बेसीशहर– लमजुङमा एमाले ९ औं जिल्ला अधिवेशनका क्रममा जिल्ला नेतृत्वका लागि मतदान प्रक्रिया अघि बढेको छ । चैत १८ गते ४ बजे मतदान सुरु भएको छ । मतदाताहरूले करिब दुई घण्टा अघिनेदखि लाइनमा बसेर अधैर्यपूर्वक मतदानका लागि प्रतिक्षा गरिरहेका छन् ।
मतदान गर्र्न एक जनाका लागि सातदेखि १० मिनेट समय लाग्ने आंकलन गरिएको निर्वाचन समितिका संयोजक महेन्द्रलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव सहित विभिन्न पद र क्लस्टरका लागि चुनाव भइरहेको छ । उहाँले भन्नुभयो, ‘निर्वाचनमा भाग लिने प्रतिनिधि अर्थात मतदाता संख्या ५३२ रहेको छ ।’ एकैपटक २० जनाले मतदान गर्न पाउने प्रवन्ध गरिएको निर्वाचन समितिको भनाइ छ । 
एमालेको जिल्ला नेतृत्वका लागि अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, उपाध्यक्ष पदमा हालका सचिव सुभाष पौडेल र जीतबहादुर गुरुङ, सचिवमा हालका उपसचिव जनक मिश्र र राजेन्द्र बोहराले नाम गर्दा गराउनु भएको छ । गत अधिवेशनमा मिश्रले सर्वाधिक मत अर्थात पपुलर भोट पाउनु भएको थियो । मिश्र र बोहरा २०४९ सालमा क्रमशः कुन्छ र गाउँशहर गाविसको अध्यक्ष भएर काम गर्नु भएको थियो । पछि मिश्र सुन्दरबजार नगरपालिकाको मेयर हुनुभयो । हाल उहाँ पार्टीको सहसचिव हुनुहुन्छ । बोहरा पार्टीमा भन्दा गैसस (आरसिडिसी, लमजुङ) सञ्चालन र सहकारी अभियानमा सक्रिय रहनु भयो । जिल्ला सदरमुकाम क्षेत्रको भएर उहाँ पार्टीमा ओझेलमा परेको पात्रका रुपमा चिनिनु हुन्छ ।
एमाले लमजुङको नेतृत्वका लागि पनि चुनाव प्यानलगत भइरहेको छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृह जिल्ला समेतरहेको यस जिल्लामा पनि गुरुङ र सो दलका स्थायी कमिटि सदस्य खगराज अधिकारी प्यानलका बीच प्रतिस्पर्धा भइरहेको बुझिएको छ । कास्कीको निर्वाचन परिणामले लमजुङमा पनि खगराज अधिकारी पक्षधरहरू उत्साहित भएको बताइन्छ ।
उपसचिवमा महिलातर्फ राधिका अधिकारी र राममाया थापामगर, सोही पदको पुरुषतर्फ राजेन्द्र अधिकारी र विवश बुढाथोकीका बीच प्रतिस्पर्धा भइरहेको छ ।
निर्वाचित हुने कुल ८३ पदका लागि भएको निर्वाचनमा केही पदमा निर्विरोध नतिजा समेत आएको छ ।
उपसचिव महिलामा राममाया थापा मगर निर्विरोध हुनुभयएको छ भने केही पालिका र क्लस्टरको सदस्य पद पनि निर्विरो भएको जानकारी प्राप्त भएको छ । थप समाचार केही समय पछि प्रशासरण गरिने छ ।
प्रकाशित मिति २०८० चैत्र १८, आईतवार १६:३० गते