बेसीशहर खानेपानी उपभोक्ता समितिको निर्वाचनमा विजयी टिमद्वारा पत्रकार भेटघाट गरी चुनावी नारा अनुसार काम गर्ने प्रतिवद्धता

बेसीशहर खानेपानी उपभोक्ता समितिको निर्वाचनमा विजयी टिमद्वारा पत्रकार भेटघाट गरी चुनावी नारा अनुसार काम गर्ने प्रतिवद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ११ गते सोमबार ०७:१८

‘स्वच्छ खानेपानी, स्वस्थ्य उपभोक्ता, शून्य भ्रष्टाचार, व्यवस्थित संस्था’ भन्ने नाराका साथ चुनाव जितेको बताउँदै आफ्नो प्रतिवद्धता अनुसार भाषण नगरी काम गरेर संस्थालाई सुशासनको पर्याय बनाउने नवनिर्वाचित अध्यक्ष राजबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

सो निर्वाचनमा वाम गठबन्धनका प्रगतिशील उपभोक्ता समूहका गोपाल परियारले सर्वाधिक पपुलर मत ८१५ पाउनु भएको छ ।

लमजुङ । बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा वाम गठबन्धन हावी भएको छ । सो निर्वाचनमा वाम गठबन्धनको प्रगतिशील उपभोक्ता समूह ११ मध्ये ९ सिटमा विजयी भएको छ । सो समूहले बधाई एवम् पत्रकार भेटघाट कार्यक्रम गर्दै चुनावी नारा अनुसार काम गर्ने प्रतिवद्धता असार १० गते व्यक्त गरेको छ ।
सो समूहले ‘स्वच्छ खानेपानी, स्वस्थ्य उपभोक्ता, शून्य भ्रष्टाचार, व्यवस्थित संस्था’ भन्ने नाराका साथ चुनाव जितेको बताउँदै आफ्नो प्रतिवद्धता अनुसार भाषण नगरी काम गरेर संस्थालाई सुशासनको पर्याय बनाउने नवनिर्वाचित अध्यक्ष राजबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले खानेपानीको समस्या पर्दा सम्झनुहोस् म तुरुन्त उपस्थित हुनेछु भन्ने प्रण गर्दै मतदातालाई धन्यवाद दिनु भएको थियो ।
सो सभामा एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्णले विजेताहरूलाई बधाई दिदै उपभोक्ताको हित, र संस्थाको विकास र सुशासनका लागि काम गर्न निर्देशन दिनु भयो । उहाँले सो संस्थामा आजका दिनसम्म सुन्ने गरिएको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती, खानेपानीको स्वच्छता र शुद्धतामा कमी जस्ता कुरा यो समितिका पालामा सुन्नु पर्ने छैन भन्दै हामी आलोचना पनि गर्छौं र आवश्यक पर्दा काममा सहयोग पनि गर्छौं भन्नुभयो । निर्वाचन परिचालन कमिटिका संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पदका विजयी शम्भुलाल श्रेष्ठले पनि प्रतिवद्धता अनुसार काम गर्ने उल्लेख गर्नु भएको थियो भने सञ्चालन सचिव जुन तामाङले गर्नु भएको थियो ।
मतगणनाको अन्तिम नतिजा अनुसार वाम गठबन्धनको प्रगतिशील उपभोक्ता समूहले अधिकांश सिटमा जीत हासिल गरेको छ । सो निर्वाचनमा प्रगतिशील पक्षका अध्यक्ष उम्मेदवार रामबहादुर गुरुङ ५८ मतले काँग्रेस– राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई उछिन्दै विजयी हुनु भएको हो । उपाध्यक्ष पदमा भने लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङ ११२ मतको अग्रताका साथ विजयी हुनु भयो ।
अध्यक्ष पदमा प्रगतिशील गठबन्धनका रामबहादुर गुरुङले ७३५ मत पाउनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका लोकन्द्र गुरुङले ६७७ मत पाउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित स्वतन्त्र समूहका विष्णु घिमिरेले ३१० मत पाउनु भएको छ । उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङले ७११ मत तथा प्रगतिशील समूहकी श्रद्धा पौडेलले ५९९ मत र स्वतन्त्र समूहकी सविता अधिकारी बरालले ३६७ मत पाउनु भएको छ ।
सचिवमा प्रगतिशील गठबन्धनका शम्भुलाल श्रेष्ठले ७३६ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक गठबन्धनका चन्द्रकान्त पौडेल ५७८ मत ल्याई १५८ मतले पछि पर्नुभयो । स्वतन्त्रसमूहका श्याम अर्यालले २२८ मत पाएको घोषणा गरिंएको छ । त्यस्तै, कोषाध्यक्ष प्रगतिशील गठबन्धनका नन्दलाल श्रेष्ठ ७०८ मत ल्याई विजयी हुनुुहुँदा लोकतान्त्रिक गठबन्धनका भगवान पियाले ६४५ मत र स्वतन्त्र समूहका मीना खड्काले २८२ मत पाउनु भएको बताइएको छ ।
कुल खसेको मत १७९७ भनिरहदा अध्यक्ष पदमा १७२४, उपाध्यक्षमा १७७७, सचिवमा १६३८ कोषाध्यक्षमा १६३५ मत मात्र सदर भएको देखिन्छ ।
सो निर्वाचनको महिला सदस्यमा प्रगतिशील खेमाका युक्मी गुरुङ ७०० र सविना रिमालले ६७५ मत पाइ विजयी हुनुभएको छ । सो पदमा लोकतान्त्रिक समूहका अतिरुपा सेढाईले ६५० मत, अपना खनाल अधिकारीले ५३५ पाएका छन् । यसैगरी, स्वतन्त्रकी भीममाया तामाङ गुरुङले ३१४ मत र वासमाया दुलाल १४६ मत ल्याउनु भएको छ । दलित सदस्यमा गोपाल परियारले ८१५ मत ल्याई विजयी भएका छन् । उनी पनि प्रगतिशील गठबन्धनका हुुनुहुन्छ । सोही सदस्य पदमा लोकतान्त्रिकका गणेश कामी ५६१ मत र स्वतन्त्रका केशव दुलाल २४४ मत पाउनु भएको छ ।
खुला सदस्यमा प्रगतिशील समूहका राजन पौडेल ६४१, भीमसेन अधिकारी ६२४, विनोद तामाङ ६१९ विजयी भए भने लोकतान्त्रिक समूहका अजितबहादुर अधिकारीले ५७६ मतका साथ विजयी हुनु भएको छ । अधिकारी राप्रपाका जिल्ला सदस्य समेत हुनुहुुन्छ ।
सो निर्वाचनमा वाम गठबन्धनका प्रगतिशील उपभोक्ता समूहका गोपाल परियारले सर्वाधिक पपुलर मत ८१५ पाउनु भएको छ । उहाँले पाउनु भएको मत उहाँकै अध्यक्ष पदका उम्मेदवारभन्दा ७८ मत मात्र बढी हो ।
उक्त निर्वाचनमा बामगठबन्धनका एमाले, माओवादी र नेकपा एसको संयुक्त प्यानल भनिए पनि नेकपा एसका उम्मेदवार थिएनन् । माओवादीले सचिव र एक सदस्य पद लिएकोमा सचिवमा जीत हासिल गरेको छ भने सदस्यमा पराजय भोगेको छ ।
काँग्रेस– राप्रपाको लोकतान्त्रिक गठबन्धनमा राप्रपाले सदस्यमा दुई सिट लिएकोमा एकमा जीत हासिल गरी अर्कोमा पराजित भएको छ भने काँग्रेसकी उपाध्यक्ष उम्मेदवार काशीमाया गुरुङले जीत हासिल गर्न सफल हुनुभयो । राप्रपाबाट लोकतान्त्रिक समूहमा विजयी बन्नु भएका अधिकारी बामगठबन्धनको बधाई समारोहमा भाग लिन पुग्नु भएको थियो ।
पार्टी संगठन कमजोर र चुनावी अनुभव शून्य भएर पनि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित स्वतन्त्र समूहले अध्यक्षमा ३१० मत र उपाध्यक्षमा ३६७ मत पाउनुलाई सो दलले उपलब्धीका रुपमा लिएको सो दलका नगर सभापति कृष्ण राउतले बताउँदै सबै मतदाता र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
सो निर्वाचनको मतदात असार ८ गते भएको थियो भने मतगणनाको अन्तिम परिणम ९ गते साँझ अवेर घोषणा गरिएको हो । जिल्ला सदरमुकाम स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, जिल्लाभरकै सबैभन्दा ठूलो खानेपानी उपभोक्ता समिति हो । २०५२ सालको कार्तिकमा स्थापना भएको सो समितिको आजका मिति पाँचौं अधिवेशनका मात्र भएको छ ।
यसअघिको निर्वाचन(२९७१)मा एक सिट सदस्यमा मात्र एमालेले जितेको थियो भने यसपटक त्यसको उल्टो जस्तै परिणाम आएको छ । काँग्रेसले एकमात्र उपाध्यक्ष पद जित्न सकेको छ । यसअघिका निर्वाचनमा भने काँग्रेसको एकलौटी राइदाई रहँदै आएको थियो ।
क्रममा भएको निर्वाचनमा पटक पटक स्थानीय निर्वाचनको झझल्को देखिएको थियो ।

प्रकाशित मिति २०८१ असार १०, सोमबार १९:१८ गते
हजुरको प्रतिक्रिया