लमजुङ– नेकपा एमाले ९ औँ जिल्ला अधिवेशनमा जुट्ने भएको छ । आउँदो चैत १६ र १७ गते जिल्ला अधिवेशन गर्ने एमाले जिल्ला कमिटीको बेसीशहरमा सम्पन्न ११ औँ बैठकले पुस २४ गते निर्णय गरेको हो ।
बैठकमा एमाले केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, जिल्ला इञ्चार्ज रामशरण बस्नेत, पालिका इञ्चार्ज जमिन्द्रमान घले र प्रेदश कमिटीका सचिव धनञ्जय दवाडीले मार्ग निर्देशन गर्नु भएको थियो ।
एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै एमालेको झुलाघाट– चिवा भन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा लमजुङको उपस्थिति र कार्यक्रम सफल उल्लेख गर्नु भएको थियो ।
बैठकले पालिका भेलाको मिति तय गर्नुको साथै जिल्ला कमिटीमा राम श्रीमल र जीवन श्रीमलका साथै मदन राना र राजेन्द्र अधिकारीलाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
जिल्ला कमिटीका उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख यशोदा रिमालले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको बैठकमा पालिका कमिटीका अध्यक्षहरूले पालिकाभित्र भएका पार्टीका गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सम्पन्न बैठकको जिल्ला कमिटी सचिव शुभाष पौडेलले सञ्चालन गर्नुभएको थियो ।
स्मरणीय छ, विगतका अधिवेशनमा वडा– पालिका अधिवेशन गरी त्यहाँबाट प्रतिनिधि छनौट गरी जिल्ला अधिवेशन गर्ने गरिएकोमा यस पटक प्रदेश, जिल्ला, पालिका र वडामा अधिवेशन गरिने भएको बताइन्छ । त्यस्तै, भातृ संगठनको अधिवेशन पनि जिल्ला अधिवेशन अघि नहुने भएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८० पुष २८, शनिबार १६:३२ गते