काठमाडौं– इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)मा नयाँ कार्यसमिति चयन भएको छ । समाज अस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरूको साझा संस्था हो । राजधानीमा भएको एक भेलाले आइसिसिएनको दोश्रो कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन गरेको हो ।
समाजको निर्विरोध रुपमा समिति गठन भएको हो । जसको अध्यक्ष श्रृजना भोमी, उपाध्यक्ष प्रमिला श्रेष्ठ, महासचिव निलम देवकोटा, कोषाध्यक्ष रोशनी थापा, सहसचिव रोशनी राना र सहकोषाध्यक्ष इच्छा थापामगर चयन हुनु भएको छ । समितिको सदस्यहरूमा रेश्मा डंगोल, रुकुमणी खड्का बस्नेत, सविना डंगोल, रक्षा अधिकारी, लक्ष्मी डंगोल चयन हुनु भएको छ ।
यसैगरी, सोसाइटिको सल्लाहाकारका रुपमा बरिष्ठ सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास प्रसाद, संक्रामक रोग विशेषज्ञहरू डा. प्रभात अधिकारी र डा. अनुप सुवेदी, बरिष्ठ नर्सहरु कृष्णा देवी प्रजापति र कविता देवकोटा हुनुहुन्छ ।
स्थापनाकालमा नेपाल क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशन (एनसिसिडिएफ) तथा क्रिटिकल केयर नर्सेस् एसोसिएसन अफ नेपाल (सिसिएनएएन)को सहकार्यमा इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर विशेष तालिम संचालन गरी २४ जना इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर तयार गरिएको थियो ।
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल स्वास्थ्य संस्था सम्वद्ध संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना, अध्ययन–अनुसन्धान तथा सहकार्यका लागि सन् २०२० मा स्थापना भएको गैह्र नाफामूलक संस्था हो ।
नेपाल सरकारले सञ्चालन गर्ने हरेक संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्यक्रमहरूमा इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
हालसम्म यस संस्थाले चारवटा इन्फेक्सन कन्ट्रोल नर्स सर्टिफिकेसन प्रोग्राम (आइसिएनसिपी) सम्पन्न गरिसकेको छ । अन्तर्गत देशभरका विभिन्न अस्पतालमा कार्यरत ६३ जना नर्सहरूले संक्रमण रोकथाम र नियन्त्रण विशेष तालिम हासिल गरी कार्यक्षेत्रमा खटिएका छन् ।
प्रकाशित मिति २०८० फाल्गुन १५, मंगलवार १७:११ गते