बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर समितिले लमजुङ प्रहरीलाई शान्ति सुरक्षाका लागि रायसुझाव पेश गरेको छ । रास्वपाले चाडबाडसमेत नजिकिएको समयमा अवाञ्छित गतिविधि बढ्ने गरेको भन्दै बेसीशहरको शिर निहुरिने सबैखाले गतिविधि रोक्नका लागि रायसुझाव सहित ध्यानाकर्षण असोज १६ गते गरेको हो ।
असोज १५ गते विहान बेसशिहरको डुम्रे– नारायणगढ बस काउन्टर फिल्महल चोकमा एक युवतीमाथि बिहानै मापसे गरेका व्यक्तिले गरेको हातपात, ४– ५ बजेदेखि सो क्षेत्र आसपासमा हुने गजडीहरूको भेला, पाँच दिन अघि मुजुवा खोलाको मुखमा कपडाको काम गर्ने पसले माथि भएको खुकुरी प्रहार, चनाटे गाउँ र आसपासका क्षेत्रमा हुने जगडीहरू भेला, होटलहरूमा हुने अबाञ्छित गतिविधि तथा विहानैदेखि मापसेद्वारा मातेर हिड्ने लगायतका स्थितिका बारेमा रास्वपाको टोलीले प्रहरी नयाव उपरीक्षकको ध्यानाकर्षण गरेको हो ।
रास्वपाको नगर समितिका सभापति कृष्णबहादुर राउतको नेतृत्वमा गएको टोलीमा जिल्ला सहसंयोजक अशोक सापकोटा, वडानं– ८ का सभापति ध्रुव ढकाल, वडानं– १० का अध्यक्ष सुलजङ्ग तामाङ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा रास्वपाका जिल्ला सहसंयोजक सापकोटा, सो दलका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, नगर समितिका सभापति कृष्णबहादुर राउत, वडानं– ८ का सभापति ध्रुव ढकाल लगायतले प्रहरीको ध्यानाकषर्णका विषयको उठान गर्नु भएको थियो ।
सो अवसरमा प्रनाउ घलेले सुझावका लागि धन्यवाद दिदै शान्ति सुव्यवस्था कायम गर्न सक्दो प्रयत्न गर्ने र ती क्षेत्रमा गस्ति बढाउने बताउनु भयो ।
प्रकाशित मिति २०८० आश्विन १६, मंगलवार १३:४९ गते