दूधपोखरी(लमजुङ)– राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङको परिणाममुखी कार्यले गति लिएको छ । जिल्लाका आठ पालिका मध्ये छ पालिकामा निस्सा अर्थात अस्थायी लालपूर्जा वितरण सम्पन्न गरेसँगै त्यस्तो खुलासा भएको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि काम गर्दै आयोगले जिल्लाका आठवटै पालिकामा तदारुकताका साथ काम गर्ने सोच र योजना बनाई अघि बढेको भएता पनि केही पाकिलाको स्थानीय तहको नेतृत्वले उदासिनताका कारणले आयोगलाई अपेक्षाकृत सहयोग नगर्दा सो कार्य अलपत्र जस्तै अवस्थामा पुगेको बेले आयोगको विशेष पहलबाट सो कामले पछिल्ला दिनमा गति लिन थालेको हो ।
एकपछि अर्को पालिका गर्दै जिल्लाका आठ पालिका मध्ये छ पालिकामा निस्सा वितरण सम्पन्न गरेको आयोगले जनाएको छ । आयोगका अनुसार बेसीशहर नगरपालिका र क्ब्होलासोथार गाउँपालिकामा अझै आयोगको कामले गति लिन सकेको छैन । ती पालिका निस्सा वितरणको कामसम्म पनि हुन सकेको छैन । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निस्सा वितरण कार्यमा समेत सबैभन्दा पछि परेको दूधपोखरी गाउँपालिकामा सो कार्य साउन १५ गते सम्पन्न भएबाट अब सो कार्यले गतिलिने स्थिति बनेको छ ।
उक्त गाउँपालिका– ६ को जोर्नेमा आयोजना गरिएको निस्सा वितरण कार्य गर्दै सो गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले लमजुङकै विकट स्थानमा रहेको आफ्नो पालिकामा यो बर्षातको समयमा पनि उपस्थित भएर निस्सा वितरण गरिदिनु भएकोमा आयोग जिल्ला समितिलाई धन्यवाद दिनुभयो । अन्य छिमेकी पालिकामा लालपुर्जा वितरण तयारी भइसकेको भन्ने समाचार सुन्दा आफू पछिपरेको आभास भएको थियो तर आज निस्सा वितरण गर्न पाउँदा खुसी भएको उहाँले बताउनु भयो । उहाँले कार्यक्रमबाट नै सम्बन्धित जनप्रतिनिधि र कर्मचारीहरूलाई तुरुन्त निस्सा वितरणको सूचना टासँ गरी, कोहि कसैको छुटेको भए आवश्यक प्रमाण सहित पालिकामा सम्पर्क गर्न र त्यो सूचना टाँसको लगतै आयोगले निर्धारण गरेको अनुसूचि अनुसारका ७ दिने सूचना टाँस गरी वडाहरूलाई पालिकामा सिफारिस गर्न निर्देशन दिनुभयो । पालिकामा आईपुगेको केहि दिनमानै सहजिकरण समिति र कार्यपालिकाबाट प्रमाणित गराई आयोगमा पठाउन आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । बर्षातको समय पश्चात नै अमिनहरू लिएर जग्गा हेर्न जाँच बुझ गर्न आउन आयोगलाई बाटो खोलिदिने उहाँको बताउनु भयो ।
सो अवसरमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले आयोगको गठन प्रक्रियादेखि आयोगको काम, कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले आयोगले आजका मितिसम्म गरेका कामको फेहरिस्त सुनाउनु हुँदै के कस्ता व्यक्तिलाई नेपालको कानुन तथा कार्यविधिले अव्यवस्थित बसोबासीका रुपमा परिभाषित गरेको छ भन्ने समेत प्रष्ट्याउनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘आयोगको काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी र सम्बन्धित पालिकाका बीचमा सहजीकरण गर्दै पुलको काम गर्ने मात्र हो, यो जिम्मेवारी सबै स्थानीय तहको हो, त्यसैले सम्बन्धित वडाध्यक्ष र पालिका अध्यक्ष, मेयरको चासो, चिन्ता र सक्रियतामा यो कामले गति लिने हुन्छ ।’ हामी त त्यही कामका लागि खटिएका छौं, कामका लागि सधैं तयार छौं उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा आयोगबाट दुधपोखरी गाउँपालिकाको जिम्मेबारी समाल्नु भएका सम्पर्क ब्यक्ति एवंम आयोगका बिज्ञ सदस्य ऋषिकेश घिमिरेले निस्सा पाउने सबैले पुर्जा नपाउने तर पुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढेको र निस्सा भनेको तपाईहरूको अभिलेख आयोगको केन्द्रीय कार्यलय मार्फत नेपाल सरकारसम्म पुगेको प्रमाण मात्र भएको जानकारी दिनुभयो । उहाँले वडा अध्यक्ष, कर्मचारी र पालिकालाई अझै सक्रिय भएर काम गरिदिनुहुन अनुरोध गर्नुभयो । हालसम्म अव्यवस्थित बसोबासीको मात्र अभिलेख आएको यो पालिकामा अव्यवस्थित तर्फको पुर्जा जिल्लामा नै पहिला वितरण गर्न पाउने आशाबादी भएको र सो अनुरुप काम गर्नुहुनेछ भन्नेमा आयोग विश्वस्त भएको बताउनुभयो ।
दुधपोखरी गाउँपालिका– ६ का कार्यबाहक अध्यक्ष वेलबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ अघि बढेका छौं आयोगको काममा पुर्णरुपमा साथ दिदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूकम्प पीडित भएर आव्यवस्थित रुपमा बसोबास गर्नु भएकाहरूलाई बिशेष स्थान दिएर हेरिदिन आयोगलाई अनुरोध गर्नु भयो ।
सामे कार्यक्रममा आयोगका सदस्य रबिन्द्र अधिकारी, सदस्य शोभा थापा, पालिकाका रोजगार संयोजक एवंम आयोगका सेवा केन्द्र प्रमुख रामहरी न्यौपाने, ने.क.पा.(ऐमाले)का पालिका अध्यक्ष धनबहादुर गुरुङ, माओवादी केन्द्रका पालिका सचिब श्याम श्रेष्ठ लगायत सम्बन्धित वडाका वडा सदस्यहरू तथा अव्यवस्थित बसोबासीहरूको सहभागिता थियो । कार्यक्रम सञ्चालनकै क्रममा आयोगका कम्प्युटर अपरेटर बिराट न्यौपानेले प्राबिधिक समस्या आएका कुनै अनुसूचिहरू भएमा आफुलाई जुनकुनै बेला सम्पर्क गर्न सक्ने बताउदै निस्सा सुरक्षित राख्न र वडाबाट प्रमाणित गराउन अव्यवस्थित बसोबासीहरूलाई जानकारी दिनु भयो । सो गाउँपालिका– २, ४, ५ र ६ वडाका अव्यवस्थित बसोबासीहरू कुल ७२ जनालाई निस्सा वितरणको काम भएको भूमिआयोग जिल्ला समितिका कम्प्युटर अप्रेटर न्यौपालेले बताउनु भयो । उहाँका अनुसार वडानं– १ र ३ मा कसैले पनि कुनै पनि अनुसूचि नभरेका कारणले त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी नभएको बुझिएको छ ।
स्मरणीय छ, आयोगले सुन्दरबजार नगरपालिकाका ४५ जना भुमिहीनहरूको कित्ता छनोट गर्ने र फिल्डबुक चढाउने काम धमाधम गरिरहेको छ । सो पालिकामा अबको एक दुई दिनमै अन्तिम सूचना निकाल्ने काम हुने आयोगले जनाएको छ । आयोगका अनुसार राइनास नगरपालिकामा भूमिहीनहरू बसोबास गरेको ठाउँको पहिचान गरिरहेको छ । दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा लामो समय देखि कार्यपालिकाले प्रमाणित गरी सिफारिस नगरिदिदा काम रोक्किएको छ ।
प्रकाशित मिति २०८० श्रावण १६, मंगलवार ०८:२५ गते