बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ सञ्चालित जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण तीन दिने तालिम आउँदो १० वर्ष पछिका सपना अर्थात वस्तुस्थिति देखाउँदै समापन भएको छ । सहभागीहरूले कुमकुममा हात राख्न लगाई सहभागिताको लागि बधाई सहित धन्यवाद ज्ञापन गर्दै तालिमको समापन चैत ९ गते गरिएको हो ।
यूएसएआईडि जल जंगल चितवन– अन्नपूर्ण भूपरिधि पोखराको आयोजनामा सञ्चालित तीन दिने जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि तीन दिने तालिमको अन्तिम दिन सहभागीहरूलाई आफ्नो पालिकामा फर्केर गएपछि योजना तर्जुमा गर्दा के कसरी जलवायु अनुकुलन गर्न सकिन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक प्रयोग गरी प्रशिक्षण दिइएको थियो ।
सो तलिममा तीन जिल्ला मनाङको नासों गाउँपालिका, तनहुँका व्यास र भानु नगरपालिका तथा लमजुङको राइनास नगरपालिकाका उपमेयर, कार्यपालिकाका सदस्यहरू तथा कर्मचारीहरू गरी प्रति पालिका सात जनाका लागि सो तालिम सञ्चालन गरिएको हो ।
आयोजक युएसएआइडिका सोहनलाल श्रेष्ठ, रेबिका गुरुङ, मानबहादुर बिक, सोभित कोइराला, आशा बुढालगायतले तालिममा सहजिकरण गर्नु भएको आयोजक संस्थाका किरण न्यौपानेले बताउनु भयो । उहाँका अनुसार तालिमको पहिलो दिन विषय वस्तुका बारेमा जानकारी दिने, अनुभव साट्ने, दोस्रो दिन जलवायु परिवर्तनले समुदायमा के कस्तो असर तथा प्रभावहरू पारेको छ र त्यसलाई के कसरी कम गर्न सकिन्छ ? भन्ने बारेमा सहभागीहरूलाई स्थलगत अनुगमन भ्रमण गराइएको थियो । उहाँले भन्नुभयो, ‘तेस्रो दिन पालिका केन्द्रीत कार्यक्रम सञ्चालन गरी पालिकामा सञ्चालन गरिएका योजना के कति जलवायु अनुकुलनका छन् ? भन्ने जानकारी दिने र सहभागीलाई अबको १० वर्ष पछिसम्मका लागि जलवायु अनुकुलनका योजना के कसरी तर्जुमा गर्न सकिन्छ भन्ने बारेमा सिकाइएको थियो ।’
अघिल्लो दिनको प्रतिवेदन प्रस्तुति पछि प्रशिक्षक श्रेष्ठले ‘योजनामा असफल हुनु, असफल हुने योजना हो ।’ अर्थातFailing to plan is planning to Fail हो भन्ने कथनबाट सुरु गर्नु भएको कक्षा त्यसका साथमा जलवायु परिवर्तनमै केन्द्रीत रहेर आफ्ना प्रस्तुतिहरू पस्किनु भएको थियो ।
अन्तिम दिन लमजुङको राइनास नगरपालिकामा सञ्चालन गरिएको नमूना गाउँ परियोजनाका बारेमा उपमेयर पुष्पराज खनालले जानाकरी दिँदै त्यस योजनाबाट सकारात्मक परिणाम देखिन थालेको छ भन्नुभयो । उहाँले हरियाली विद्यालय कार्यक्रम, ३५० जना महिला सहभागी रहेको सहकारी संस्था सञ्चालन, उत्पादनमा अनुदान कार्यक्रमले कोदो, दूध, मासुको उत्पादनमा बृद्धि भएको तरकारी खेतीका लागि पनि सार्थक प्रयास भएको छ । नौ सय क्विन्टल आलु एक सिजनमा विक्री भएको छ । बजारको सुनिश्चित गर्ने पद्दतिको विकास नगरपालिकाले सञ्चालन गरेपछि किसानमा नयाँ उत्साह र जागरण आएको छ भन्ने खनालले उल्लेख गर्नु भयो ।
अन्तिम दिन नासों गाउँपालिकाका सवइन्जिनियर प्रशान्त गुरुङको शुभजन्म दिन समेत रहेछ । आजको पहिलो सत्र सुरु हुनासाथ उहाँले चक्लेट बाड्दै जन्मदिनको जानकारी दिनुभयो । त्यसपछि, आयोजक संस्थाका प्रशिक्षक सोहनलाल श्रेष्ठले उहाँका लागि जन्म दिनको केक काट्ने प्रवन्ध गराउनु भएको थियो । त्यस कार्यक्रमले पनि तालिमलाई नयाँपन दिएको थियो ।
तालिमको बीचबीचमा निद्रा तथा अल्छी भगाउनका लागि विभिन्न खेलहरूको प्रयोग गरिएको थियो । उक्त अवसरमा पालिकाहरूले आ–आफ्नो स्थानमा सञ्चालन गरेका विशेष योजनाहरू के कति जलवायु अनुकुलनका छन् ? भन्दै एक एक वटा योजनाको विश्लेषण गर्न लगाई प्रस्तुति गराइएको थियो । त्यसपछि योजना तर्जुमा विधि र नेपाल सरकारको सो सम्बन्धि नीति नियमका बारेमा जानकारी दिने काम भएको थियो । त्यो सँगै आउँदो १० वर्षमा कहाँ पुगिएला ? भन्ने परिकल्पना गरी पालिकास्तरमा जलवायु अनुकुलनको एक योजना तयार गर्न लगाइएको थियो ।
तालिमको हरेक दिन मूल्यांकन गर्ने, प्रतिवेदन लेखन तथा व्यवस्थापकीय जिम्मा दिने र हस्तान्तरण गर्ने गरिएको थियो । ती कार्यले पनि सहभागीहरूलाई तालिम केन्द्रित हुन मद्दत गरेको सहभागीहरूले बताए । उनीहरूका अनुसार नेपालीहरूको बानी विगत सम्झेर पछुताउने मात्र रहेको छ, सकारात्मक सोचका साथ आउँदो एक दुई वर्ष, पाँच– १० वर्षलाई देख्ने बानी छैन तर यो तालिमले विसं २०९० लाई समेत हामीलाई देखाउने प्रयास गरेको छ । यो तालिमको विशेषता, उपलब्धी, सार्थकपक्ष आदि जे संज्ञा दिए पनि यही हो सहभागीहरूको भनाइ छ ।
प्रकाशित मिति २०८१ बैशाख ९, आईतवार २१:१२ गते