काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै कन्द्रीय तथा सत्ता राजनीतिमा तरङ्ग ल्याएको छ । उनी पक्राउ परेलगत्तै सत्तारुढ र विपक्षी दलका नेताहरूको घरदेखि सिंहदरबारसम्म भइरहेका पारिवारिक र अफिसियल भेटघाट यसैको तरङ्ग पैदा भएको असार १६ गते पुष्टि भएको हो । उनी असार १४ गते पक्राउ परेका छन् ।
सो प्रकरणको पहिलो चरणमा ५७ दिन अनुसन्धान गरेर पहिलो चरणको मुद्दा गत असारमा बुझाएको प्रहरी दोस्रो चरणको अनुसन्धानका लागि एक पात्रको प्रतीक्षामा थियो, जसले उपल्लो नेक्सस बताउन सक्थे । ती व्यक्ति बेचन झा नै हुन् प्रहरी स्रोतको दावी छ ।
अहिले दोस्रो चरणको अनुसन्धान थालेको प्रहरी एक वर्षपछि झालाई पक्राउ गर्न सफल भएको हो । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरीले त्योभन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजी गर्न फाइल खुला राखेको थियो । झाबाट उपल्लो तहको नेक्सस खुल्न सक्ने भन्दै प्रहरीले सर्वाधिक खोजी गरिरहेका व्यक्ति हुन् ।
ठूलामाछा पक्राउ परेनन् भन्ने गुनासो बढ्न थालेको बेलामा गृहमन्त्री रविले ठूला नेताहरू जोडिएका अपराधिक काण्डको खोजी जारी राखेका बेला बेचन पक्राउ पर्नुले उच्चतहका थप व्यक्तिहरूसमेत आत्तिएको स्रोत बताउँछ ।
नक्कली भुटानी शरणार्थी प्रकरण, नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै राज्य संयन्त्र र मन्त्री एवम् कर्मचारी मिलेर रचिएको सुनियोजित षड्यन्त्र उदाङ्गिएको थियो ।
नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक बेचन झाका बारेमा डीआईजी केसीले अपराध अनुसन्धान कार्यालयमै रहेका बेला राजनीतिक ‘कनेक्सन’ पत्ता लगाउनु भएको चर्चा थियो । जो यतिबेला ‘कनेक्सन’को ‘रिपोर्टिङ’ गृहमन्त्री रविसमक्ष पुगरेको स्रोत भन्छ ।
पक्राउ पुर्जी जारी भइसकेकाले बेचन र प्रतीकलाई काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेर उनीहरूको बयान लिइने जानकारी काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका २ फरार आरोपी बेचन झा र प्रतीक थापा पक्राउ परेपछि दोस्रो चरणको अनुसन्धान शुरू भएको छ । नक्सालस्थित नेपाल प्रहरीको विशेष टोलीले झालाई कञ्चनपुरस्थित गड्डा चौकीबाट र थापालाई कपनबाट नियन्त्रणमा लिई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाएको हो । थापा पहिलो चरणकै अनुसन्धानमा अभियुक्त करार गरिएका व्यक्ति हुन् भने झालाई तत्कालीन अवस्थामा कुनै अभियोग लगाइएको थिएन ।
झा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा र पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् । प्रतीक भने पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा हुन् ।
यो ठूलो आपराधिक प्रकरणमा प्रहरीले गरेको अनुसन्धानबाट गत वर्ष पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसम्मको संलग्नता खुलेको थियो । जसका कारण उनीलाई जेल पु¥यायो । खाण उच्च अदालतको आदेशले धरौटीमा रिहा भएर अहिले मुद्दा खेपिरहेका छन् भने अन्य कारगारमै छन र मुद्दा चलिरहेको छ । तर मुख्य कुरा के हो भने त्यतिबेला पक्राउ परेका व्यक्तिहरूलाई मुद्दा चलाएर जेल चलान गरिए पनि प्रहरीले फाइल भने बन्द गरेको थिएन ।
झा यस्ता व्यक्ति हुन् जसबाट गृहमन्त्री खाँडभन्दा माथिको नेक्सस खुल्न सक्ने तथ्यहरू प्रहरीस्रोतको दावी छ ।
बिचौलियाको योजनाअनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल गर्ने आरोपीमा मन्त्री र सचिवहरू मात्रै होइनन् भन्ने आशंका प्रहरीले पहिल्यैदेखि गर्दै आएको थियो । पहिलोपटक सुरु गरिएको नक्कली भुटानी बनाएर अमेरिका पठाउने षड्यन्त्र तत्कालीन सरकार ढलेका कारण असफल भएपछि दोस्रो चरणको प्रयासबाट बिचौलियाहरू काम फत्ते गर्न लागिपरेको प्रहरीको अघिल्लो अनुसन्धानबाटै खुलिसको छ ।
झाको संलग्नताबारे अर्का आरोपी रामशरण केसीको थप खुलासा छ । केसीले बयानमा २०७८ मंसिर १३ गते मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीसम्बन्धी केही निर्णय हुने र त्यसका लागि झाले पैसा मागेको खुलासा गरेका छन् । उनले, २०७८ मंसिर ८ गते रातको ८ बजे नयाँ बानेश्वरमा झालाई भेटेर दुई करोडको चेक दिएको बयानमा उल्लेख गरेका छन् ।
बेचन झा उनै हुन्, जो नक्कली भुटानी शरणार्थी मुद्दा सुरु भएको एक वर्षपछि पक्राउ परेका छन् । सबैभन्दा पहिला त, बेचनको पहिचान खुलाउन नै प्रहरीलाई हम्मे–हम्मे पर्यो । किनकि प्रहरीसँग उनको एउटा मात्रै फोटो थियो र उनी अहिले त्यही फोटोमा देखिने स्वरुपमा छन् कि छैनन् प्रहरीलाई शंका थियो । अनुसन्धानबाट प्रहरीको निष्कर्ष थियो कि, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषद्बाट निर्णय गराउने जिम्मा लिने मुख्य व्यक्ति भने यिनै झा हुन् । त्यो रहस्य सोही मुद्दामा अहिले कारागारमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीको बयानबाटै खुलेको थियो ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिचौलियाको परियोजनामा, भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख नामहरू हटाएर पैसा बुझाउनेहरूको नाम राखिएको थियो । त्यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गराउने जिम्मेवारी झाले लिएको शरण केसीको बयानमा उल्लेख छ । त्यो नक्कली प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गराउने तयारी गर्दै गर्दा मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो ।
मन्त्रिपरिषद् बैठकमा लगेर त्यो प्रस्ताव पारित गराउने त्यति ठूलो काम गर्ने जिम्मा झाले कसको आडमा लिए ? उनको गिरफ्तारीपछि अबको अनुसन्धान त्यसतर्फ केन्द्रित हुने प्रहरी स्रोत बताउँछ । झाले लिएको भनिएको दुई करोड कसलाई बुझाएका थिए ? उनको बयानबाटै खुलाउने प्रहरीको तयारी छ ।
झाको बयानबाट काँग्रेस नेतृ आरजुको यो प्रकरणमा संलग्ना पुष्टी हुन सक्ने आंकलन गरिएको छ । यसअघि पनि सन्देश शर्मा नाम गरेका अर्का आरोपीले पनि आरजुकै नाम लिएर पैसा असुल गरेको अडियो बाहिर आएको थियो । जो प्रयोगशाला परीक्षणबाटै पुष्टि भइसकेको छ ।
प्रहरीले यसअघिको मुद्दाको पूरक मुद्दाकै रुपमा संगठित अपराधमै ६० दिनसम्म झालाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । झा पक्राउपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । यसैको कडी स्वरुप आरजुले नै देउवालाई लिएर छटपटिलै केपी ओली निवास पुगेको स्रोतको दाबी छ ।
संगठित र राज्यविरुद्धको अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले बेचन झासँग जोडिएको राजनीतिक सम्बन्ध कहाँसम्म छ, भन्ने प्रमाणसहित खुलाउन सक्छ कि सक्दैन त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
गृहसचिव र आईजीपी नभएको बेलामा यति ठूलो गिरफ्तारी ?
गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर देशबाहिर हुनुहुन्छ । उहाँहरू नभएका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूनिकटका प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज केसीमार्फत बेचन र प्रतीकलाई पक्राउ गर्न लगाएको प्रहरी स्रोतको दाबी छ ।
डीआईजी केसी तिनै प्रहरी अधिकृत हुन्, जसले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए । तत्कालीन समयमा निवर्तमान गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई पक्राउ गरेर चर्चामा आएका डीआईजी केसीलाई पछि सरुवा गरिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरणमै अप्ठ्यारो पर्ने भयो भन्दै केसीलाई सरुवाका लागि तयार रहन निर्देशन दिएका थिए । तर, केसीले आफूलाई मात्रै सरुवा गर्दा गलत सन्देश जाने भन्दै काठमाडौं परिसर र ललितपुर परिसरका प्रमुखलाई पनि सरुवा गर्नुपर्ने अडान राखेका थिए । काठमाडौं परिसरमा दानबहादुर कार्की (हाल डीआईजी) थिए ।
तत्कालीन समयमा कांग्रेस, माओवादी र साना दलको गठबन्धन सरकार थियो । खाँणलाई पक्राउ गरेपछि कांग्रेसका सभापति देउवाकै दबाबमा केसीको सरुवा भएको चर्चा चलेको थियो । स्मरणीय छ, त्यो बेला खाँणलाई पक्राउ गर्न केसी आफैं खटिएका थिए ।
केशव र सानुसँग प्रतीकको साँठगाँठ !
प्रहरी अनुसन्धानमा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारमध्येका एक केशवप्रसाद दुलाल र सानु भण्डारीसँग साँठगाँठ गरेको रहस्य फेला परेको प्रहरी दावी छ ।
प्रतीककी आमा एवं बादलकी श्रीमती नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर एक करोड रुपैयाँ बुझाएको बयान भण्डारी र दुलालले प्रहरीमा दिएका थिए । अहिले भण्डारी र दुलाल दुवै पुर्पक्षका लागि कारागारमा छन् ।
तत्कालीन समयमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत बेचन पक्राउ परेपछि थप राजनीतिक ‘कनेक्सन’ खुल्ने आफ्नो बयानमा खुलाएका थिए ।
दुई करोडको चेक बुझ्ने बेचन ! :
नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका जान खोज्नेहरूबाट बेचन झाले २ करोडको चेक बुझेको त्यति बेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । झाले टोखा नगरपालिका– ६ स्थित धापासी घर भएका रामशरण केसीसँग हिमालयन बैंकको २ करोडको चेक बुझेको पाइएको थियो ।
अनुसन्धान अधिकृतहरूका अनुसार मन्त्रिपरिषद्बाट गिरोहले भनेअनुसार भुटानी शरणार्थीसम्बन्धी ‘निर्णय गराउन’ बेचनले चेक लिएका हुन् । रामशरण केसीले प्रहरीसँगको बयानमा भनेका छन्, ‘२०७८ मंसिर १३ मा बसेको मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीसम्बन्धी निर्णय गराउन बेचनले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’
रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको समेत आफ्नो बयानमा खुलाएका थिए ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग पनि नजिक रहेका बेचनले मन्त्रिपरिषद्बाटै शरणार्थीको फाइल स्वीकृत गराउने आश्वासन सानु भण्डारीलाई दिएका थिए । सानुले बेचनको भूमिकाबारे रामशरणलाई बताएका थिए । तर, बेचनले चेक बुझेर पनि कुनै निर्णय गराउन नसकेपछि घटना बाहिर आएको प्रहरी स्रोत बताउँछ ।
झाको पक्राउ पछि नयाँ सरकार बनाउने प्रयासामा देउवा :
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृ आरजुलाई लिएर केपी ओली निवास बालकोट पुगेका थिए । जहाँ उनीहरूबीच दुई घन्टा लामो छलफल भएको थियो । सो छलफलमा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य व्यक्ति मानिएका बेचन झा पक्राउ परेलगत्तै सत्ता राजनीतिसमेत तरङ्गीत बनेको छ । काँग्रेस सभापति देउवा आफै नयाँ सरकार बनाउन किन सक्रिय भएको स्रोत बताउँछ । झाको पक्राउले अब यसमा थप नेताहरू तानिने सम्भावना बढेको छ ।
झाले बयानमा सो वास्तविकता बताएमा यो प्रकरणमा आरजु समेत पक्राउ पर्ने सम्भावना छ । उनै झाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सचिव पाण्डे र तत्कालिन मन्त्री बालकृष्ण खाणसम्म सम्पर्क गराएका थिए । उनले समेत दुई करोडको चेक लिएको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
देउवाले एमालेसँग सहकार्यका विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक समेत बोलाउनु भएको छ ।
झा पक्राउ पर्नु र यसरी वर्तमान सरकार गिराएर कांग्रेस–एमालेको सरकार बनाउने प्रयास हुनुमा संयोग मात्र नभएको उच्च स्रोतको दावी छ ।
स्मरणीय छ, राज्य संयन्त्रमा बस्नेहरूकै योजनामा पैसा असुल गरेर सात सयभन्दा बढी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने यो अहिलेसम्मकै ठुलो भ्रष्टाचार काण्ड हो ।
प्रकाशित मिति २०८१ असार १७, सोमबार ०७:४२ गते