पाउँदी(लमजुङ)– लमजुङ वरिष्ठ समाजसेवी, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका सल्लाहकार नरेन्द्रराज ढुंगानाको असामयिक निधन भएको छ । भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा उहाँको कार्तिक १२ गते बिहान ८ः३० बजे निधन भएको हो । उहाँ ६८ वर्षको हुनुहुन्थ्यो ।
लमजुङको सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार निवासी उहाँमा पछिल्लो समयमा कलेजोमा समस्या सिर्जिएका कारण खान मन नलाग्ने र खाना नपच्ने समस्या भएको थियो । उहाँको उपचारका लागि विजयादशमीको टीकाको भोलिपल्ट सो अस्पतालमा भर्ना गरी आइसियु कक्षमा उपचार जारी थियो । तर उहाँलाई बचाउनका लागि गरिएका सबै प्रयास विफल भए ।
प्रहरी सहायक निरीक्षकबाट निवृत्त भई समाजसेवामा समर्पित :
प्रहरी सहायक निरीक्षक पदबाट २०५० सालमा निवृत्त भएर उहाँ त्यसपछि समाजसेवाका साथै लोककला, संस्कृति तथा साहित्यको उत्थानमा सक्रियपूर्वक जुट्नु भएको थियो । हक्की स्वभावका उहाँ प्रष्टवक्ता एवम् स्वाभिमानी हुनुहुन्थ्यो । सदैव निर्धा, निमुखा एवम् निर्धनहरूको जीवनोत्थान र सुशासनका पक्षमा चिन्तनशील रहनु हुने उहाँ आफैले सामाजिक सेवाका साथै विकासका कार्यमा सोच(योजना), समय मात्र नभई निजी सम्पत्ती समेत खर्चन पछि नपर्नु हुने उहाँ समाजसेवाका क्षेत्रमा अनुपम र उदाहरणी व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
मामा घरमा जन्म :
उहाँको जन्म तत्कालीन खोप्लाङ गाउँ पञ्चायत– २ पोखराबेसी लिगलिग, हाल पालुङटार नगरपालिका– २ गोरखा स्थित मामा घरमा २०१२ साल कार्तिक ५ गते भएको हो । जेष्ठ पुत्ररत्नको रुपमा स्व. बुबा नुरनाथ ढुङ्गाना, स्व. आमा टीकाकुमारी ढुङ्गानाको कोखबाट नरेन्द्रराज ढुङ्गानाको जन्म भएको हो । उहाँको परिवारमा हाल श्रीमती सीता ढुङ्गाना, छोरी शोभा ढुङ्गाना पौडेल, जेठो छोरा गिर्वाण ढुङ्गाना र कान्छो छोरा गौलोचन हुनुहुन्छ ।
नेपाल प्रहरीको सहायक निरीक्षक पदमा कार्यरत रहँदै गर्दा विभागी पक्षपातपूर्ण व्यवहारका कारण आफ्नो स्वाभिमानमा धक्का लागेपछि २०५० भाद्र १ गते सो जागिर राजीनामा दिई जुनियर अधिकृतको पेन्सनमा निकालिदा बिशेष प्रहरीबाट सिनियर अधिकृत दिने लोभ देखाइदा समेत उहाँले स्वीकार नगरी पेन्सनमा निस्कनु भएर सेवाका काममा लाग्नु भएको हो ।
उहाँको शव निवासमा लगी श्रीमती सीतालाई अन्तिम दर्शन :
उहाँको निधन पछि शवलाई निवासमा ल्याएर उहाँको श्रीमती सीतालाई अन्तिम दर्शन गराई उहाँसहित छिमेकीहरूलाई अन्तिम विदाई गर्न लगाई पाउँदी स्थित मस्र्याङदी नदी किनारको घाटमा अन्तिम संस्कार गरिएको हो । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले राष्ट्रिय झण्डा ओढाएर उहाँको अन्तिम विदाई गर्नु भएको थियो । उहाँलाई झण्डा ओढाउने क्रममा प्रतिष्ठानका अध्यक्ष पहाडीले सहयोग गर्नु भएको थियो ।
ठाडोभाका प्रतिष्ठानको सिङ्गो समिति अन्तिम विदाईका लागि घाटमा :
स्वर्गीय ढुंगानाको अन्तिम विदाई गर्न ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी उहाँको निवासमा पुग्नु हुँदा उहाँको शव यात्रा सुरु भइसेको रहेछ । त्यसपछि पहाडीसहितका पदाधिकारीहरू तथा कार्यकारीहरूको एक विशेष टोली पाउँदी घाटमा पुगेको थियो । उहाँको अन्तिम विदाईका लागि प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उपाध्यक्ष सीता दुरा पोखराबाट, अध्यक्ष नवराज पहाडी, कोषाध्यक्ष सीता गुरुङ तथा कार्यकारी सदस्य सञ्जोग लामिछाने बेसीशहरबाट पाउँदी पुग्नु भएको थियो । यसैगरी, वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे मध्यनेपाल नगरपालिका– ७ रामबजारबाट, महासचिव अकल विरही गुरुङ दमौलीबाट, कार्यकारी सदस्य कृष्ण केसी खत्रीठाँटीबाट तथा सदस्यहरू अमरध्वज गुरुङ, मीना गुरुङ, देउकुमारी गुरुङ, पानमाया गुरुङ लगायतका सदस्यहरू भोटेओडारबाट घाटमा पुग्नु भएको थियो ।
प्रतिष्ष्ठानले सञ्चालन गर्ने गरी आमा टीकाकुमारी पुरस्कार एक लाख पाँच सय पचपन्न रुपैयाँको अक्षयकोष सहितको पुरस्कार स्थापना :
प्रतिष्ठानका अध्यक्ष पहाडीले स्व. ढुंगानाको संक्षिप्त जीवनीबारे प्रकाश पार्नु हुँदै उहाँ लोक कलासंस्कृति तथा साहित्यको उत्थानका साथै समाजमा निमुखाको न्याय, सुशासनका साथै विकासका काममा दिलोज्यान दिएर लाग्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्नु भयो । उहाँ प्रतिष्ठानको स्थापना कालदेखिनै जोडिनु भएको जानकारी दिदै दोस्रो अधिवेशनसँगै सल्लाहकारको भूमिकामा रहनु भएको पहाडीले उल्लेख गर्नुभयो । स्व. ढुंगानाले राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेका कलाकारलाई सम्मानका लागि विगतका पाँच वर्षदेखि ठाडोभाका– टीकाकुमारी पुरस्कार स्थापना गरिदिनु भएको जानकारी दिदै त्यो पुरस्कारबाट चारजना व्यक्तित्व पुरस्कृत भइसकेको र यो वर्ष पनि त्यो पुरस्कार वितरणको तयारी चलिरहेको जानकारी प्रतिष्ठानका अध्यक्ष पहाडीले दिनु भयो । त्यो पुरस्कारको स्थायित्वका लागि ढुंगानाले एक लाख पाँच सय पचपन्न रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको समेत उल्लेख गर्नु भयो ।
प्रतिष्ठानको तर्फबाट संरक्षक एवम् ठाडोभाका महानायक धम्पु, अध्यक्ष पहाडीले प्रतिष्ठानको झण्डा ओढाउँदै ढुंगानाको अन्तिम विदाई गर्नु भएको हो । अन्तिम विदाईका लागि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार दामोदर अधिकारी लगायतको सहभागिता थियो ।
एक मिनेट मौन धारण :
त्यसअघि श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसका गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बराल सहित सुन्दरबजार नगरसमितिका अध्यक्ष प्रकाश सेढाई लगायतको सहभागिता थियो । काँग्रेसको सुन्दरबजार नगरका सचिव अमोल खनालले पनि स्व. ढुंगानाले पार्टीका पक्षमा गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो । सो अवसरमा ती नेताहरूले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । स्व. ढुंगानाको आत्माको चिरशान्ति कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
नयाँ शिराबाट राजनीति गर्ने सोच र योजना तर अधुरै :
आफ्नो छरछिमेकमा विकासका धेरै काम आफ्नै नेतृत्व र पूँजी खर्चेर गर्नु भएका उहाँ पछिल्ला दिनमा विद्यमान अपरादर्शी, विकृत एवम् भ्रष्ट राजनीतिदेखि वाक्क, दिक्क हुनुभई राजनीतिलाई नयाँ शिराबाट अघि बढाउने योजनामा हुनुहुन्थ्यो । नयाँवर्ष २०८० सँगै उहाँ र यो पंक्तिकारका जीवन यात्रा(पत्रकारिता बाहेकका) सबै क्षेत्रमा सँगसँगै अघि बढ्ने योजना समेत बनाइको थियो । तर अप्रत्याशित रुपमा भएको निधनले उहाँका ती सपना अधुरै रहन गएका छन् ।
प्रहरी सहायक निरीक्षक विजय गुरुङको नेतृत्वमा अन्तिम सलामी :
नेपाल प्रहरीको पूर्वप्रहरी सहायक निरीक्षक समेत रहनु भएका ढुंगानको अन्तिम विदाईका लागि प्रहरी सहायक निरीक्षक विजय गुरुङ नेतृत्वको १३ सदस्यीय टोलीले अन्तिम सलामी दिएको थियो ।
पूर्वप्रहरी संगठन र ढुंगाना समाजद्वारा श्रद्धाञ्जली :
पूर्वप्रहरी संगठनका जिल्ला प्रतिनिधि उपाध्यक्ष कमल अधिकारी, सो संगठनका केन्द्रीय सदस्य बीरसिं घले, पूर्वहवल्दार वासुदेव पाण्डेलगायतको सहभागिता थियो । यसैगरी, ढुंगाना समाजले पनि स्व. ढुंगानाप्रति छुट्टै श्रद्धाञ्जली अर्पण गरेको थियो ।
प्रकाशित मिति २०८० कार्तिक १३, सोमबार १०:५६ गते