राष्ट्रिय स्वतन्त्र पार्टीलाई मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन उदघाटनको औपचारिक कार्यक्रममा पनि पर्घेलियो

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १८ गते शुक्रबार १०:३०

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सल्लाहकार परिषदका ंसंयोजक पहाडीले अबका दिनमा यस्ता अपमानजनक व्यवहार सैह्य नहुने र त्यस्तो कार्यको नेतृत्व गर्नु पर्ने भयो भने पनि आफू पछि नपर्ने प्रतिवद्धता समेत पहाडीले गर्नु भएकोछ ।

राजनीतिक दल सहभागी रहने औपचारिक हरेक कार्यक्रममा आफ्नो पार्टीलाई बेवास्ता गरेमा प्रतिकारमा उत्रनका लागि जिल्ला सल्लाहकार परिषदका संयोजक पहाडीद्वारा आह्वान

भोर्लेटार(लमजुङ)– संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मध्यनेपाल नगरपालिकामा आयोजित औपचारिक कार्यक्रममा दोस्रो पटक पर्घेल्ने काम भएको छ । सो नगरपालिकाको नवनिर्मित भवनको उदघाटन कार्यक्रममा असोज १८ गते दोस्रो पटक पर्घेल्ने काम भएको हो ।
यसअघि भोर्लेटार खानेपानी सरसफाई तथा उपभोक्ता समितिको केही दिन अघि गरिएको अधिवेशनका अवसरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पर्घेल्ने काम गरिएको थियो ।
मध्यनेपाल नगरपालिकाको कार्यालय रहेको वडानं– ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको समिति समेत गठन गरिएको छ । त्यसको जानकारी हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पर्घेल्ने काम भएको स्थानीय नेताहरूले बताएका छन् । खानेपानी सरसफाई तथा उपभोक्ता समितिको अधिवेशनमा उक्त वडामा रहेका काँग्रेस, एमालेका अतिरिक्त माओवादी र राप्रपालाई समेत निमन्त्रणा गरिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा आमन्त्रण गरिएको थिएन ।
आजको नगरपालिकाको नवनिर्मित भवनको उदघाटन कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी निमन्त्रण नगरिएको स्थानीय तथा जिल्ला नेताहरूले बताएका छन् ।

उक्त कार्यक्रम नगरपालिकाको भलन उदघाटनको गैरापार्टीगत भएता पनि घरी घरी नेपाली काँग्रेस पार्र्टीको कार्यक्रम जस्तो प्रतीत हुने गरि सञ्चालन गरिएको प्रत्यक्षदर्शीले बताए ।

प्रतिकारमा उत्रन आह्वान :
आजको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी समेत सहभागी हुनुहुन्थ्यो । उहाँलाई पत्रकारकै पंक्तिमा थन्क्याउने काम गरिएको थियो । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि को हो ? भनेर सोध्ने कामसम्म पनि नगरिएको पहाडीले बताउनु भएको छ । त्यतिमात्र हैन सो भवन उदघाटनको औपचारिक कार्यक्रम सम्पन्न भएपछि सो नगरपालिकाका मेयर एवम् उदघाटन कार्यक्रममा सभापति रमेशकुमार पाण्डेसँग राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन नसम्झनु भएको हो भन्ने जिज्ञासा राख्दा समेत पाण्डेले कुनै प्रतिक्रिया नदिएको पहाडीले बताउनु भएको छ ।
वरिष्ठ पत्रकार नवराज पहाडीले जिल्ला सदरमुकाम तिर अड्को पड्कोमा पार्टीको प्रतिनिधिको रुपमा काम गर्ने गरेको विगत साक्षी रहेको उल्लेख गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय रुपमा पनि राष्ट्रिय पार्टीको मान्यता पाएर चौथो बरियातामा छ भने जिल्लागत रुपमा समेत आफ्नो पार्टीले तेस्रो पार्टीको रुपमा मत प्राप्त गरेको विगत र आफ्नो पदीय दायित्व सम्झदै पहाडीले अबका दिनमा पत्रकारका रुपमा भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सल्लाहकार परिषदका संयोजकका रुपमा बढी समय खर्चिने योजनका साथ अघि बढेको जानकारी दिनु भएको छ । उहाँले अबका दिनमा यस्ता अपमानजनक व्यवहार सैह्य नहुने र राजनीतिक दल सहभागी रहने औपचारिक हरेक कार्यक्रममा आफ्नो पार्टीलाई बेवास्ता गरेमा प्रतिकारमा उत्रनका लागि जिल्लाभरका साथीहरूलाई आह्वान गर्नु भएको छ । पहाडीले त्यस्तो कार्यको नेतृत्व गर्नु पर्ने भयो भने पनि आफू पछि नपर्ने प्रतिवद्धता समेत पहाडीले गर्नु भएकोछ ।

प्रकाशित मिति २०८१ आश्विन १८, शुक्रबार २२:३० गते
हजुरको प्रतिक्रिया