नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल भोलि

नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल भोलि

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २८ गते बिहिबार ०७:५४

भलिबलतर्फको पुरस्कारमा पुरुष र महिलाका समान टिमले भाग लिएको भएता पनि पुरस्कार राशिमा भारी अन्तर राखिनुले महिला खेलाडीलाई निरुत्साहित गर्ने परिस्थिति सिर्जना गरिएको आम बुझाई छ ।

एपि एफको विभागीय खेलाडी रश्मिता दुराले संयुक्त क्लबको ए टिमका तर्फबाट खेलिरहेको जानकारी प्राप्त भएको छ ।

भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपलिका– ६ मा जारी तेस्रो नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल खेल प्रतियोगिताको फाइनल खेल भोलि असोज ३० गते हुने भएको छ । स्थानीय काउरे कालिका संस्थाको आयोजनामा सो प्रतियोगिता भएको हो ।
लमजुङको मध्यनेपाल नगरपलिका– ६ काउरे गाउँको पिपलडाँडा खेल मैदानमा स्व पन्च सुब्बा गुरुङ एन्ड स्व सन्त माया गुरुङ स्मृति पुरुष तथा महिला भलिबल खेल प्रतियोगिता भएको हो । सो प्रतियोगिताको फाइनलमा पुरुषतर्फ आयोजक संस्था काउरे कालिका संस्था र संयुक्त भोर्लेटार क्लब पुगेका छन् ।
यसैगरी महिलातर्फ संयुक्त क्लबको ए टिम र सोही क्लबको बी टिम फाईनलमा पुगेको आयोजकको भनाइ छ ।
फाइनलमा पुग्ने पुरुष टिम आयोजक टिमको विपक्षी खेल टिम नआएकोले वाकओभार पाएको घोषणा गरिएको थियो भने संयुक्त भोर्लेटार युवा क्लबले शुक्ला गण्डकी– १ टिमलाई बेष्टअफ थ्रिमा दुई सेट जितेर विजयी भएको आयोजक संस्थाका खेल संयोजक प्रेमबहादुर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार महिलातर्फ संयुक्त क्लबको ए टिमले आयोजक टिमलाई हराएको थियो भने सोही क्लबको बी टिमले भोर्लेटारको टल्लोटार युवा क्लबको टिमलाई हराएर फाईनलमा पुनग्न सफल भएको हो । उहाँले भन्नुभयो, ‘एपि एफको विभागीय खेलाडी रश्मिता दुराले संयुक्त क्लबको ए टिमका तर्फबाट खेलिरहेकी छिन् ।’
सो प्रतियोगितामा पुरुष र महिलातर्फ कास्की, तनहुँ र लमजुङका गरी सात/सात टिमले भाग लिएको आयोजक काउरे कालिका संस्थाका अध्यक्ष दिपक शाहीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो पुरस्कार पुरुषतर्फ एक लाख रुपैयाँ र महिलातर्फ २५ हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र पनि रहेको छ । त्यस्तै, दोस्रो पुरस्कार पुरुषतर्फ ५० हजार रुपैयाँ र महिलातर्फ १५ हजार रहेको अध्यक्ष शाहीले जानकारी दिनु भयो । साथमा मेडल र प्रमाणपत्र पनि रहेको उहाँको भनाइ छ । त्यस्तै, बेष्ट सटर, बेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट डिफेन्डर र बेष्ट ब्लकरलाई पनि पुरस्कृत गरिने भएको आयोजकको भनाइ छ ।
फाइनल खेलका अवसरमा खुला विविध सांस्कृति कार्यक्रमका साथमा महिला पुरुषको रस्साकस्सी खेलको पनि प्रतियोगिता गरिने भएको छ । त्यो प्रतियोगितामा पहिलो हुने पुरुष टिमलाई पाँच हजार र महिला टिमलाई चार हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो पुरस्कार पुरुष टिमलाई तीन हजार र महिला टिमलाई दुई हजार प्रदान गरिने आयोजनको भनाइ छ ।
यसैगरी, उक्त अवसरमा गरिने महिलाको कुर्चि घुमाई खेल समेत खेलाइने छ । त्यसमा भाग लिएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दुई हजार १५ सय र एक हजार नगद पुरस्कार दिइने प्रवन्ध गरिएको आयोजक संस्थाका अध्यक्ष दिपक शाहीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा स्व पन्च सुब्बा गुरुङ एन्ड स्व सन्त माया गुरुङका सुपुत्र रामबहादुर गुरुङ हुनुहुन्छ ।’
भलिबलतर्फको पुरस्कारमा पुरुष र महिलाका समान टिमले भाग लिएको भएता पनि पुरस्कार राशिमा भारी अन्तर राखिनुले महिला खेलाडीलाई निरुत्साहित गर्ने परिस्थिति सिर्जना गरिएको आम बुझाई छ ।
पत्रकार सुरज गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ आश्विन २९, बिहीबार १९:५४ गते
हजुरको प्रतिक्रिया