नयाँ सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

नयाँ सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २२ गते मङ्गलबार ०१:४०

प्रधानमन्त्रीले हामी चौँथो ठूलो दलबाट निकै धेरै अपेक्षा गर्नुभएको छ : स्वर्णिम वाग्ले, उपसभापति रास्वपा ।

राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने

काठमाडौं– नयाँ सत्ता गठबन्धन बनाउन सहमत भएका चार दलहरू बीच ८ बुँदे सहमति भएको हो । ती दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच फागुन २१ गते ८ बुँदे सहमति भएको हो ।
सो सहमतिमा तत्काल सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने, सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्र्थन गर्ने लगायत छन् ।
सो सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ ।
ती सहमतिहरूमा उल्लेख गरिएको छ–
– सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।
– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने ।
– संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।
– सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।
– यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।
– हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवाद उन्मुख आर्थिक– सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।
प्रधानमन्त्रीले हामी चौँथो ठूलो दलबाट निकै धेरै अपेक्षा गर्नुभएको छ : स्वर्णिम वाग्ले, उपसभापति रास्वपा :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री ‘निर्णायक सम्बोधन’का लागि तयार भएपछि आफूहरू सरकारमा सहभागी भएको बताउनु भएको छ ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम मोलेर निर्णायक सम्बोधन गर्न खोजेको फागुन २१ गते बताउनु भएको हो ।
पछिल्लो चरणमा प्रधानमन्त्रीज्यूबाट नयाँ ढंगबाट जाऔँ भन्ने आह्वान भयो । मुलुकको सबैभन्दा ठूलो दलसँगको उहाँको साझेदारी टुट्ने अवस्था आयो । हामी चौँथो ठूलो दलबाट उहाँले यति धेरै अपेक्षा गर्नुभएको छ कि उहाँले साझेदारीको हात फैलाउनुभयो वाग्ले बताउनु हुन्छ । उहाँका अनुसार आफूहरू निश्चित एजेन्डा बोकेर सरकारमा सहभागी भएका छौं । यदि जनतालाई डेलिभरी दिन नसकेको दिन आफूहरू सरकारबाट बाहिरिने छौं । उहाँले भन्नुभयो, ‘अहिले आर्थिक शिथिलता र कुशासनका केही शृङ्खलाबाट आमनैराश्य समाजमा व्याप्त छ । यसले डेलिभरीको गति पनि, मात्रा पनि, क्वालिटी पनि सबैमा रफ्तारमा जाओस् भन्ने जुन समाजमा अपेक्षा छ । त्यसमा प्रधानमन्त्रीज्यूले अलि गम्भीरतापूर्वक मनन गरेको हामीले पायौँ । उहाँहरूको कुर्सी हल्लिएको थिएन, अर्को ९– १० महिना उहाँ आरामले बस्न सक्नु हुन्थ्यो । तर पनि उहाँले जोखिम मोलेर एउटा निर्णायक सम्बोधनतिरै म जानुपर्छ भनेर जुन पहल गर्नुभयो । हामी पनि उदीयमान राष्ट्रिय दलका हिसाबले यसमा सहभागी हुनुपर्छ ।’

प्रकाशित मिति २०८० फाल्गुन २२, मंगलवार १३:४० गते
हजुरको प्रतिक्रिया