एक क्विन्टल भनिएको सुन झण्डै आधा कम

एक क्विन्टल भनिएको सुन झण्डै आधा कम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २९ गते सोमबार ०७:५५

यसअघि राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आउनु भएको थियो । तर, उहाँको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको खुलासा हो ।

ब्रेक प्याडबाट निकाल्दा सुनको तौल ६० किलो ७८९ ग्राममात्रै !

काठमाडौँ– राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दाको तौल झण्डै आधा जसोले कम भएको छ । सो सुन ६० किलो ७८९ ग्राममात्रै भएको साउन २९ गते पुष्टि भएको छ । ब्रेक प्याडबाट निकालेर तौल गर्दा उक्त सुन ६० किलो ७८९ ग्राम परिमाण निस्केको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताउनु भएको हो ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो ।
त्यतिवेला ब्रेक शु सहितको तौल लिंदा १५५ किलो भएको र ब्रेक सु छुटएर जोख्दा ६१ किलो मात्रै भएको टक्सार महाशाखाले जनाएको छ ।
उक्त सुन ब्रेक प्याडबाट छुट्याए पछिको परिमाण निस्केको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताउनु भयो । उहाँका अनुसार त्यसलाई गालेर जोख्दा तौल अझै घट्ने छ । आचार्यले भन्नुभयो, ‘अब कति घट्छ भन्ने भोलि थाहा हुन्छ ।’ भोलि १०ः३० बजे गाल्ने काम हुने उहाँको भनाइ छ ।
टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल आज यकिन गरिएको हो ।
सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।
सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले सुन तस्करी प्रकरणको लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद घेराबन्दी गरी चल्न दिएको छैन ।
सिआइबीले मात्रै अनुसन्धान गरेर नपुग्ने भन्दै सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन एमालले मागसहितको दबाब छ । किनकि, यसअघिका उच्चस्तरीय छानबिनका कतिपय प्रतिवेदनका आधारमा दोषिलाई कारबाही गर्न त परै रहोस् सार्वजनिकसम्म भएका छैनन् र यो प्रकरणमा पनि उच्चस्तरीय समिति गठन भएका प्रतिवेदन सार्वजनिक हुनेमै आशंका छ ।
स्मरणीय छ, यसअघि राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आउनु भएको थियो । तर, उहाँको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको खुलासा हो ।

प्रकाशित मिति २०८० श्रावण २९, सोमबार १९:५५ गते
हजुरको प्रतिक्रिया