काठमाडौँ– संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा कार्तिक १६ गते गर्नु भएको हो । गत वैशाख २४ गतेदेखि सुरू भएको संशोधन दोस्रो अधिवेशन १८० दिन चल्यो । यसपटक पनि राज्यको ढुकुटी रित्याउने काम भने टन्नै भएको छ तर उपलब्धी भने एक हातको औंलामा गन्न समेत नपुग्ने देखिएको छ ।
सभामुखले राष्ट्रपतिको पत्र सदनमा सुनाउँदै ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०÷७÷१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कार्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, भन्ने जानकारी दिनु भएको थियो ।
यसपटक १८० दिनको संसदको बैठकको सञ्चालनमा मात्र पनि ५० करोड खर्च गरेको अनुमान छ । संसदको पहिलो अधिवेशन ११० दिन चल्दा सांसदको तलबभत्तादेखि संसद भवनको भाडा र सचिवालयको खर्च समेत जोड्दा ३५ करोडभन्दा बढी खर्च गरेको थियो ।
२०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले झण्डै एक वर्षको अवधिमा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो ।
एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि कानुन बनेको थिएन ।
यस पटकमा प्रतिनिधि सभाले जम्मा एउटा मिटरब्याज पीडितसँग सम्बन्धित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्र पारित गरेको हो ।
सरकारले मिटरब्याज पीडितको आन्दोलनपछि ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक पनि ६० दिनको संवैधानिक समयसीमा कटाएर पारित गरिएको थियो । प्रतिनिधि सभामा उत्पत्ति भएका कुनै पनि विधेयक अहिलेसम्म पारित भएको छैन ।
प्रतिनिधि सभाको पहिलो अधिवेशनमा दर्ता भएका ३ वटै विधेयक अहिलेसम्म समितिमा विचाराधीन छ ।
दोस्रो अधिवेशनमा ८ वटा सरकारी र एउटा गैरसकारी विधेयक गरी ९ वटा दर्ता भएको थियो । जसमध्ये ३ वटा बजेटसँग सम्बन्धित विनियोजन विधेयक र त्यसका पूरक विधेयक थिए । ती भने पारित भइसकेका छन् ।
त्यसबाहेकका ३ वटा विधेयक समितिमा पुगेका छन् भने २ वटा विधेयक संसद बैठकमा पेश मात्र भएका छन् । त्यसैगरी एउटा विधेयक दर्ता मात्रको स्थितिमा छ ।
यसरी नयाँ निर्वाचनपछिको संसद कानुन निर्माणका कार्यमा असफल सिद्ध आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दलका नेता रवि लामिछानेले प्रतिनिधि सभाको अन्तिम बैठकमा आफ्नो धारणा राख्दै तलब भत्तामा मात्र ६ महिनामा ६ करोड खर्च भएको तर कानुन नबनेको भन्दै संसदको प्रभावकारिता प्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘सभामुख महोदय ! योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें, नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।’
सत्तापक्षका सांसदहरूले भने हठ पूरा गराउन संसद अवरोध गरिएका कारण प्रभावकारी हुन नसकेको टिप्पणी गरेको भन्दै गरेको बेलामा प्रमुख विपक्षी दल एमालेका सांसद विष्णु पौडेलले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद बन्द गरिएको तथा विपक्षीको माग पूरा गर्न ढिलाइ गरेका कारण सदन प्रभावकारी हुन नसकेको दावी गर्नु भयो ।
प्रकाशित मिति २०८० कार्तिक १७, शुक्रबार १०:११ गते