अर्थतन्त्र यो भन्दा बढी खराब हुँदैन : ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

अर्थतन्त्र यो भन्दा बढी खराब हुँदैन : ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २८ गते शनिवार ०६:५७

लउवासंघका द्वितीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ अध्यक्ष चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विकास श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कृष्णजंग गुरुङ, तृतीय उपाध्यक्ष प्रदीप बस्नेत, खुला सदस्यमा विपिन श्रेष्ठ, मानकृष्ण आचार्य, भरतबहादुर विष्ट तथा महिला सदस्यमा भवानी अधिकारी र पुष्पकला मिश्र चयन भएका निर्वाचन समितिका सदस्य दिपक बरालले सर्वसम्मत निर्वाचित पदाधिकारी एवं सदस्यहरूको घोषणा गर्नु भएको थियो ।

निर्विरोध समिति चयन : स्वस्फूर्त कि बाध्यता ?

बेसीशहर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक अवस्था अबका दिनमा यसअघि भएको खराब अवस्थाभन्दा बढी ओह्रालो लाग्दैन भन्ने ठोकुवा गर्नु भएको छ । उहाँले लमजुङ उद्योग वाणिज्य संघ(लउवासंघ)ले आफ्नो ४८ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको ३७ औं साधारण सभा तथा १८ औं अधिवेशनको उदघाटन गर्दै पुस २६ गते त्यस्तो बताउनु भएको हो ।
आफूले अध्यक्ष पद सम्हालेले तीन महिनाको छोटो अवधिमै अर्थतन्त्र सुधारका लक्षण देखिएको दावी गर्दै उहाँले आफ्नो पहलमा बैंक व्याजमा कटौति भएको, नेप्सेको स्थिति सन्तोषजनक रहेको, मौन्द्रिक नीति बन्दै गरेको लगायतका काम भएको बताउनु भयो । आफूले पद बहाल गरेकै दोस्रो दिनमा निजी क्षेत्र अख्तियारको नियन्त्रणमा जाने सरकारी निर्णयका विरुद्धमा त्यसको प्रभाव निजी क्षेत्रमा मात्र पर्दैन राष्ट्रिय अन्तराष्ट्रिस्तरमा पनि समेत प्रभाव पर्छ भन्ने तथ्य प्रधानमन्त्री सहित विभिन्न पार्टीका अध्यक्षहरूलाई समेत भेटेर अनुरोध गरेकोमा सो कार्य रोकिएको अवस्था छ यसका लागि थप कदम चाल्न आवश्यक छ र हामी गर्ने छौं भन्नुभयो । त्यसका लागि एक न्यायिक समिति गठन गर्नु पर्ने माग गरी उचित छानविन गर्नका लागि गरेको आग्रह अनुसार समिति गठन भएको उहाँले जानकारी दिनुभयो ।
उद्योगहरूको लाइन काट्ने नीतिका विरुद्धमा आफूले नियम सम्वत् विद्युत शुल्क जो कसैले पनि तिर्नु पर्ने भए तिर्नु पर्छ तर एकै पटक सबै उद्योगको लाइन काट्दा त्यसले पार्ने प्रभावकाबारेमा जानकारी गरी त्यसको पनि नीति बनेर कामको थालनी हुँदै गरेको ढकालले उल्लेख गर्नुभयो ।
त्यस्तै, अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरी उहाँकै प्रतिवद्धता र पहलमा सर्वदलीय, सर्वपक्षीय गोष्ठी भयो र त्यसबाट पनि सुधारका संकेत देखिएका छन् ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसैगरी, लगानी सम्मेलनका लागि भारत, चीन र दुवईमा हामी आफैले लगानी मैत्री वातावरण रहेको बारेमा गोष्ठी गरेका छौं र अर्थतन्त्रमा सुधारका संकेत देखिएको छ ।’ अब योभन्दा अप्ठेरो स्थिति हामीले सहन गर्नु पर्ने छैन हामीले नकारात्मक प्रचार पनि नगरौं उहाँले दोहो¥याउँदै उल्लेख गर्नुभयो । हामी आफैले अर्थतन्त्र नकारात्मक छ लगानी मैत्री वातावरण छैन भन्दै गर्दा त्यसले दिने सन्देशतर्फ पनि ध्यान दिऔं उहाँले थप बताउनुभयो । अहिलेको अस्थिरता सधैभरी नरहने भन्दै उद्योगी व्यवसायीहरुलाई निराश नभई सकरात्मक सन्देश प्रवाह गर्न अध्यक्ष ढकालको आग्रह थियो ।
महासंघले जिल्ला संघका समस्यालाई सुन्ने नगरेको भन्ने केही वाणिज्य संघका अध्यक्ष गुनासाप्रति टिप्पणी गर्दै उनले आफू शून्यबाट सुरु गरेर व्यवसायी भएको नाताले आफूले जति जिल्लाको समस्या बुझ्ने नेतृत्व आजका दिनसम्म महासंघले नपाएको दावी गर्दै जिल्लाका समस्या सम्बोधन गर्नका लागि आफू सधैं तत्पर रहेको, पहल गरिरहेको र आफूलाई यो स्थानमा ल्याउनका लागि लउवासंघले खेलेको भूमिका नबिर्सने बाचा समेत ढकालले गर्नु भएको थियो ।
उहाँले सातवटै प्रदेशको स– सानो पूँजीलाई संकलन गरेर सातवटै प्रदेशको सम्भावनलाई उजागर गर्ने खालका काम गर्नका लागि थालिएको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘लमजुङमा विद्युत उत्पादन, ग्रामीण पर्यटन प्रवद्र्धन, कषि लगायतका कार्यमा लगानी गर्न सकिने सम्भावना रहेको हुँदा यसतर्फ पनि ध्यानाकर्षण गर्छु ।’
लउवासंघको नयाँ समिति निर्विरोध रुपमा चयन भएकोमा त्यो वातावरण तयार गर्ने सबैलाई उहाँले बधाई दिनु भएको थियो ।
सो कार्यक्रममा गण्डकी प्रदेशका सभासद एवम्् लउवासंघका पूर्वअध्यक्ष भेषबहादुर पौडेल, प्रदेश सभासद पार्वती तामाङ विभिन्न दलका प्रतिनिधिहरू, उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य जिवनज्योती श्रेष्ठ, गण्डकी प्रदेशका वाणिज्य संघका अध्यक्ष अमृत भट्टच, सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा लगायतले आ– आफ्नो धारणा राख्नु भएको थियो ।
सो अवसरमा लउवासंघका पूर्वअध्यक्ष द्वय रामकुमार श्रेष्ठ र राजेश थापालाई सम्मान गरिएको थियो । साधारण सभाका अवसरमा लमजुङ उद्योग वाणिज्य संघले दुई जना महिला उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बेसीशहर– ७ स्थित आशिका ढाका कपडा उद्योगकी सञ्चालक रणकुमारी गुरुङ र बेसीशहर– ८ स्थित सुन्तली सुनचाँदी पसलकी सञ्चालक सुन्तली सुनार रहनुभएको छ ।
सो अवसरमा संघका संस्थापक स्वर्गीय शनद कुमार श्रेष्ठको स्मृतिमा उहाँका छोराहरूले स्थापना गरेको पुरस्कारबाट गत शैक्षिक वर्षको एसइई परीक्षामा जिल्ला प्रथम हुन सफल छात्रतर्फ बालकल्याण मावि भकुण्डेका किष्मत अधिकारी र छात्रातर्फ ग्लोवल भिजन बोर्डिङ स्कुल भोटेओडारका आशिका थापा लाई प्रदान गरियो । उत्कृष्ट विद्यार्थीद्वयलाई पनि नगद पाँच हजारको साथमा सम्मान पत्र प्रदान भएको संघले जनाएको छ ।
लउवासंघका अध्यक्ष गुणराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्वागत सहित संघको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले मुलुकमा देखापरेको आर्थिक संकटले धेरै व्यवसायीहरू पलायन हुँदै आएको स्मरण गर्दै व्यवसायीहरू धरासायी अवस्थामा पुगेको अवस्थामा पनि लउबासंघले जिल्लाको उद्योगी व्यपारीहरूको हक हितका साथै सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सिलवालले जानकारी दिनु भयो ।
संघका महासचिव प्रदिप बस्नेतले सहजिकरण गर्नुभएको सो कार्यक्रममा संघका द्धित्तिय उपाध्यक्ष भरतकुमार श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सर्वसम्मत नेतृत्वको सदिक्षा कि बाध्यता :
लउवासंघको १८ औं अधिवेशनका क्रममा हुने पदाधिकारीको निर्वाचन निर्विरोध रुपमा सम्पन्न भएको छ । विगतका अधिवेशनमा प्यानलगत निर्वाचन लडेका उद्यमी तथा व्यवसायीहरूले यसपटक निर्विरोध पदाधिकारी चयन गर्नुमा रहर भन्दा पनि बाध्यता आइलागेको आम बुझाई छ । भलै, त्यस्तो अभिव्यक्ति दिन जो कोही तयार छैनन् ।
लउवासंघको अध्यक्षका लागि दावेदार मानिएका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरे र गत अधिवेशनमा पराजित भएका श्रीकृष्ण लामिछाने संघको निर्वाचनको संघारमा आउँदा स्थानीय कालिका बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी काण्डमा मुछिएर दुवै जना गिरफ्तार हुने र फरार हुने गरेको हुँदा नेतृत्वको खडेरी परी सर्वसम्मत गर्नु पर्ने स्थिति निर्माण भएको हो ।
लउवासंघका द्वितीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ अध्यक्ष चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विकास श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कृष्णजंग गुरुङ, तृतीय उपाध्यक्ष प्रदीप बस्नेत, खुला सदस्यमा विपिन श्रेष्ठ, मानकृष्ण आचार्य, भरतबहादुर विष्ट तथा महिला सदस्यमा भवानी अधिकारी र पुष्पकला मिश्र चयन भएका निर्वाचन समितिका सदस्य दिपक बरालले सर्वसम्मत निर्वाचित पदाधिकारी एवं सदस्यहरूको घोषणा गर्नु भएको थियो । सो अवसरमा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र प्रदान भएको थियो । यसअघि संघ अन्तरगतका १० वटा इकाई रहेको संघमा यसवर्ष सवै इकाईहरूमा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो ।
समितिमा महासचिव र कोषाध्यक्ष समितिले चयन गर्ने विधानमा व्यवस्था रहेको लउवासंघका पूर्वअध्यक्ष राजेश थापाले बताउनु भयो ।
उहाँका अनुसार समितिको कार्यकाल प्रत्येक तीन वर्षमा हुने संघको विधानमा व्यवस्था छ ।
लमजुङ उद्योग बाणिज्य संघ २०३२ पौष २६ गते स्थापना भएको हो ।

प्रकाशित मिति २०८० पुष २८, शनिबार ०६:५७ गते
हजुरको प्रतिक्रिया