हर्राबोट(लमजुङ)– लमजुङका दुई तीनवाट सहकारीले शेयर सदस्यहरू उपर ठगी धन्दा चलाएर कथित १० करोडको भन्दा बढी पूँजी छ भन्दै ठाट्ने काम गर्दै ताल्चा लाग्ने सायतको पर्खाइमा रहेका समाचार आइरहेको बेला यहाँ स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि(साकोस)ले खुद मुनाफा ३७ लाख २७ हजारभन्दा बढी आर्जन गरेको खुलासा भएको छ । सो साकोसको २७ औं साधारणसभामा त्यस्तो जानकारी कार्तिक ११ गते दिइएको हो ।
राइनास नगरपालिका– ८ को यहाँ स्थित उक्त साकोसको सोही नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष लक्ष्मी रानाभाटले आफ्नो प्रतिवेदनमा २७ जना सदस्यहरूको जमघटबाट शुरु यो संस्था आज एक हजार ५२१ शेयर सदस्यमा पुगेको छ । चौतारा, घर पिढीमा सामान्य भेलाबाट सञ्चालन हुँदै आएको यो संस्था आज आफ्नै पक्की भवनमा बसेर आफ्नो विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न र शेयर सदस्यहरूलाई सेवा दिन सफल भएको गर्वका साथ उल्लेख गर्नु भयो । उहाँले सदस्यहरूलाई रेमिटान्स सेवा बिस्तार गरी विदेशबाट आफन्तले पठाएको रकम तुरुन्त भूक्तानी दिनुका साथै नेपाल भरी रकम पठाउन र पाउने समेत व्यवस्था मिलाएका छौं । अझैं रेमिट सेवालाई बिस्तार गर्न नेपालमा संचालित सम्पूर्ण रेमिटहरु भित्राउने कोशिस जारी राखेका छौं भन्नुभयो । उहाँले संस्थाले खुद मुनाफा ३७ लाख २७ हजार सात सय ९४ रुपैंया आर्जन गरेको जानकारी दिनुभएको हो ।
मेयर गुरुङले यो साकोस जिल्लामै उत्कृष्ठ सामुदायमा आधारित संस्था भई आर्थिक संकटको यो बेलामा पनि नाफा आर्जन गर्न सकेकोमा खुशी व्यक्ति गर्दै संस्थालाई यो स्थानमा ल्याउन योगदान गर्नु हुने अध्यक्ष सहितका पदाधिकारी, शेयर सदस्यहरू तथा कर्मचारी वर्गलाई धन्यवाद दिनु भयो । उहाँले कतिपय सञ्चालकहरूले नियत खराब राखिदिँदा सहकारी संस्थाहरू डुबेका समाचार आइरहेका छन् । सबै क्षेत्रमा आर्थिक संकट छ र पनि यस्तो अवस्थामा पनि सहकारीले गरेको प्रगतिले हर्षित बनाएको बताउँदै थप परादर्शी रुपमा जनहितमा काम गर्न आग्रह गर्दछु भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङले र नेफ्सकुन लमजुङका फिल्ड प्रमुख बिनोद ढकालले जिल्लाका सहकारीमा कालीगण्डकी साकोस उत्कृष्ट पाँच भित्र र समुदायमा आधारितमा पहिलो हुनुको साथै राइनास नगरपालिकामा पहिलो उत्कृष्ट भएको उल्लेख गर्नु भयो ।
यसैगरी, संस्थाका कावा अध्यक्ष अम्बिका ओलियाले आफ्नो अध्यक्षीय मन्तव्यमा यस साकोसको २७ बर्षे इतिहासमा संस्थापक अध्यक्ष भक्तकुमारी कडरियापछि दोस्रो महिला नेतृत्वको हैसियतमा आज प्राविधिक अध्यक्षको रुपमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति भएको छ । यो मौका संस्थामा रहनु भएका ७११ महिला शेयर सदस्यहरूका लागि अवसर र पे्ररणा बन्न साकोस र भावि दिनमा हामीहरूले पुरुष सरह नेतृत्वमा दावी गर्ने क्षमता हरेक दिदी बहिनीहरूले बढाउनुहोस भन्ने चाग्रह गर्दछु भन्नुभयो । उहाँले राइनास नगरपालिकामा राम्रो सहकारीको रुपमा स्थापित हुन सकेकोमा यसलाई यो स्थानमा राखिराख्ने चुनौति हाम्रा सामु छ भन्नुभयो । गत साधारण सभाले नै अनुमति दिइसकेको यस सहकारीको नगरपालिकाका वडा नंं. ५, ६ र ९ मा कार्यक्षेत्र विस्तारको चुनौति पनि कायमै छ र त्यो छिट्टै कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।
सचिव पदम विलास पन्तले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कुल एक हजार ५२१ शेयर सदस्य मध्ये पुरुष ७९९ र महिला ७११ तथा अन्य २६ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार शेयर पूँजी गत वर्ष एक करोड ३५ लाख ५७ हजार आठ सय यो वर्ष एक करोड ४८ लाख दुई हजार सात सय पुगेको जानकारी दिनु भयो । त्यसैगरी, जगेडा कोषमा ६३ लाख ५९ हजार ५७१ रुपैयाँ गत वर्ष र त्यो बढेर यो वर्ष ७२ लाख ८८ हजार ७६५ रुपैयाँ पुगेको, अन्य कोषहरू ७१ लाख ३८ हजार ६८०रुपैयाँ गत वर्ष रहेको र यो वर्ष ९० लाख ७६ हजार सात रुपैयाँ पुगेको बताउनु भयो । उहाँका अनुसार संस्थाको बचत÷निक्षेप नौ करोड ४७ लाख सात हजार ४६ रुपैयाँ गत वर्ष रहेकोमा यो वर्ष त्यो बढेर १० करोड दुई लाख ५० हजार ६५० पुगेको छ भने ऋण लगानी गत वर्ष आठ करोड ४८ लाख ५९ हजार ३६६ रुपैयाँ रहेकोमा यो वर्ष नौ करोड ३५ लाख ५२ हजार ४७३ रुपैया रहेको छ । उहाँले संस्थाबाट सचालन गरिएको सदस्य मृतक राहत कोष छ जना शेयर सदस्यहरूलाई १५ हजार रुपैयाँका दरले प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस संस्थाका शेयर सदस्यहरूले संस्थामा कारोबार गरे बापत विभिन्न विधामा सम्मान गरी प्रोत्साहन गर्ने गरिएको छ ।’ असल ऋणीमा शारदा खनाल र देवबहादुर रानाभाट, असल व्यवसायीमा जमूना श्रेष्ठ र आनन्द श्रेष्ठ, उत्कृष्ठ बालबचतकर्तामा सिवानी रानाभाट र सवक श्रेष्ठ, जेष्ठ नागरिकतर्फ पुड्की गुरुङ र बलबादुर श्रेष्ठ पुरस्कृत हुनुभएको व्यवस्थापक बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार एसईईमा उत्कृष्ठ अंक ल्याउने बीरभक्ति माविका सुजन श्रेष्ठ र अपेक्षा श्रेष्ठ तथा रुद्र माविका सञ्जय बसेल, आयुष्मा ओलिया र रीतिका आधिकारी रहेका छन् ।
सो अवसरमा सभामा पेश भएका बार्षिक प्रतिवेदनहरूमा छलफल गरी सर्बसम्मतबाट पारित भएको सो संस्थाका व्यवस्थापक मनिषा बोहराले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा आवश्यक नीति, नियम र यस आ.व.का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने काम पनि गरिएको छ ।
सो अवसरमा साधारण सभाले निर्वाचन समिति मार्फत सर्बसम्मत रुपमा रिक्त रहेको अध्यक्ष र सचिव पदमा पदपूर्ति गरेको छ । अध्यक्षमा मानबहादुर घर्ती र सचिवमा दुर्गाबहादुर भाट सर्बसम्मत चयन हुनु भएको छ ।
प्रकाशित मिति २०८० कार्तिक १३, सोमबार १४:०६ गते