भुगोलविद डा. हर्क गुरुङको समाधिस्थल पर्यटकीय गन्तव्य बन्दै

भुगोलविद डा. हर्क गुरुङको समाधिस्थल पर्यटकीय गन्तव्य बन्दै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १० गते बिहिबार ०८:५३

‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ निर्माणका लागि विस्तृत योजना अनुसार ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने छ भने कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको निर्माण लागत निस्को छ । सो प्रयोजनका लागि प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्क निर्माणको काम गरिसकेको छ ।

डा. हर्कलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

भूलभूले(लमजुङ)– लमजुङमा भूगोलविद् स्वर्गीय डाक्टर हर्क गुरुङको समाधिस्थललाई पर्यटकीय गन्तव्य बनाउने क्रम जारी रहेको छ । डा. हर्कको १३ औं स्मृति दिवसमा मर्स्याङदी गाउँपालिका– ७, ताङ्लीचोकमा आयोजित कार्यक्रममा गाउँपालिकाले यो स्थललाई पर्यटकीय गन्तव्य बनाउने कार्य जारी रहेको असोज ७ गते बताएको हो ।
डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले ताङ्लीचोकलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले योजनाबद्ध रुपमा अघि बढेको जानकारी दिनु भयो । उहाँले भने ‘भूगोलविद् डा. हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गरिनु पर्ने आफूहरूको माग रहेको छ तर सरकारले अझै पनि यो मागलाई सुनेको छैन ।’ सो प्रयोजनका लागि आफूहरूले अब दबाब बढाउने भएको उल्लेख गर्नु भयो । डा. हर्क गुरुङको जन्मस्थललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न मर्स्याङदी गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।
राष्ट्रको लागि योगदान पुर्याएका डा. हर्क गुरुङलाई राज्यले कुनै वास्ता नगरेको भन्दै स्थानीयले गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग राख्दै आएका छन् । नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नु पर्नेमा सहभागीहंको जोड थियो ।
बहुमुखी प्रतिभाका धनी डा. हर्क गुरुङ राष्ट्रवादी व्यक्तित्वको रुपमा चिनाएको डा. हर्कको स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् सो वडाका अध्यक्ष समेत रहेका तिलबहादुर गुरुङ (तेजु)ले बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ बाट प्रतिष्ठान स्थापना गरेर पार्कको काम सुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरू निर्माण गरिएका छन् ।’
‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ निर्माणका लागि विस्तृत योजना निर्माण गरिएको छ । जस अनुसार यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको निर्माण लागत निस्को छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्कको काम गरिसकेको छ ।’ डा. हर्क गुरुङको अध्ययन केन्द्रको रुपमा विभिन्न संरचनाहरू निर्माण गर्ने योजना रहे पनि बजेट अभाव रहेको छ उहाँले उल्लेख गर्नुभयो ।
डा. हर्क उत्तरी लमजुङको तत्कालिन बाहुनडाँडा गाविस– २, नाइँचेस्थित मामाघरमा विक्रम संवत १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखवाट ठूल्कान्छा छोराको रुपमा जन्मिएका थिए ।
विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परि २०६३ साल असोज ७ गते उनको निधन भएको थियो । त्यतिवेला डाक्टर हर्क गुरुङ, वातावरणविद् डाक्टर चन्द्रप्रसाद गुरुङ सहित २४ जना देशविदेशका विज्ञहरूको मृत्यु भएको थियो ।
उपाध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मर्स्याङदी गाउँपालिका– ७ का पूर्ववडा अध्यक्ष युवा घले, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू, सहआयोजक मनास्लु तमु आमा समाज ताङ्लीचोक र महेन्द्रदेव मावि तराञ्चे परिवार साथै उपस्थितले डा. हर्क गुरुङप्रति सम्मान अर्पण गरेका थिए गाउँपालिका अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ आश्विन १०, बिहीबार ०८:५३ गते
हजुरको प्रतिक्रिया