काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले नेपालका राजनीतिक दलमार्फत राहत सामग्री हस्तान्तरण गरेको विषयले यतिबेला विशेष चर्चा पाएको छ । बाढीपीडितहरूका लागि सरकारमार्फत राहत वितरण हुनुपर्नेमा सो नभएर दलमार्फत राहत सामग्री बाँडिएको विषयले बाहिरिएपछि असोज २२ गते आलोचना खेप्नु परेको हो ।
सामाजिक सञ्जालमा दलहरू राहतका लागि हतारिएको भन्दै टीकाटिप्पणी भइरहेको छ ।
चिनियाँ दूतावासले पनि सामाजिक सञ्जालमार्फत नै सो जानकारी दिएको हो । राजनीतिक दलमार्फत राहत सामग्री वितरण गरिएको उल्लेख गर्दै दूतावासले भनेको छ, ‘चिनियाँ कम्युनिष्ट पार्टीले दिएको बाढी राहत सामग्री हस्तान्तरण समारोह आज काठमाडौंमा सम्पन्न भएको छ । हालै आएको बाढी र पहिरोबाट प्रभावित घरपरिवारलाई १९ करोड ७० हजार नेपाली रुपैयाँ बराबरको चामल, कम्बल, खाद्यान्न प्याकेज र दैनिक उपभोग्य लगायतका राहत सामग्री नेपाली राजनीतिक दलहरूमार्फत वितरण गरिएको छ ।’
सीसीपीले बाढीपीडितहरूका लागि एक करोड ९० लाख ७० हजार रुपैयाँको बराबरको चेक हस्तान्तरण गरेको हो । राहत सामग्री असोज १८ गते हस्तान्तरण गरिएको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, नेकपा (एमाले)का गोपाल खनाल, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव रामकुमार भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो ।
राज्यबाट नदिएर भूमिका नै नभएको ठाउँमा जान दलहरू हतारिएका हुन् त ? साक्षी बसेकामध्ये एक नेता भने आफूहरूलाई किन बोलाइयो भन्ने प्रश्न खडा भएको स्वीकार गर्छन् । ती नेताले भने, ‘किन बोलाइयो भन्ने हामीलाई नै लागेको हो । अन्योल भएर हामी त गएर फर्कियौँ । राहत के भयो हामीलाई थाहा छैन । किन बोलाइयो भनेर बोल्न पनि मिलेन ।’
सो दिन काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दलका नेताहरूलाई राखेर सो कार्य गरेको थियो ।
राहत सामग्री बुझेका नेताहरूले भने आफूहरू साक्षी मात्रै बसेको दाबी गर्दै राहत वितरण गरिने घर वडा अध्यक्षले नै निर्णय गर्ने उनीहरूको भनाइ छ । ‘हामी दलका साक्षी हौँ । एकीकृत समाजवादीका कार्यालय सचिव समेत रहेका भट्टराई भन्नुभयो, ‘राहत सामग्री करिब १२ सय घरमा पु¥याउने भनिएको छ । १२ सय घरधुरी वडा अध्यक्षमार्फत छानिएर जान्छन् । ललितपुर र काठमाडौंका पीडितलाई वितरण गरिन्छ ।’
यसैगरी, माओवादीका पोलिटब्युरो सदस्य सुवेदी राजनीतिक दललाई दिएर त्यहाँबाट बाँड्ने भन्ने भ्रम नपार्न आग्रह गर्दै भन्नुभयो, ‘राजनीतिक पार्टीलाई दिएर बाँड्ने भन्ने पहिलेको जस्तो भ्रम नपरोस् । हामी साक्षी बसेका हौँ । संस्थामार्फत राहत वितरण हुन्छ ।’
प्रकाशित मिति २०८१ आश्विन २२, मंगलवार १९:४८ गते