संघीयता बारेमा सत्तासिन दलहरूको नेतृत्व प्रष्ट हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

संघीयता बारेमा सत्तासिन दलहरूको नेतृत्व प्रष्ट हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २० गते आईतबार ०९:०३

उहाँले भन्नुभयो, ‘हिजो प्रजातन्त्र ल्याउन कुनै भूमिका नभएका, आजको नेपाल बनाउन कुनै योगदान नगरेकाहरूले आज स्पेश खोजिरहेका छन् । यो देशमा केही भएन हुँदैन भन्ने पनि डंका पिटिदै छ जो सत्य होइन ।’

कृषि र पर्यटनको माध्यमबाट तत्कालका लागि बेरोजगार हटाउन र बसाई सराई रोक्ने प्रयास प्रदेश सरकार

भोर्लेटार(लमजुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता बारेमा सत्तासिन दलको नेतृत्व प्रष्ट हुनुपर्ने बताएका छन । लमजुङको मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवनको भोर्लेटारमा उदघाटन गर्दै असोज १८ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले हामी संघीयता लागू गर्न तयार छौं कि छैनौं ? ऐलेको नेतृत्वले त्यसको प्रष्ट भिजन तथा धारणा अघि ल्याउनु पर्छ । संविधानमा प्रदेश र स्थानीय तहको अधिकार दिनु पर्छ भनेर लेखिएझैं अधिकारलाई कानुन बनाएर प्रयोग गर्न दिने कि नदिने ? काँग्रेस– एमालेका केन्द्रीय नेताहरू प्रष्ट हुनुपर्छ । प्रदेशको सरकार, स्थानीय तहको सरकारलाई अधिकार नदिने हो भने संघीयता प्रति उठेको प्रश्न झन् जटिल हुन सक्छ । हाम्रो डेलिभरीलाई प्रष्टसँग जनताका सामु पु¥याउन नसक्दा आज प्रश्न उठेको हो भन्दै उहाँले त्यसको जवाफ हामीले कामबाट दिन सक्नु पर्छ भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय समितिको सदस्य समेत रहनु भएका उहाँले गर्वका साथ भन्नुभयो, ‘यो संविधान हामीले बनाएको हो । दोस्रो संविधान सभामा काँग्रेसले नेतृत्व ग¥यो र एमाले सहितका संविधानसभामा रहेका दलको योगदानबाट संविधान बनेको हो, पहिलो संविधानसभामा काँग्रेसको नेतृत्व थिएन । त्यसैले संविधान हामीले लेखेको, बनाएको हुँदा हामीले दिएको अधिकार खोसिने छैन उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । तर संविधान प्रदत्त अधिकार खोसिदैछ भन्ने हल्ला र भ्रम पनि फैलाइदै छ, त्यसमा कुनै सत्यता छैन । यो संविधानको उत्कृष्ठताबाट पछि हट्ने भन्ने चाहेर पनि कसैले सक्दैन, संघीयताको मूल मर्म समावेसिता, समानुपातिक पद्दति आदिलाई परिवर्तन गर्न सकिन्छ तर खोसिदैन, खोस्न सकिदैन उहाँले दृढताका साथ उल्लेख गर्नु भयो । संविधान जारी हुँदाका दिन जलाउनेहरू, कालो दिन भन्नेहरूले शिर उठाउन नपाउने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
हिजो कुनै भूमिका नभएकाहरू स्पेश खोज्दैछन् :
उहाँले भन्नुभयो, ‘हिजो प्रजातन्त्र ल्याउन कुनै भूमिका नभएका, आजको नेपाल बनाउन कुनै योगदान नगरेकाहरूले आज स्पेश खोजिरहेका छन् । यो देशमा केही भएन हुँदैन भन्ने पनि डंका पिटिदै छ जो सत्य होइन ।’ देशमा केही भएन, हुँदैन भन्दै निरासावादी कुरा गर्नेहरूको भनाइप्रति टिप्पणी गर्दै उहाँले ०४८ साल अघि र आजको लमजुङको तुलना गरेर हेर्न आग्रह गर्दै त्यो बेलाको यातायात, सञ्चार, स्वास्थ्य स्थिति र आजको स्थितिमा फरकको मूल्यांकन गर्न आग्रह गर्नुभयो ।
उहाँले सहकारीका अपचलनका ठूला घट्ना सतहमा आएका छन् । ‘रविलाई फसाउँ वा धनराज बचाउँ’ हामी भन्दैनौं, दोषि भएमा जो पनि जेल जानु पर्छ, चाहे त्यो जो सुकै होस्, हिजो पाटोसर्ट(रातो), नागरिकता काण्डको भ्रमबाट उन्मुक्ति पाएकोजस्तो छुट अब हुँदैन ।’ यसमा कुनै प्रकारको कम्प्रोमाइज हुँदैन, यस कार्यमा पनि संघ सरकारको मूल्यांकन जनस्तरबाट हुने भएको छ । प्रदेश सरकार कानुन लागू गर्नु पर्छ भन्नेमा प्रतिवद्ध छ उहाँले भन्नुभयो ।
बसाई सराईको समस्या चर्को :
गण्डकी प्रदेशमा बसाई सराईको समस्या चर्को छ भन्दै त्यसो त प्रदेशमा भौगोलिक, जातीय, सांस्कृतिक विविधता छ र त्यसलाई बचाउने बर्तमानको चनौति छ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । त्यसका लागि कृषि र पर्यटनको माध्यमबाट तत्कालका लागि बेरोजगार हटाउन र बसाई सराई रोक्ने प्रयास प्रदेश सरकारले गरेको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याई ५० करोड रकम गत आवमा विनियोजन गरेकोमा आधा रकम पनि खर्च भएन ।’ यसलाई सामुहिक रुपमा व्यवसायिक ढंगबाट गर्नु पर्छ भनेर समूह वा सहकारीमार्फत ती कार्यक्रम ल्याएको उल्लेख गर्दै विगतमा एक मुष्ट रकम अनुदान दिने तर परिणामको ख्याल नगर्ने बानी थियो, हामीले त्यसलाई चिर्ने प्रयास गरेका छौं उहाँले बताउनु भयो । यदि तपाई कृषिको कुनै काम गर्नु हुन्छ भने उत्पादनको आधारमा आधा खर्च सरकारले बेहोर गर्छ, बजारी करणको कुनै समस्या छैन तर सरकारले एक एक किलो वा एउटा खसी बोका लिन घरघरमा जान सक्दैन, त्यसैले समूहमा उत्पादन गरेको वस्तुको बजारको सुनिश्चित प्रदेश सरकारले गरेको छ गर्छ उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गण्डकीको मुहार फेर्ने कृषि र पर्यटन नै हो भन्नेमा जोड दिनुभयो । उहाँले हाल प्राप्त परिवर्तनको पक्षमा सोच्न जरुरी छ, हल्लाको पछि नलागौं भन्ने आह्वान गर्नु भयो ।
सोही निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले कर्तव्यनिष्ट भएर इमान्दरीतापूर्वक गरिने कामले नै समाज समृद्ध बनाउने हुँदा हामी सबैले आ–आफ्नो ठाउँबाट इमान्दार प्रयास गरौं देश बन्न समय लाग्ने छैन भन्नुभयो ।
उक्त अवसरमा गण्डकी प्रदेश सभाका सदस्य पार्वती तामाङ, छिमेकी पालिकाहरू लमजुङका अतिरिक्त कास्की, तनहूँ समेतका मेयर तथा अध्यक्षहरू, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि(राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने उपेक्षा गरिएको थियो, मञ्चमा आसन ग्रहण र मन्तव्य दिन बोलाइएन ।)हरूले शुभकामना मन्तव्य राखेका थिए ।
नगरपालिका भित्रका सांस्कृतिक प्रस्तुति :
सोही नगरपलिकाका मेयर रमेशकुमार पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले आफ्नो पालिकालाई मूलतः धार्मिक एवम् पर्यटकीय नगर बनाउन र मध्यनेपालका साथै ईशानेश्वर महादेवको यो भूमिलाई देवघाट– मुक्तिनाथ धार्मिक पदयात्रामा समेट्नु पर्नेमा जोड दिनु भयो । उहाँले पालिकामा आफूले गरेका सकारात्मक कामको पनि सञ्चारमाध्यममा ल्याइदिन आग्रह गर्दै विग्रिको चर्दी पुलको मात्र भिडियो किन बनाउनु हुन्छ ? त्यही आडमा रहेको मंगला माविका नगरपालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षाका बारेमा कहिल्यै लेख्नु भयो ? भन्ने प्रश्न गर्दै पत्रकारहरूको ध्यानाकर्षण गर्नु भएको थियो ।
सो कार्यक्रममा मध्यनेपालमा पाइने सांस्कृतिक झलकहरू नेवा खलःको लाखे, ठाडोभाकाका सर्जक देउबहादुर दुराका नाति यमबहादुर दुरा(ध्वाँसे) र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य राधा भण्डारी बीच ठाडोभाका, दुई पिप्लेको झाँक्री नाचसहितका विभिन्न नृत्यका साथै तेक्वान्दो समेतको प्रस्तुति रहेको कार्यक्रम झण्डै छ घण्टासम्म चलेको थियो ।
सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले स्वागत मन्तव्य राख्दै उक्त भवन निर्माणका लागि चार करोड, नौ लाख ८१ हजार ९७६ रुपैयाँ खर्च भएको जानकारी दिनु भएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन २०, आईतवार ०९:०३ गते
हजुरको प्रतिक्रिया