पाउँदी(लमजुङ)– लमजुङमा तनाव तथा बुढ्यौली व्यवस्थापनका साथ राष्ट्रिय जेष्ठनागरिक दिवस मनाइएको छ । सामाजिक बिकास कार्यालय लमजुङ, राइनास नगरपालिका र सर्वोदय सेवाश्रमको संयुक्त आयोजनामा पुस ११ गते मनाइएको हो ।
राष्ट्रिय जेष्ठनागरिक दिवसको यसवर्षको नारा ‘जेष्ठनागरिकको सम्मान– सभ्यताको पहिचान’ रहेको थियो । राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा सामाजिक विकास कार्यालयप्रमुख सन्तोष पौडेलको अध्यक्षता दिवस यहाँ स्थित सर्वोदय सेवाश्रममा तनाव तथा बुढ्यौली व्यवस्थापन प्रशिक्षणका साथ मनाइएको हो ।
कार्यक्रममा मेयर गुरुङ र उपमेयर पुष्प खनालले जेष्ठनागरिकको दैनिक, सेवा सम्मानका बिषयमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा सुपरलर्निङ मेमोरी माष्टर, भागवत् गीता कण्ठस्थ गर्नु भएका बिदुर फुयांल, नेत्रबिहीन भएर पनि संसारमा अरुका लागि उज्यालो छर्ने मोटिभेशन स्पिकर सृष्टि के.सी. र योग अक्कुप्रेसरकी प्रशिक्षक निशा फुयाँलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्याउनु हुने रुद्रनिधि तिवारी, नारायणबहादुर कुंवर, गोबिन्दराज कडरिया, हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा रुद्रनिधि

तिवारी तथा बिष्णुभक्त अधिकारीले सांगीतिक प्रस्तुति गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बेसीशहर, सुन्दरबजार, भोटेओडार, चिति र राइना
स नगरपालिकाका तीनसय भन्दा बढी जेष्ठ नागरिकहरू विभिन्न विद्यालयका प्र.अहरू (शान्ति मा वि कुन्छा, सयपत्री आवासीय विद्यालय, राइनास एन ग्लोबल) लगायत गुरुहरूको सहभागिता रहेको थियो । नेपाल सरकार शिक्षा मन्त्रालयको जेष्ठ नागरिक दिवसका दिनमा एक पिरियड जेष्ठ नागरिक बिषयमा पढाउने छलफल गर्ने निर्देशन अनुसार मर्स्याङदी आधारभुत विद्यालयबाट ६० जना विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउनु भएको थियो । सो अवसरमा सहभागीहरूले आश्रम अवलोकन गराउनु भएको थियोे ।
राइनास नगपालिका सामाजिक बिकास समितिका संयोजक बलराम पराजुलीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै सञ्चालन गर्नु भएको थियो ।
यसैबीच, आदर्श व्यक्तित्व, निजामती सेवाका निष्ठावान आदर्श, उच्च प्रशाशक, महालेखा परिक्षक, योग र आध्यात्मिक पुस्तकका लेखक शताब्दी पुरुष स्व. नरकान्त अधिकारीको स्मृतिमा स्थापित ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ वितरण कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा यहि पुस २२ गते दिनको ठिक १ बजे हुने भएको सर्वोदय सेवाश्रमले जनाएको छ ।
प्रकाशित मिति २०८० पुष १५, आईतवार ०६:३० गते