हिन्दूराष्ट्रका पक्षमा उभिदै काँग्रेस !

हिन्दूराष्ट्रका पक्षमा उभिदै काँग्रेस !

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ८ गते मङ्गलबार ०८:३०

नेता शंशाक कोइराला र रानाभाटसमेत छ सय नेताद्वारा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरिएको दाबी ।

विवादित जिल्ला तथा भातृ र सुभेच्छुक संस्थाका प्रतिनिधिहरू आमन्त्रित :

ललितपुर– यहाँको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र स्थापनाका पक्षमा उभिने स्थिति बलियो बन्दै गएको छ । अभियानमा ६ सय प्रतिनिधिहरुले हस्ताक्षर गरेको दाबी गरिएको छ । महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियानमा नेता शंशाक कोइराला र रानाभाटसमेत छ सय नेताद्वारा हस्ताक्षर गरिएको दाबी फागुन ८ गते गरिएबाट सो खुलासा भएको हो ।
हस्ताक्षर संकलन जारी राखिएको अभियन्ता लोकेश ढकालले बताउनु भयो । उहाँका अनुसार आज मात्र पूर्वमहामन्त्री एवम् केन्द्रीयसदस्य डा. सशांक कोइरालाका साथै पूर्वसभामुख एवम् पूर्वमहामन्त्री तारानाथ रानाभाटले समेत हस्ताक्षर गर्नु भएको छ । ढकालले भन्नुभयो, ‘आज बिहानसम्म ६ सयभन्दा बढी महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।’ त्यसरी हस्ताक्षर गर्नेहरूमा ३५ भन्दा बढी केन्द्रीय सदस्यहरू हुनुहुन्छ ।
महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडि ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् ।
गत फागुन ४ गते कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको उल्लेख गर्नुभयो । नेता भण्डारीले नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै आपत्ति व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको छ ।’
तर कांग्रेसको इतर समूहका केही नेता, मुस्लिम संघ, आदिवासी जनजाति संघलगायत केही भातृ एवं शुभेच्छुक संस्थाहरु उक्त अभियानको विरुद्धमा उभिएका छन् ।
विवादित जिल्ला तथा भातृ र सुभेच्छुक संस्थाका प्रतिनिधिहरू आमन्त्रित :
यसैबीच, नेपाली कांग्रेसले विवादित जिल्लाका प्रतिनिधिलाई आमन्त्रितका रूपमा जारी महासमिति बैठकमा सहभागी गराउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति सदस्यको निर्वाचन नभएको, सर्वसम्मत हुन नसकेका निर्वाचन क्षेत्रबाट १४ औं महाधिवेशनका लागि निर्वाचित भएकाहरूलाई आमन्त्रित सदस्यकारूपमा सहभागी गराउने निर्णय हिजो गरेको हो ।
बारा क्षेत्र नं. ३, पर्सा क्षेत्र नं. १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं. १, दोलखा, ओखलढुंगा, काठमाडौ क्षेत्र नं. ५, दाङ क्षेत्र नं. ३, कञ्चनपुर क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नं. २, सिन्धुली क्षेत्र नं. २ को महासमिति सदस्य टुंगो लगाउन बाँकी छ ।
पार्टीको १४ औं महाधिवेशन पश्चात् केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका तपशील बमोजिमका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूका हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ ।
ती संघसंस्थाहरूमा नेपाल विद्यार्थी संघ, महिला संघ, तरूण दल, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक खेलकुद संघ, किसान महासंघ, थारू संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, प्रेस युनियनबाट तीन जना प्रतिनिधित्व गराइने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० फाल्गुन ८, मंगलवार २०:३० गते
हजुरको प्रतिक्रिया