गण्डकी साहित्य र संस्कृतिको राजधानी हो : प्रा.डा. आचार्य

गण्डकी साहित्य र संस्कृतिको राजधानी हो : प्रा.डा. आचार्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ११ गते मङ्गलबार ०९:०९

महाभारतको प्रसङ्ग उठाउँदै पाँच पाण्डवहरूका बाबुहरू फरक फरक रहेको भन्दै कुन्ती पुत्र कर्णका पिता सूर्य, युधिष्ठिरका पिता यम, अर्जुनका पिता इन्द्र, भीमका विता वायु तथा सहदेव र नहकुलका पिता अश्विनीकुमारहरू रहेको समेत प्राडा आचार्यले सप्रसङ्ग उल्लेख गर्नु भएको थियो । 

कृतिकार अधिकारीलाई उहाँ अल्छी नभए पनि जाँगर नचलाउने व्यक्ति भएको भन्दै टिप्पणी गरिएको थियो । 

काठमाडौं– प्रा.डा. वरिष्ठ साहित्यकार एवम् पूर्वअमेरिकी राजदूत जयराज आचार्यले वाग्मती प्रदेश राजनीतिको राजधानी हो भने गण्डकी प्रदेश साहित्य संस्कृतिको राजधानी हो भन्नुभएको छ । उहाँले सामाजिक अभियान्ता दामोदर अधिकारी(लमजुङ)को पहिलो आध्यात्मिक खोजमूलक कृति ‘आर्यदर्शनमा नारी अस्ति, हिजो र आज’को लोकार्पण गर्दै भदौ ८ गते त्यस्तो बताउनु भएको हो ।
मर्स्याङ्दी वाड्मय प्रतिष्ठान, काठमाडौको आयोजनामा तक्षशीला कलेज सामाखुसीको सभाहलमा सो कृतिको विमोचन गरिएको हो । पूर्वराज्यमन्त्री रामवहादुर गुरुङको सो विमोचन कार्यक्रममा विशेष आतिथि हुनुहुन्थ्यो ।
आफ्नो संक्षिप्त परिस्कृति एवम् शालिन विमोचन मन्तव्यमा वरिष्ठ साहित्यकार एवम् कुटनीतिज्ञ प्राडा आचार्यले सृष्टिकालमा मातृशक्तिको सत्ता रहेको, प्राकृतिक आत्मीयताले पनि आमा प्रधान रहेको कतिपय उपनिषदमा उल्लेख भएको बताउनु भयो । पौराणिककालीन ऋषि डावलका बारेमा उल्लेख गर्र्दै सत्य बोल्ने मानिस ब्राह्मणको वीर्यबाट जन्मेको हुनुपर्छ भन्ने शास्त्रीय मतलाई उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
उहाँले महाभारतको प्रसङ्ग उठाउँदै पाँच पाण्डवहरूका बाबुहरू फरक फरक रहेको भन्दै कुन्ती पुत्र कर्णका पिता सूर्य, युधिष्ठिरका पिता यम, अर्जुनका पिता इन्द्र, भीमका विता वायु तथा सहदेव र नहकुलका पिता अश्विनीकुमारहरू रहेको समेत उहाँले सप्रसङ्ग उल्लेख गर्नु भएको थियो ।
आजको आधुनिक युगमा पनि अन्तरजातीय विवाहले प्राथमिकता पाइरहेको हुँदा यो पनि मातृशक्तिको द्योतक हो प्राडा आचार्यले तर्क थियो । उहाँले आफ्नो बाल्यकालको स्मरण गर्दै खाली खुट्टा स्कूल गएको पहाडको केटो म, पछि महावाणिज्य दूत भएर अमेरिकी राष्ट्पतिसँग कुराकारी गर्ने हैसियत प्राप्त हुनु कल्पना बाहिरको कुरा थियो भन्नुभयो ।
उहाँले आफ्नो पिताजीको स्मरण गर्दै भन्नुभयो, ‘सानोमा विहान चार बजेनै उठाएर अमरकोषका श्लोकहरू पहिलो दिन एउटा दोस्रो दिन दुई तेस्रो दिन तीन गर्दै क्रमशः सक्न लगाई अन्तिम दिन फेरि पहिलोदेखि अन्तिम श्लोक कण्ठस्थ सुनाएपछि ओछ्यानबाट उठ्न दिनु भएको त्यही साधनाले आजको दिनमा आफ्नो व्यक्तित्व यो हैसियतमा पुग्न सकेको हुँदा आफ्नो छोराछोरीलाई बाबुआमाले विहान कतिबेला उठाउँछन् र के के सिकाउँछन् भन्नेमा उनका छोराछोरीको भविष्य र व्यक्तित्व निर्भर रहने बताउनु भएको थियो ।
उहाँले आफ्नो जेठी बुहारी अमेरिकी रहेको तर उनले ऐले पूर्वीय दर्शनका कुरा आफूसँग सिकिरहेको र त्यसका लागि हरेक हप्ता इमेलबाट एउटा एउटा प्रश्न सोधेर सिकिरहेको समेत जानकारी दिनुभयो । उनको एक प्रश्न ‘जीवनमा के महत्वपूर्ण छ ?’ भन्ने प्रश्नमा उत्तर दिने क्रममा स्वास्थ्य, सुरक्षा, शिक्षा र चरित्रलाई उच्च प्राथमिकता दिनु पर्ने सन्देश आफूले दिइरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले राजनीतिमा सत्यको बाटो लिने मानिस अकालमा मारिन सक्ने भन्दै इतिहास रहेको भन्दै महात्मा गान्धी, अब्राहम लिंकन, केनेडीले गल्ती नगरेको तर उनीहरूकै हत्या भयो भन्नुभयो । त्यसैले राजनीतिमा सत्यको बाटो लिन कठिन छ त्यसैले मैले परिवारका सदस्यलाईं त्यो बाटोमा नलाग्न सल्लाह दिएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली समाज अब विस्तारै वैदिक सनातन संस्कृतितर्फ उन्मुख हुँदै गएको आफूले अनुभूति गरेको उल्लेख गर्नु भयो र लेखकलाई राम्रो कृति प्रकाशन गरेर आफूलाई विमोचनको अवसर दिएकोमा धन्यवाद दिनुभयो ।
संस्कृतिविद प्राडा वीणा पौडेलले विमोचित कृतिको समीक्षा गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि आचार्य राष्ट्रका गौरव भएको बताउँदै केही समय भने पनि उहाँको समिपमा बस्ने अवसर जुटाएकोमा आयोजकलाई र कृतिकार अधिकारीलाई धन्यवाद दिनुभएको थियो । उहाँले सिद्धान्तमा समानताका कुरा गर्नु र व्यवहारमा त्यसलाई अपनाउनु कठिन हुने उदाहरण दिदै कृतिकार अधिकारीको परिचयमा आमाको नाम उल्लेख भए पनि श्रीमतीको नाम छुटेको स्मरण गराउँदै दर्शक दीर्घालाई स्तब्ध बनाउनु भएको थियो । उहाँले विमोचित कृति सानो छ तर यो अतिनै पोटिलो, भरिलो र खदिलो छ यस्तो गहन कृति लेखेर सार्वजनिक गरेकोमा कृतिकार बधाईमा पत्र हुनुहुन्छ भन्नुभयो ।
सोही कृतिको समीक्षाकै क्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक सोमनाथ घिमिरेले कृतिको उपादेयता धेरै छ यसलाई पाठकले आफ्नो बौद्धिक क्षमता अनुसार उपयोग गर्न सक्ने बताउनु भयो । उहाँले नारीशक्ति विशिष्ट, बौद्धिक, वीरता र समाज निर्माणमा योगदान गर्ने भएको कृतिले पुष्टि गरेको बताउँदै आध्यात्मिक अध्ययनको सीमा ज्यादै फराकिलो रहेको उदाहरण सहित जानकारी दिनु भयो । यो कृति सामान्य लेखपढ गरेका मानिसले पनि सहजढंगले पढ्न र बुझ्न सक्ने गरी लेख्नु लेखकको विशेषता रहेको भन्दै प्रशंसा गर्नुभएको थियोे ।
कार्यक्रमका विशेष अतिथि पूर्वराज्यमन्त्री गुरुङले ऐले पनि जनजाति तथा आफ्नो गुरुङ समाजमा महिलानै घरको मालिक हुने गरेको र यौटा बाख्रो बेच्नु पर्दा पनि उनको अनुमति बिना नबेच्ने प्रचलन रहेको सुनाउनु भयो । कृतिकार अधिकारी आफ्नो हरतरहको सहकर्मी, सहयात्री भएको उल्लेख गर्दै उहाँ अल्छी नभए पनि जाँगर नचलाउने व्यक्ति भएको रुपमा हुँदा १५– २० वर्ष अघि नै आउनु पर्ने यो कृति आउन ढिला हुने गएको हो भन्नुभयो । उहाँले अबका दिनमा भने लेखक अधिकारीका ६÷६ महिनामा लेखकका नयाँ नयाँ कृति पढ्न पाउइने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
तनहुँ र लमजुङ तथा लमजुङको पनि दुराडाँडा क्षेत्रका प्रबुद्ध एवम् विदुष, विदुषी व्यक्तित्वहरूको समुपस्थितिमा भएको विमोचन कार्यक्रममा शुभकामना दिने र कविता वाचन गर्नेको लामो पंक्ति थियो ।
कृतिकार अधिकारीले आफ्नो संक्षिप्त मन्तव्यमा विमोचित कृतिको लेखनदेखि आजका दिनसम्मका सहयोगी सबैलाई धन्यवाद दिनु भएको थियो । उहाँले एक दुई कुरा खड्केका छन् भन्दै उहाँले पूर्वराज्यमन्त्रीलाई संकेत गर्र्दै भन्नुभयो, ‘गुरुङ समाजबाट आजका दिनसम्म कुनै महिला किन सचिव बन्न सकेनन् ? बाख्रो बेच्दा पनि अनुमति लिन्छौं भनेर आजको जमानामा त्यो दायित्व पुरा हुन्छ ?’ भन्ने प्रश्न गर्नु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष एवम् वरिष्ठकवि विजयराज न्यौपानेको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष भाग्यशाली अधिकारीले स्वागत गर्नु भएको थियोे भने सञ्चालन साहित्यकर्मी प्रज्ञा अधिकारीले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८१ भाद्र ११, मंगलवार २१:०९ गते
हजुरको प्रतिक्रिया