बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिलाई राजस्वमा २५ प्रतिशत छुट नीति कडाईका साथ कार्यान्वयन गरिएको छ । पछिल्लो एक वर्षदेखि सो कार्य हुँदै आएको असोज १५ गते मालपोत कार्यालयले जनाएको हो ।
देखिने अपाङ्गता भएका व्यक्ति वा अपाङ्गता परिचयपत्र धारी जुनकुनै पनि व्यक्तिलाई त्यस्तो सुविधा दिने गरिएको मालपोत कार्यालयले जनाएको छ । सो सुविधा लिनका लागि परिचय पत्र भने अनिवार्य रहेको मालपोत कार्यालयका प्रमुख ईश्वरकमल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिहरूका लागि सो सुविधा पछिल्लो एक वर्षदेखि दिदै आएको छ । त्यसका लागि आफूहरूले समेत सहजिकरण गरिरहेको अपाङ्ग संरक्षण समाजका कोषाध्यक्ष तस्विर गुरुङले बताउनु भयो ।
पछिल्लो एक वर्षमा मालपोत कार्यालयको कार्यशैलीमा निकै सुुधार गरेको सो कार्यालयका प्रमुख श्रेष्ठको दावी छ । उहाँका अनुसार त्यो सुधार भनेको लेखनदासका लागि आनिवार्य परिचयपत्रको प्रवन्ध, उनीहरू तथा विचौलियालाई कार्यकक्षमा प्रवेश निषेध गरी कामहरू छिटो सम्पादन गर्ने गरिएको छ । एउटै फ्ल्याटबाट सबै कार्य सम्पन्न गर्ने प्रवन्ध गरिएको समेत प्रमुख श्रेष्ठले बताउनु भयो । उहाँले दावाका साथ भन्नुभयो, ‘हामीले मुस्कानसहितको सेवाको सही कार्यान्वयन गरेका छौं ।’
सो कार्यालयमा आज सेवा लिन आउनु भएकी क्ब्होलासोंथार गाउँपालिका– ४ भुजुङ गाउँकी अपाङ्गता समेत भएकी हिरा गुरुङले यसपटक विगतको तुलनामा निकै छिटोछरितो रुपमा काम भएको आफूले पाएको बताउनु भयो ।
प्रकाशित मिति २०८० आश्विन १५, सोमबार १७:३९ गते