पर्यटनको क्षेत्रमा नेपालको नाम सुन्ने बित्तिकै धेरैको मनमा सगरमाथाको अग्लो शिखर, हिमालका सेताम्मे चुचुरा, हरिया पहाड, कलकल बग्ने नदी, तालतलैया र मनमोहक प्राकृतिक दृश्यको तस्बिर उभिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल विश्वका पर्यटकका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । तर नेपालको पहिचान हिमाल, पहाड र प्राकृतिक दृश्यमा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, रहनसहन र आत्मीय आतिथ्य पनि उत्तिकै आकर्षक छन । प्रकृतिको सुन्दरताले नेपालमा आइपुगेका कतिपय पर्यटक नेपाली संस्कृतिको चाडपर्वमा रमाउँछन । उनीहरूका लागि नेपाल घुम्नु भनेको दृश्यावलोकन मात्र गर्नु नभएर फरक जीवनशैली, सांस्कृतिक परम्परा र मानवीय आत्मीयतालाई नजिकबाट अनुभूत गर्नु पनि हो ।
बडादशैं नेपालीहरूको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यो केवल धार्मिक आस्था र परम्पराको पर्व मात्र होइन, यो पारिवारिक पुनर्मिलन, आपसी सदभाव, प्रेम र आत्मीयता साटासाट गर्ने अनुपम अवसर पनि हो । बडादशैंको आगमनसँगै घर घरमा जमरा राखिन्छ, नौ दिनसम्म नवदुर्गा भवानीको विधिपूर्वक पूजा आराधना गरिन्छ । बडादशौं दिन विजया दशमीका दिन मान्यजनको हातबाट निधारमा रातो टीका र शिरमा पहेँलो जमरा लगाएर आशीर्वाद थापिन्छ । टाढा टाढा रहेका परिवारका सदस्य, आफन्तजन र इष्टमित्रबीच भेटघाट हुन्छ, खुसी र शुभकामना आदानप्रदान हुन्छ । ठूलाबाट सानालाई आशीर्वाद, सानाबाट ठूलालाई सम्मान र साथीभाइ बीच माया साटिने यिनै सुन्दर परम्पराले बडादशैंलाई नेपाली समाजको भावनात्मक र सांस्कृतिक जीवनसँग गहिरो गरी जोडेको छ । पछिल्ला वर्षहरूमा बडादशैंले बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गर्न थालेको छ । धेरै विदेशी पर्यटकहरू बडादशैंको बेला नेपालको मौलिक संस्कृति बुझ्न, चाडपर्वको प्रत्यक्ष अनुभव लिन खोज्दछन ।

निधारमा टल्किएको रातो टीका र शिरमा सजिएको पहेँलो जमराले पर्यटकहरूलाई नौलो र अविस्मरणीय अनुभव दिन्छ । यो केवल टीका मात्र होइन, यो नेपाली आतिथ्यता, माया र आशीर्वादको प्रतीक बन्छ । यही सांस्कृतिक महत्वलाई बुझेर आजभोलि दशैंको अवसरमा पर्यटकीय गाउँहरुमा स्वागत कार्यक्रम राख्ने र पर्यटकहरूलाई बडादशैंको टीका लगाइदिने चलन पनि बढदो छ । विशेष गरी अन्नपूर्ण पदमार्ग, पोखरा वरपरका होमस्टे, बन्दीपुर, घान्द्रूक, सिरुबारी र घलेगाउँ जस्ता पर्यटकीय गाउँहरूमा बडादशैंको समयमा धेरै पर्यटकहरूको चहलपहल हुन्छ । त्यहाँ उनीहरु स्थानीयसँगै बसेर दशैं मनाउँछन, नेपाली परिकारको स्वाद लिन्छन र हाम्रो संस्कृतिलाई नजिकबाट नियाल्छन । पर्यटकको निधारमा रातो टीका र पहेँलो जमरा सजिएको दृश्य सामान्य देखिए पनि त्यसको अर्थ गहिरो हुन्छ । पर्यटकको निधारमा रातो टीका र जमराले नेपाली संस्कृतिबीच आत्मीयता हुन्छ । आफ्नो देशमा प्रचलित नभएको परम्परालाई अर्को देशमा पुगेर बुझ्ने, त्यसको सम्मान गर्ने र सम्भव भएसम्म त्यसमा सहभागी हुने चाहना पर्यटकहरूको हुन्छ । बडादशैँमा पर्यटकले टीका लगाउनु नेपाली संस्कृति पूर्ण रुपमा आत्मसात गर्नु भन्ने होइन । तर त्यसप्रति देखाएको रुचि, सम्मान र सहभागिताले सांस्कृतिक आदानप्रदानको सुन्दर पक्ष हो ।
नेपालको सांस्कृतिक विविधता पर्यटनका लागि महत्वपूर्ण सम्पत्ति हो । यहाँका बडादशैँ, तिहार, होली, ल्होसार, इन्द्रजात्रा, छठलगायतका चाडपर्वले पर्यटकलाई सांस्कृतिक र धार्मिक परम्पराको अध्यन हुन्छ । अर्कोतर्फ विभिन्न समुदायका भाषा, भेषभूषा, खानपान, लोकगीत, नृत्य, कला र जीवनपद्धतिले पर्यटक रमाउछन । पर्यटकले नजिकबाट भाषा र सस्कृति बुझ्ने अवसर पाउँदा नेपालप्रतिको उनीहरूको अनुभव अझ समृद्ध हुन सक्छ । अर्कोतर्फ, पर्यटकको सांस्कृतिक सहभागिताले स्थानीय बासिन्दामा पनि आफ्नो परम्पराप्रति गर्व र अपनत्व बढाउन सक्छ । आफ्नो चाडपर्वमा पर्यटकहरूले चासो राखेको देख्दा स्थानीय समुदायलाई आफ्नो संस्कृतिको महत्व बारे गर्व हुन्छ । यसले सांस्कृतिक संवाद, पारस्परिक सम्मान र अन्तरदेशीय मित्रतालाई बलियो बनाउने अवसर प्रदान गर्छ । बडादशैँको टीकाले सबै भिन्नता मेटाउँदैन, तर त्यसले मानिसहरूबीच समझदारीको एउटा सानो ढोका खोल्न सक्छ । पर्यटनको सुन्दरता हिमालको उचाइमा मात्र होइन, संस्कृतिको गहिराइमा पनि छ । प्रकृतिले पर्यटकलाई नेपालसम्म डोर्याउँछ, संस्कृतिले उनीहरूको मनसँग सम्बन्ध गाँस्छ । त्यसैले पर्यटकको निधारमा सजिएको दशैँको टीकाले नेपाली संस्कृतिको खुलापन, आत्मीयता र विश्वसँग जोडिने चाहनाको जीवन्त प्रतीक बन्छ ।

नेपालमा बाह्य पर्यटकको आकर्षणको अर्को मुख्य कारण यहाँका चाडपर्व र सांस्कृतिक जात्राहरू हुन । नेपालमा वर्षैभरि मौलिक चाडपर्व मनाइन्छन । यहाँ १२ किसिमका धर्म मान्ने १४२ जाति छन । जसमध्ये १२५ जातिको आफ्नै भाषा छ । यही भाषा, संस्कृति, संस्कार र भेषभूषाले पर्यटकलाई लोभ्याउँछ । विशेष गरी यहाँको प्राकृतिक सौन्दर्य हेर्न आउने बाह्य पर्यटक मौलिक चाडपर्व, सांस्कृतिक जात्रा, लाखे नाच, रोपाइँजात्रा जस्ता उनीहरूका लागि नौला र कौतूहलतापूर्ण संस्कृतिप्रति बढी आकर्षित हुने गर्दछन । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा, गाईजात्रा, लाखेजात्रा, भक्तपुरको बिस्केट जात्रा जस्ता जात्राहरूमा रमाउने पर्यटकको संख्या हरेक वर्ष बढदो छ । रातो मुखुण्डो लगाएर नाच्ने लाखे, धिमे बाजाको तालमा नाच्ने पुचः र रोपाइँजात्रामा हास्यव्यंग्य गर्दै पुरुषले महिलाको भेष धारण गरेर गरिने प्रस्तुतिले पर्यटकहरूलाई नौलो अनुभव दिन्छ । पर्यटकहरू जात्राको नाचसँगै नाच्छन, बाजासँगै रमाउँछन र तस्वीर र भिडियोमा कैद गरेर आफ्नो देशमा नेपालको सस्कृति देखाउछन ।
अर्कोतर्फ नेपालीहरूको महान चाड दशैं र तिहारमा बाह्य पर्यटक दर्शक मात्र नभई सहभागी बन्न थालेका छन । बडादशैंमा ठूलाबडाको हातबाट टीका जमरा लगाउने, आशीर्वाद थाप्ने, पिङ खेल्ने र तिहारमा दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र मखमलीको माला लगाउने, देउसी भैलो खेल्ने चलनले उनीहरूलाई निकै भावुक बनाउँछ । धेरै पर्यटकले नेपाली महिलालाई दिदी बहिनीको पवित्र नाता लगाएर टीका लगाउने र नेपाली परिवारकै सदस्य जस्तै भएर आत्मीयता साटने गर्दछन । यसले पर्यटनलाई केवल घुमफिरमा सीमित नराखी सांस्कृतिक आदानप्रदान र मानवीय सम्बन्धमा रुपान्तरण गरेको छ । केही वर्षयता पर्यटकको रुचिमा अर्को परिवर्तन देखिएको छ । पर्यटकहरू असार १५ मा खेत रोप्ने, हिलोमा खेल्ने, दही चिउरा खाने जस्ता नेपाली ग्रामीण संस्कृतिमा पनि उत्तिकै रमाउन थालेका छन । खेतको हिलोलाई उनीहरूले माटो र श्रमसँगको सम्मानको रुपमा बुझन थालेका छन । सुट पाइन्ट लगाएर आएका पर्यटक हाफ पाइन्ट लगाएर हिलोमा पछारिँदै धान रोपेको दृश्यले नेपालको कृषि संस्कृति विश्वसामु अझ जीवन्त बनेको छ ।
पर्यटकहरूलाई जन्मदेखि मृत्युसम्मका अनौठा संस्कारले कौतूहलता हुन्छ । हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारहरू पर्यटकका लागि अनौठा लाग्छ । पशुपति आर्यघाटमा खुला रुपमा शव दाह गरेको दृश्य, मनाङ मुस्ताङतिर लामाको जोखाना अनुसार मृत शरीरलाई काटेर गिद्धलाई खुवाउने संस्कार मात्र नभएर जन्मदा कतै रुनु कतै खुसी हुनु, विवाहमा टाउको ठोकाउनेदेखि सिन्दुर साटासाट गर्ने, दाइजोमा चिउरीको रुखदेखि विषको कटौरासम्म दिने र मृतकको शव घरको भित्ता फोरेर निकाल्ने जस्ता मौलिक परम्पराले बाह्य पर्यटकलाई आश्चर्यचकित बनाउँछ । यही कौतूहलले उनीहरूलाई चाडपर्व केन्द्रित प्याकेजमै नेपाल आउन प्रेरित गरिरहेको छ । पर्यटकलाई नेपालमा सबैभन्दा आकर्षक लाग्ने भनेकै यहाँको मौलिक संस्कार र संस्कृति हो । बडादशैं, तिहारमा होटल र होमस्टेमा बसेका पाहुनालाई टीका माला र जमरा लगाइदिँदा उनीहरू पाहुना होइन, परिवारकै सदस्य बनेको महसुस गर्छन । सयपत्री माला र रातो टीकाका ती दृश्य उनीहरूको क्यामेरामा मात्र होइन, मनमा पनि कैद हुन्छ । एउटै गाउँमा बडादशैं, ल्होसार, क्रिसमस र ईद सँगै मनाएको देख्दा नेपालको धार्मिक सहिष्णुता नै विश्वका लागि एउटा सुन्दर उदाहरण बन्छ ।
नेपालको मनोरम प्राकृतिक सौन्दर्य र अनुपम सांस्कृतिक विविधताको अवलोकन गर्न प्रत्येक वर्ष हजारौं बाह्य पर्यटक नेपाल आउने गर्दछन । यहाँको प्राकृतिक सौन्दर्य सँगसँगै त्यस क्षेत्रमा विकसित मौलिक मानवीय चालचलन, संस्कार, भाषा, भेषभूषा र जीवन्त संस्कृतिमा पर्यटकहरू विशेष रुचिका साथ रमाउने गर्दछन । पर्यटकलाई आकर्षित गर्ने मुख्य आधारहरू नै भौगोलिक विविधता, सांस्कृतिक बहुलता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक पुरातात्विक सम्पदा, गगनचुम्बी हिमश्रृखला, महाभारत पहाड, तराईका उर्वर फाँटहरू, ताल तलैया, कलकल बग्ने नदीहरू, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जहरू हुन । पहाडी क्षेत्रको पदयात्रा, नदीमा गरिने रोमाञ्चक जलयात्रा र निकुञ्जमा गरिने जंगल सफारी त छँदैछन पछिल्लो समय बाह्य पर्यटक नेपालको मौलिक संस्कृतिको अध्ययन, अनुसन्धान गर्न नेपाल आउने क्रम बढदो छ ।

नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दीयौँ पुरानो छ । मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण गरेका समस्त सिर्जना र त्यस अनुरुपको जीवनशैली नै मानव संस्कृति हो । संस्कृति जीवनयापनको जीवित अभिव्यक्ति हो, जसले समुदायको सामूहिक पहिचान दिन्छ । तर आज भाषा लोप हुने, लोक साहित्य, लोक संगीत, लोक बाजा र कला हराउँदै जाने खतरा बढेको छ । जन्मोत्सवको ठाउँमा बर्थ(डे संस्कृति, पञ्चेबाजाको ठाउँमा व्यान्ड बाजाले विस्थापित गर्दैछ । युवा पुस्तामा मौलिक संस्कृतिप्रतिको मोह घटदो छ । यदि संस्कृति नै रहेन भने पर्यटकलाई के देखाउने ? तसर्थ पर्यटन प्रवद्र्धनका लागि प्रकृति र संस्कृतिको संरक्षणमा सरकारको नीति, निजी व्यवसायीबीच समन्वय, सहकार्य र मानसिकतामा परिवर्तन आवश्यक छ । प्राकृतिक सम्पदामा राज्यले खर्च गर्नु परेको छैन, तर अब तिनको संरक्षण गर्नुपर्छ । डाँडैपिच्छे भ्यूटावर र जथाभावी केबलकारको होड होइन, पर्यटनमैत्री वातावरण, आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसार आजको मुख्य आवश्यकता हो ।
नेपालमा सांस्कृतिक पर्यटनको लागि धेरै सम्भावना छ । विविध हावापानी, गाउँले जनजीवन, स्थानीय अर्गानिक खाना, सांस्कृतिक सम्पदा र संस्कारले आजभोलि धेरै बाह्य पर्यटक गाउँ पस्न थालेका छन । उनीहरू होमस्टेमा बस्ने, स्थानीय खानाको स्वाद लिने, पुर्खाले प्रयोग गरेका सामान र प्राचीन प्रविधि हेर्ने र भाषा संस्कृतिको अध्ययन समेत गर्न रुचि राख्दछन । यसका लागि पर्यटन पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकहरू पुग्ने गाउँसम्म भरपर्दो सडक, पदमार्ग, होमस्टे, होटल, सुरक्षा, सूचना, सञ्चार र आधारभूत स्वास्थ्य सेवाको पहुँच हुनु जरुरी छ । जबरजस्ती बनाइएका कच्ची सडकले गाउँको सौन्दर्य बिगारेका छन । त्यसैले अब सरकारले दीर्घकालीन योजना सहित प्राविधिक र वातावरणीय अनुकूल सडक बनाउने र घोरेटो बाटोको संरक्षण गरी ट्रेकिङ र हाइकिङको सुविधा दिनेतर्फ ध्यान दिनुपर्छ । साथै, गाउँको विशेष उत्पादनलाई कोशेलीको रुपमा लैजाने प्रबन्ध मिलाउन कोशेली घरको व्यवस्था गर्न सके स्थानीयको आम्दानी बढनुका साथै पर्यटक पुनः गाउँ फर्कने वातावरण बन्छ । पर्यटनको वास्तविक अर्थ पनि फराकिलो बन्छ । पर्यटन भनेको नयाँ ठाउँ पुग्नु, तस्बिर खिच्नु र प्राकृतिक दृश्य हेरेर फर्कनु मात्र होइन । आफूभन्दा फरक समाजका मानिससँग भेटनु, उनीहरूको जीवनशैली बुझनु, चाडपर्वको अर्थ जान्नु र स्थानीय अनुभवसँग जोडिनु पनि पर्यटनकै महत्वपूर्ण पक्ष हो । प्राकृतिक सौन्दर्यले यात्राको सुरुवात गराए पनि सांस्कृतिक अनुभवले पर्यटनको यात्रालाई विशेष र स्मरणीय बनाउन सक्छ ।
नेपालको पर्यटनलाई दिगो, समावेशी र विशिष्ट बनाउन प्रकृति र संस्कृतिलाई एकअर्काका परिपूरकका रुपमा अघि बढाउनुपर्छ । हिमाल, ताल, वनजङ्गल र प्राकृतिक दृश्य हाम्रो गौरव हुन भने भाषा, परम्परा, चाडपर्व र अतिथि सत्कार हाम्रो सांस्कृतिक परिचय हुन । यी दुवै पक्षको सन्तुलित प्रवद्र्धनबाट पर्यटकले नेपाललाई अझ गहिराइमा बुझ्ने अवसर पाउँछन । स्थानीय समुदायले पनि पर्यटनबाट आर्थिक लाभ लिनुका साथै आफ्नो मौलिक पहिचान संरक्षण गर्ने प्रेरणा पाउन सक्छन । बडादशैँमा पर्यटकको निधारमा सजिने विजयादशमीको टीका एउटा सुन्दर सांस्कृतिक विम्ब हो । त्यसले नेपालको पर्यटन हिमालको उचाइ र प्राकृतिक दृश्यको आकर्षणमा मात्र अडिएको छैन । यहाँको मौलिक संस्कृति मानिसको आत्मीयताको न्यानोपनमा पनि टिकेको छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ आश्विन २७, मंगलवार १३:३४ गते