सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकाले आव २०८०/८१ को नीति तथा कार्यक्रम घोषणा गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित १२औं अधिवेशन तथा नगर सभामा नगरपालिका मेयर कृष्णप्रसाद कोइरालाले विगतको बर्षमा गरेको कार्यक्रमको समिक्षा सहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार ८ गते प्रस्तुत गर्नु हो ।
मेयर कोइरालाले नीति तथा कार्यक्रमको घोषणा गर्दै जनताको निकटतम सरकारको रुपमा रहेर स्थानीय सरकारले नागरिकको जन्मदेखि मृत्युसम्मका विषयमा हेर्ने दायित्व बोकेको हुन्छ त्यसैले नागरिकले देख्न सक्ने, छुन सक्ने, अनुभव गर्न सक्ने, सजिलै भेट्न सक्ने पहुँचमा रहेको स्थानीय सरकार भएको हुँदा विकासमा नागरिकको सार्थक र जीवन्त सहभागिताको सुनिश्चितता गर्ने गरि प्रस्तुत नीति तथा कार्यक्रम तय गरिएको छ भन्नुभयो ।
मेयर कोइरालाले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा उद्यमशीलता कार्यक्रम, विभिन्न वडामा सिंढी तथा पैदल मार्ग निर्माण, पं. तोयनाथ स्मृति पार्क निर्माण, सिन्दुरे ढुंगा पार्क निर्माण जस्ता विषयलाई समेटिएको छ ।
नगरपालिकाले ८८ करोड ५९ लाख रकम खर्च हुने अनुमान : असार २५ गते हुने समापन :
सो नीति तथा कार्यक्रम सर्वसम्मतिले पास भएपछि उपप्रमुख भवानी केसीद्वारा आगामी बर्षको बजेट प्रस्तुत भएको थियो । उपमेयर भवानी केसीद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम नगर सभा समापन असार २५ गते पास हुने सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनु भएको छ । उहाँका अनुसार मेयर कोइरालाले नगर सभा स्थगित गरी असार २५ गते हुने घोषणा गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सुन्दरबजार नगरपालिकाले ८८ करोड ५९ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।’ जसमा चालुतर्फ ४७ करोड ६ लाख ५० हजार र पूँजीगत तर्फ ४१ करोड ५२ लाख ५० हजार खर्च हुने अनुमान छ प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
सो नीति तथा कार्यक्रममा भनिएको छ, ‘रोजगारतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत कामका लागि पारिश्रमिक योजनामा ८१ जना बेरोजगारहरूलाई औसतमा छ हजार ३५१ दिनको रोजगारी उपलब्ध गराइएको छ ।
प्रभावकारी सेवा प्रबाहका लागि निरन्तर रुपमा कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिबृद्दी तालिम संचालन गरिएको छ । नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । कृषिमा आधुनिकरण र व्यवसायिकरण गर्दै कृषि र पशुपालनका सामुहिक कामबाट रोजगारी सृजना गरी गरिबी घटाउने प्रतिवद्धता व्यक्त गरिएको छ । यसैगरी, शिक्षा र स्वास्थ्यका कामहरू गुणस्तरीय बनाउने जनताको घरआँगनसम्म पुर्याउने ।
मेयर उद्यमशीलता कार्यक्रम :
कृषि बीमालाई प्रोत्साहन गरी स्वरोजगारमा आधारित व्यवसाय सञ्चालनका लागि शून्य व्याजदरको सुविधामा नगरपालिका जवानी बसी बैंक तथा वित्तीय संस्थाद्वारा ऋण उपलब्ध गराउने गरी मेयर उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने छ ।
‘बाटोको शत्रु पानी, बाटोको सुरक्षाका लागि नालीमा लगानी’ :
‘बाटोको शत्रु पानी, बाटोको सुरक्षाका लागि नालीमा लगानी’ अभियान अन्तर्गत भौतिक विकासका कामको प्राथमिकीकरणमा लगानी गर्ने भनिएको छ । बजेट विनियोजनका मार्गदर्शक सिद्धान्तहरू, उच्च मूल्यका कृषि बस्तुको उत्पादन बढाउने र बजार बिस्तार गर्ने नीति अबलम्बन गर्ने । उत्पादनमुलक र रोजगारी श्रृजना गर्ने समुह सदस्यमा आधारित कार्यक्रम, समपुरक/विशेष/सडकबोर्ड र १५ लाख रुपैयाँ भन्दा माथिका एवं जटील प्रकृतिका कामहरू बोलपत्र मार्फत गर्ने, जनप्रतिनिधि/कर्मचारीको अतिरिक्त भत्ता कटौती गरी चालु खर्च कम गरी नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने पुँजीगत खर्च बढाउने, परम्परागत श्रम, सीपमा आधरित कार्यलाई व्यवसायिक बनाउने भनिएको छ ।
त्यस्तै, सडकतर्फ नयाँ ट्र्याक नखोल्ने, भएका सडकको स्तरोन्नती गर्ने, नगर गौरबका योजना सञ्चालन गरी भौतिक, सामाजिक रुपमा सुसंस्कृत नागरिकको बसोबास स्थलको रुपमा परिचित गराउने अभ्यास गरिएको छ, रोजगारीमा सघाउ पुर्याउने, निर्माण पछिको सञ्चालन र मर्मतमा लाभग्राहीको अपनत्व सिर्जना मानव पूँजी निर्माणको महत्वपूर्ण आधारका रुपमा सामाजिक विकास क्षेत्र रहेको हुँदा यस क्षेत्रलाई प्राथमिकतामा राखेको छु कोइरालाले भन्नुभयो । स्वस्थ र शिक्षित जनशक्ति विकास गर्ने हेतुले यस नगरपालिकाले चालु आ.व. मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि केही सकारात्मक शुरुवाति कदम चालिने, सुन्दरबजार नगरपालिकालाई शैक्षिक हब (Educational Hub) को रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिंदै विज्ञरूसँगको परामर्शमा शैक्षिक हबको अबधारणा तयार गरिनेछ, शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रभावकारी विद्यालय व्यवस्थापनका लागि विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख तथा प्रधानाध्यापक र विषय शिक्षक बीच सुपरिभाषित कार्यविवरण सहितको कार्य सम्पादन सम्झौता गरिने, साथै सिकाई उपलब्धी वृद्धिका लागि विषय शिक्षक र विद्यार्थी बीच सम्झौता गर्न प्रोत्साहित गरिने मेयर कोइरालाको उदघोष छ ।
नगरपालिका भरिका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि सरोकारवालाहरूको परामर्शमा विद्यार्थी पोशाक तोकी विद्यार्थी पोशाकमा एकरुपता कायम गरिनेछ । लमजुङ कृषि क्यापसमा कृषिमा स्नातकोत्तर तथा भेटेनरी साइन्स कक्षा सञ्चालन, तथा मातृभूमि क्यापसलाई आङ्गिक क्याम्पस बनाउनका लागि पहल गरिनेछ । विषयगत शिक्षक समूहहरूलाई प्रभावकारी परिचालन गरी शैक्षिक गतिविधि समेटिएका बुलेटिन प्रकाशन गर्ने, शिक्षकको पेशागत सहयोगका लागि सघन सुपरिवेक्षणमा सहभागी गराउने, शैक्षिक योजना तथा कार्यक्रम निर्माणमा सहभागी गराउने साथै लघु अनुसन्धान कार्य गराउने कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ ।
भविष्यका लागि शुक्रबार :
गण्डकी प्रदेश सरकारको घोषित कार्यक्रम Friday for Future (भविष्यका लागि शुक्रबार) कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने लक्ष्यका साथ खोजमुलक तथा परियोजनामा आधारित शिक्षण पद्धति अवलम्बन गर्न शिक्षकहरूलाई प्रोत्साहित गरिनेछ । साथै शिक्षाका प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरुमा सिकाइका नवीतम अवधारणाहरूलाई आत्मसात गर्ने वातावरण तयार गर्ने नीति लिइने मेयर कोइरालले बताउनु भयो । उहाँका अनुुसार स्थानीय पाठ्यक्रमलाई सरोकारवालाहरूको सुझाव समेटी अन्तिम रुप दिइनेछ साथै उक्त पाठ्यक्रमका आधारमा सन्दर्भ पाठ्यसामग्रीहरू विकास गरिनेछ । संस्कृत शिक्षामा बिशेष ध्यान दिने र बैदिक कृषि कार्यक्रम मार्फत पौराणिक कृषि एवं जडीबुटी खेतीमा ध्यान दिईनेछ ।
अन्य कार्यक्रममा नगरमा बहुउद्देश्यीय सिटी हल निर्माण, फोहोरमैला प्रसोधन केन्द्रको स्थापना तथा संचालन, चालु आ.व. मा जस्तै आगामी आ.व.मा पनि कच्ची सडकको नयां ट्र्याक खोल्ने कार्यलाई बन्द गर्ने नीति लिईने छ । खत्रीठाँटीमा व्यवस्थित बसपार्क निर्माण कार्य नगर विकास कोषसँग समन्वय गरी यसै आ.व.मा व्यवस्था मिलाईने छ ।
‘खाने कसरी, पिउने कसरी कार्यक्रम’ :
यसैगरी, नागरिकको आरोग्यताका लागि टोल टोलमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले समुदायमा स्वास्थ्यकर्मी परिचालन गरि ‘खाने कसरी, पिउने कसरी कार्यक्रम’ सुरु गरिनेछ भने यस आ ब.बाट सबै विद्यालयका विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईनेछ ।
सुन्दरबजार अस्पतालको भौतिक अवस्था र व्यवस्थापकीय क्षमता अभिबृद्धिको लागि जग्गा प्राप्ती÷भवन निर्माण तथा प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गरि ट्रमा सेन्टर स्थापना गर्ने नीति लिईइने छ । सुन्दरबजार अस्पतालमा ब्लड बैंकको स्थापना तथा अस्पतालमार्फत स्वास्थ्य बीमा कार्यलाई प्रोत्साहन गर्न विपन्न वर्ग स्वास्थ्य बीमा सहयोग कार्यक्रम सञ्चालन गरिने कोइरालाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रसुती गराउन जिल्ला सदरमुकामसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था :
मातृशिशु सुरक्षा कार्यक्रमलाई निरन्तरता दिईने सो अन्तरगत सुरक्षित गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषण सामाग्री सहयोग, सुनौला हजार दिनका शिशुको पोषणको सुनिश्चता जस्ता कार्यक्रम सञ्चालन गरिने, मातृ शिशु स्वास्थ्यको लागि स्वास्थ्य संस्थामा प्रसुती गराउन जिल्ला सदरमुकामसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिईने छ । मलामी सहितको शवबाहन सञ्चालनमा निरन्तरता दिदै अझ व्यवस्थित बनाईनेछ । सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधीको अभाव हुन नदिन नियमित अनुगमन तथा निरीक्षण मौज्दात प्रतिवेदन प्रणालीको विकास गरिनेछ । स्थापना गर्न प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिईनेछ । भोटेओडार आँखा उपचार केन्द्रको प्रभावकारी सञ्चालन हुने व्यवस्था मिलाइने बताउनु भयो ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको नीति लिई सामाजिक न्यायमा आधारित समतामुलक नगर निर्माणमा जोड दिइनेछ, महिला हिंसा, घरेलु हिंसा तथा लैङ्गिक असमानतालाई न्यूनीकरण तथा सामाजिक विभेद अन्त्य गर्नको लागि बहस, पैरवी तथा चेतनामूलक अभियान सञ्चालन गरिने छ । ‘उपप्रमुख महिला उधमी प्रबर्धन कार्यक्रम’ मार्फत महिलाहरूको आय आर्जन तथा क्षमता विकासका लागि सीपविकास तथा आयमुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
वि.सं २०८३ सम्म बालमैत्री नगर घोषणा :
बालमैत्री स्थानीय शासनको अवधारणालाई आन्तरिकीकरण गरी वि.सं २०८३ सम्म बालमैत्री नगरका रुपमा विकास गर्नेगरी सूचकमा आधारित रहेर कार्यक्रम तर्जुमा गरिने, जेष्ठ नागरीकहरूको आत्मसम्मान अभिबृद्धीको लागि स्थानीय सरकारसँग बा आमा कार्यक्रम सञ्चालन गरिने, छोरीलाई शिक्षा, स्वास्थ्य रोजगारी आदिमा बिशेष प्राथमिकता दिईने कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो, रैथाने उत्पादनमा रहेका बाली उत्पादन, संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने, ‘उत्पादनमा आधारित सामुहिक खेती’लाई प्रबर्धन गरिने, परम्परागत रुपमा रहेको कृषिलाई वैज्ञानिकिकरण गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्ने नीति लिईने, कृषि बिमालाई प्रोत्साहन गर्दै उत्पादित उपभोग्य वस्तुहरूको विक्री वितरणको लागि कृषि बजारको व्यवस्थापन गर्ने नीति लिइनेछ ।’
‘एक घर एक करेसावारी’ :
प्रत्येक घरमा श्रममा आधारित खाद्यान्न कार्यक्रम अन्तर्गत कम्तीमा ‘एक घर एक रोजगार’ सिर्जना गर्ने कार्यक्रमलाई अगाडि बढाइनेछ । स्वरोजगारमा आधारित व्यवसाय सञ्चालनका लागि शुन्य व्याजदरको सुविधालाई नगरपालिका जमानतमा बसी बैंक तथा वित्तिय संस्थाद्धारा ऋण उपलब्ध गराउने गरि मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याइने बताउँदै ‘एक घर एक करेसावारी’ भन्ने नाराका साथ तरकारी उत्पादनमा जोड दिइनेछ । साथै आफ्नो उत्पादन, प्रतिफलयुक्त बजारीकरणको नीति अबलम्बन गरिने कोइरालाले उल्लेख गर्नु भयो । यसैगरी, स्वरोजगारमा आधरित व्यवसाय सञ्चालनका लागि शुन्य व्याजदरको सुविधामा नगरपालिका जमानत बसी बैंक तथा वित्तीय संस्थद्वारा ऋण उपिधि गराउने गरेर मेयर उद्यमशीलता कार्यक्रम संचालनमा ल्याइने प्रतिवद्धता नगरपालिकाको छ ।
बाझो जग्गा सदुपयोग गरी मूल्य श्रृखंलामा आधारित सामुहिक र सहकारी खेतीलाई प्रोत्साहन गरिनेछ । भौगोलिक अवस्थिति र हावापानी अनुसार फलफुल तथा तरकारी खेती गर्न कृषकहरूलाई प्रोत्साहन गरिनेछ । यस नगरपालिकालाई खाद्यान्न, दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन उत्पादनमा प्रोत्साहन गर्ने नीति लिईनेछ । उत्पादन बृद्धि गर्न पशु नस्ल सुधारमा जोड दिईने नीति तथा कार्यक्रममा भनिएको छ ।
उद्योग तथा वाणिज्य क्षेत्रका छाता संगठनहरू, लेखापरीक्षकहरू तथा कर कार्यालयसँग समन्वय गरी व्यवसायीहरूको क्षमता अभिबृद्धी कार्यक्रम, बजार व्यवस्थापन तथा बजार अनुगमन, व्यवसाय दर्ता, तथा कर तिर्ने बानीप्रति अभिप्रेरित गर्न विभिन्न तालिम तथा सचेतना कार्यक्रमहरू सञ्चालन गरिने बताइदै छ ।
पर्यटकीय सम्भावनाको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन :
नगरपालिका भित्र पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक, साँस्कृतिक, धार्मिक, शैक्षिक आदि गन्तव्य स्थलको पहिचान गरी आवश्यक सुधार गरिने, पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न चिनारी किताब प्रकाशन गरी पर्यटकीय सम्भावनाको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने, लमजुङको प्रवेशद्वार पाउदिमा निर्माणाधीन १०८ फिट अग्लो शिवको मूर्ति तथा रमाइलो मर्स्याङ्दी पर्यटन केन्द्रलाई आकर्षणको केन्द्रको रुपमा विकशित गरिन नीति तथा कार्यक्रममा भनिएको छ ।
नगरपालिकाको इतिहास र गौरवको रुपमा रहेका पाटी पौवा, गुठी, कोट, गढीको संरक्षण गरिनुको साथै पूर्वीय दर्शनको वैदिक ज्ञानलाई आन्तारिकीकरण गर्दै उपयोग एवम् प्रयोग गर्ने नीति लिईने, त्यस्तै सुन्दरबजार नगरपालिका भित्रका सबै जात÷जाति, भाषा÷भाषी र धर्म धर्मावलम्बीहरूलाई प्राथमिकतामा राखी धार्मिक सहिष्णुता कायम गरिने बताइएको छ ।
नेपाल सरकारको मौद्रिक तथा वित्तीय नीति अन्तर्गत रही आर्थिक वृद्धि, रोजगारी सृजना र आर्थिक स्थायित्व कायम गर्नका लागि कृषि, साना उद्योग, पूर्वाधार जस्ता उत्पादनशील क्षेत्रहरूमा लगानी गर्नका लागि नगरपालिका क्षेत्र भित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूसँग आवश्यक समन्वय गरी सवै नागरिकमा बैंक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ साथै सामाजिक उत्तरदायित्वको रकमलाई दिगो विकासमा जोड्ने कार्यको थालनी गरिने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी नगरपालिकामा सूचीकृत भएका बेरोजगारहरूलाई नगरपालिका भित्र सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूमा रोजगारी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘उपमेयर महिला उधमी प्रबर्धन कार्यक्रम’ :
संघ र प्रदेशले कार्यान्वयनमा ल्याएका रोजगार सम्बन्धी कार्यक्रमहरूलाई अपनत्व लिई रोजगार, स्वरोजगार, लघुउद्यम तथा क्षमता विकास सम्बन्धी क्रियाकलापहरूलाई एकिकरण गरी स्थानीय तहबाट एकिकृत रोजगार तथा श्रममुलक सेवा कार्यान्वयन गरिने, वैदेशिक रोजगारीबाट ज्ञान, सीप र अनुभव लिएर फर्किएका व्यक्तिहरूलाई उनीहरूको ज्ञान, सीप र क्षमतालाई स्थानीयस्तरमै प्रयोग गरी स्वरोजगार तथा उत्पादनमुलक रोजगारीको व्यवस्था गर्न आवश्यक नीति लिइने मेयर छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि श्रम स्वीकृती र पुनः श्रम स्वीकृती सम्बन्धी सहजीकरणको कार्यलाई प्रभावकारी बनाइने, एकीकृत रोजगार कार्यक्रम सञ्चालनका लागि आवश्यक रणनीति तथा कार्यबिधि तयार गरिने भनिएको छ । महिला उद्धमीहरूलाई नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रवर्द्धन गर्न ‘उपमेयर महिला उधमी प्रबर्धन कार्यक्रम’ मार्फत बीउ पूँजीको व्यवस्था गर्ने नीति लिईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवा, बेरोजगार तथा गरीबीको रेखामुनी रहेका व्यक्तिहरूलाई लक्षित गरी निजहरुको आयआर्जन तथा क्षमता विकासका लागि आधारभूत तथा पेशागत उन्नत स्तरको सीपमुलक तालिम संचालन तथा आवश्यक प्रविधिको हस्तान्तरण गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत उपलब्ध गराईने भनिएको छ ।
विपद व्यवस्थापनमा नागरिकको व्यवहार जलवायु मैत्री बनाउन व्यक्ति, घरधुरी, विद्यालय, र टोल टोलमा फोहर मैला व्यवस्थापन, व्यक्तिगत र सार्वजनिक जग्गामा वृक्षरोपण, प्लाष्टिकको न्यून प्रयोग, जैविक पदार्थ (फोहोर, पराल, नल, प्लाष्टिक) डढाउने कार्य पुर्ण रूपमा बन्द गर्ने नीति लिईनेछ ।
‘उज्यालो नगर’ :
सुधारिएको चुल्होको प्रयोग, प्राङ्गारिक खेती, कुहिने फोहरबाट कम्पोष्ट मल, शहरी क्षेत्रमा कौसी खेती, सडक किनारामा वृक्षरोपण, खेर गएको पानीको प्रयोग, प्रयोग गर्न सक्ने घरमा ग्यासको सट्टा बढी मात्रामा विद्युतीय चुलोको प्रयोग बढाउने, दैनिक जीवनमा ऊर्जा र पानीको प्रयोगमा किफायती बन्ने विषयहरू सञ्चार गर्ने, ‘उज्यालो नगर’ अभियान अन्तर्गत नगर क्षेत्र भित्र सौर्य सडक बत्ती जडानको लागि पहल गरिनेछ ।
नगरबासीहरूलाई नवीकरणीय उर्जा खपत हुने विद्युतीय चुलो, सोलार बत्ती, बायो ग्याँसको प्रयोग गर्न प्रोत्साहन गरिन, विपद व्यवस्थापनको लागि बिपद ब्यबस्थापन कोषमा प्रयाप्त बजेटको व्यवस्था गरी कार्यविधि अनुरुपका विपद् प्रतिकार्यका पूर्वतयारी, खोज, उद्धार, राहत र पुर्नस्थापना गरिने तथा रोग पछिको उपचार र बिपद् पश्चात गरीने उद्धार भन्दा सचेतना र सावधानीलाई बढी महत्व दिई सो अनुरुपका कार्यक्रमहरू गरिने बताइएको छ ।
‘म भ्रष्ट्रचार गर्दिन, म भ्रष्ट्रचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु’ भन्ने संकल्प :
यसैगरी, सुशासन, संस्थागत विकास तथा सेवाप्रवाहमा समेत नीति तथा कार्यक्रममा जोड दिइएको छ । यस नगरपालिकाबाट प्रवाह गरीने सेवालाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखी तुल्याउनको लागि आवश्यक संरचनागत र संस्थागत व्यवस्थालाई जनमुखी तुल्याउदै नागरिकमैत्री सेवा प्रवाहको वातावरण सृजना गरिने कोइरालको भनाइ छ । नगरपालिकाका सेवाग्राहीहरूको सम्मान गर्दै नेपाल सरकारको सुशासन सम्बन्धी ‘म भ्रष्ट्रचार गर्दिन, म भ्रष्ट्रचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु’ भन्ने संकल्प सहितको कार्य संस्कृतिको प्रवर्द्धन गर्दै नगरपालिकाबाट हुने सबै सेवाहरू छिटो, छरितो र भ्रष्टचार रहित तुल्याउदै भ्रष्टचारमा शून्य सहनशीलता कायम गरिने मेयरको प्रतिवद्धता छ ।
नगरविकासमा सहकारी क्षेत्रको भूमिका लाई प्राथमिकतामा राख्दै सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ, कोपोमिस तालिमलाई निरन्तरता दिईने, सहकारी संगको सहकार्यमार्फत उद्धमीको विकास तथा रोजगारी सिर्जना गरिनेछ । सहकारीको निरन्तर अनुगमन गरि वित्तीय सन्तुलन कायम राखिने नीति लिइने भनिएको छ ।
सेवाग्राहीको गुनासो सुनुवाई तथा सहजताको लागि सेवा प्रतिको सन्तुष्टि मापन गर्ने व्यवस्था मिलाईनेछ । एक चौमासिकमा एउटा सार्बजनिक सुनुवाई गरिने व्यवस्था मिलाइने प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।
प्रकाशित मिति २०८० असार १०, आईतवार ०३:५६ गते