काठमाडौं– नेपाल सरकारले नेपाली भाषा, साहित्य तथा कला संस्कृतिका क्षेत्रमा अतुलनीय काम गरेकोमा नइ प्रकाशनलाई विशेष सम्मान गरेको छ । नइ प्रकाशनको योगदानको कदर गर्दै प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको लोगो अंकित एक सय रुपैयाँको स्मारिका सिक्का तथा १० रुपैयाँको हुलाक टिकट प्रकाशन गरिएको हो । ती दुवैको यहाँ आयोजित एक विशेष समारोहका बीच फागुन १९ गते लोकार्पण गरिएको छ ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट् बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सामूहिक लोकार्पण गर्नुभएको हो ।
सो समारोहमा नेपाल प्रज्ञातिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, नेपाल राष्ट् बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीले आ– आफ्नो धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले यस्तो अवसर र सम्मान संस्थागत नेपालको इतिहासमा पहिलो पटक नइले पाएको बताउनु भयो । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले यो कार्य विगतदेखिदै निजी क्षेत्रबाट अतुलनीय रुपमा योगदान गरेको मूल्यांकन स्वरुप उपलब्ध भएको हो भन्नुभयो । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालमा सिक्का र नोट के कसरी छापिन्छ भन्ने विधि र त्यसको इतिहासका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो । नेपाल राष्ट् बैंकबाट एक सय रुपैयाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो ।
कार्यक्रमको समापनका अवसरमा लोकार्पित सिक्काबाट विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट् बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी लगायत हुनुहुन्छ ।
देशविदेशका विभिन्न स्थानमा बसेर नेपाली भाषा, साहित्य संस्कृतिको श्रीबृद्धिमा योगदान गर्नु हुने २०१ जनालाई सो सम्मान प्रदान गरिएको हो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लमजुङबाट तीनजना सम्मानित :
लमजुङबाट उक्त सिक्काबाट सम्मान पाउनु हुनेमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी सम्मानित हुनु भएको छ । लमजुङबाट सो सम्मान पाउनु हुनेमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, साहित्यकार डा. बमबहादुर जिताली समेत हुनुहुन्छ ।
नइ प्रकाशनको चिन्ह अंकित सिक्का आजैदेखि प्रचलनमा :
नइ प्रकाशनको चिन्ह अंकित उक्त टिकट केही दिन अघिदेखिनै हुलाकसेवा विभागले प्रचलनमा ल्याइसको छ भने रु एक सयको सिक्का आज फागुन २० गतेबाट प्रचलनमा आएको छ ।
नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा निकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार यो सिक्का टक्सार कार्यालय बबरमहलमा सहज रूपमा किन्न पाइन्छ । उहाँले भन्नुभयो, ‘नइ प्रकाशनको चिन्ह अंकित उक्त टिकट दस लाखप्रति छापिएको छ ।’
प्रकाशित मिति २०८० फाल्गुन २०, आईतवार २३:०७ गते