एवम् सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसीले बैठकमा भएका निर्णय कार्यन्वयन गर्न सबैलाई अनुरोध गर्दै राजस्व वृद्धि अभियानमा लाग्नु पर्ने बताउनु भयो ।
प्रकाशित मिति २०८० असार ४, सोमबार २१:२३ गते