तातोपानीको महत्व बुझाउन र प्रचारप्रसार गर्न महोत्सव सञ्चालन

तातोपानीको महत्व बुझाउन र प्रचारप्रसार गर्न महोत्सव सञ्चालन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ३० गते शुक्रबार ०८:३३

एक हजार २५० मिटरको उचाईमा रहेको उक्त तातोपानी कुण्ड अन्नपूर्ण चक्रिय पदमार्ग तथा बेसीशहर– चामे सडक खण्डको जगत बजार नजिक मर्स्याङदी नदी किनारमा १० मिनेटको पैदल दुरीमा पर्दछ ।

‘म आधा घण्टा जति तातोपानीमा डुबेर बसे, यसले स्टिमवाथ थेरापीको काम गर्ने रहेछ जस्तो अनुभूति भयो ।’ पत्रकार सुधा ढकालले बताउनु भयोे ।

जगत(लमजुङ)– लमजुङमा सञ्चालित भएको पाँच दिवसीय मर्स्याङदी महोत्सवको तेस्रो दिन तातोपानी महोत्सव गरिएको छ । देश विदेशमा तातोपानी कुण्डको महत्व बुझाउन र प्रचारप्रसार गर्न तेस्रो दिन तातोपानी महोत्सव कार्तिक २९ गते सञ्चालन गरिएको हो ।
मर्स्याङदी गाउँपालिकाको आयोजनामा भएको मर्स्याङदी महोत्सवका अवसरमा पालिका भित्रका महत्वपूर्ण स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको हो । त्यसैमध्येको एक दिने तातोपानी महोत्सव, मर्स्याङदी गाउँपालिका– ४ को जगतमा तेस्रो दिन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महोत्सवको उदघाटन गर्नु भएको हो । उहाँले तातोपानी कुण्ड गाउँपालिकाका लागि प्रकृतिको बरदान भएको बताउनु भयो । उहाँले यसको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सके यो क्षेत्रमा समृद्धिको ढोका खुल्ने उल्लेख गर्नु भयो । मर्स्याङदी महोत्सवको उद्देश्य गाउँपालिका भित्रका सम्भाव्य स्थलहरूको पहिचान गरी तिनको प्रचार प्रसार गरी देशविदेशमा चिनाउने र पर्यटकहरूलाई आकर्षण गर्ने रहेको उहाँको भनाइ छ । अध्यक्ष गुरुङले अन्नपूर्ण चक्रिय पदमार्गमा रहेको तातोपानीको प्रचार प्रसार भई पर्यटकीय गन्तव्य बनाउन सक्दा यसले यस रुट र आसपासको क्षेत्रमा आर्थिक गतिविधि बढाई समृद्धिको मार्ग प्रशस्त गर्ने हुन्छ भन्ने विश्वास गरेको जानकारी दिनुभयो ।
उहाँले यो तातोपानी कुण्डको प्रचारप्रसार र थप व्यवस्थित गर्नका लागि हामी सबैसँग हातेमालो गर्न तयार छौं, यस कार्यमा प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गर्ने छौं उहाँकाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसको लागि तातोपानी कुण्डको बिस्तृत योजना बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ, निकट भविष्यमै हामी त्यो काम गर्ने छौं ।’ यसको प्रचारप्रसार भई पर्यटकको चाप बढेका जिल्ला सदरमुकामदेखि नै आर्थिक गतिविधि बढ्ने र चलायमान हुने हुन्छ गाउँपालिकाका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
सम्ुद्र सतहदेखि एक हजार २५० मिटरको उचाईमा रहेको उक्त तातोपानी कुण्ड अन्नपूर्ण चक्रिय पदमार्ग तथा बेसीशहर– चामे सडक खण्डको जगत बजार नजिक मर्स्याङदी नदी किनारमा पर्दछ । जगत बजारबाट १० मिनेटको पैदल दुरीमा रहेको स्थानीयबासी एवम् लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले बताउनु भयो । उहाँका अनुसार यो ठाउँमा आएर विदेशी पर्यटकहरू सात दिनसम्म बसेर नुहाउने काम गरेका छन् । उहाँले भन्नुभयो, ‘दुई वर्ष अघिबाट यसलाई व्यवस्थित गरी तातोपानीलाई व्यवसायिक बनाउन थालिएको हो ।’
सुरुका दुई वर्ष प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरेकोमा गएको बडादशैंंदेखि शुल्क बढाएर एक सय रुपैयाँ बनाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो शुल्कको समय निर्धारण छैन, कुनै व्यक्तिले दिनभर कुण्डमै बस्छु भने पनि पाउँछ । उहाँले भन्नुभयो, ‘पर्यटकीय आकर्षण तथा नुहाउने व्यवस्थापनका लागि ठूला साना गरी सात वटा कुण्ड(पोखरी) निर्माण गरिएको छ ।’ सबैभन्दा ठूलोमा ३० जना, मझौला खालतका दुई वटामा २०/२० जना र साना चारवटामा ४/५ जनाका दरले एक पटकमा नुहाउन सक्ने गरी तयार गरिएको छ महोत्सवको व्यवस्थापन पक्ष हेर्ने खुशीराम गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार महोत्सवका अवसरमा भने उहाँ आउने पाहुनाहरुका लागि निःशुल्क नुहाउने प्रवन्ध गरिएको थियो । महोत्सवको अवसरमा आज मात्र एक सयभन्दा बढीले नुहाएको अनुमान छ उहाँले जानकारी दिनुभयो ।
तातोपानी नुहाउनेको सबैभन्दा बढी भिड कार्तिक महिना र चैत महिनामा लाग्ने उहाँको अनुभव छ । त्यसमा पनि शनिबार र मंगलबारका दिनमा नुहाउनेहरूको भिड बढी लाग्ने गर्दछ । सो तातोपानी कुण्डमा नुहाएपछि बाथको रोगका साथै छाला सम्बन्धि रोगहरू एलर्जी, चाया, पोतो, चिलाउने रोग आदि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘तातोपानीको मुहानको तापक्रम ५८ डिग्री रहेको छ ।’
तातोपानी मुलको मुहानबाट नुहाउने पोखरीसम्म आउँदा २, ३ डिग्री कम हुन्छ, नुहाउनका लागि ३५ डिग्रीदेखि ४५ डिग्रीसम्म तापक्रम राख्ने गरिएको गुरुङले भने ।
तातोपानीले नुहाउने टाउँमा प्रायः ४० डिग्री तापक्रममा राख्ने गरिन्छ तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले बताए । उनका अनुसार कोही त १० मिनेटमै रिंगटा लाग्यो भनेर निस्कन्छन् भने कोही एक घण्टासम्म पनि बस्छन् । हामी समितिले एक सय रुपैयाँ तिरेपछि यतिनै समयमा नुहाएर सक्नु पर्छ भन्ने नियम बनाएका छैनौं, कोही दिनभर बस्छु भन्यो भनेपनि पाउँछ तर आधा घण्टा भन्दा धरैबेर बस्नेहरूलाई चक्कर आउन खोज्छ अनि निस्कन्छन् ।
तातोपानीमा डुबेर निस्केपछि शरिर हल्का चंगा भएर फूर्ति बढेको जस्तो भयो तातोपानी महोत्सवमा समाचार संकलनका लागि पुगेकी पत्रकार सुधा ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘म आधा घण्टा जति तातोपानीमा डुबेर बसे, यसले स्टिमवाथ थेरापीको काम गर्ने रहेछ जस्तो अनुभूति भयो ।’
तातोपानीले नुहाउने ठाउँमा महिला पुरुषका लागि कपडा फेर्नका लागि छुट्टाछुट्टै कोठा बनाइएको छ ।
तातोपानी महोत्सवको व्यवस्थापकीय पाटोको प्रवन्ध लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङको नेतृत्वको टोलीले गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष भरतकुमार श्रेष्ठ, पूर्वअध्यक्ष रामकुमार श्रेष्ठ लगायत २६ जनाको टोली महोत्सवमा आएको थियो ।’
महोत्सवको उदघाटन सत्रको अध्यक्षता तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले, स्वागत सचिव बलबहादुर गुरुङले र सञ्चालन सदस्य आशीष गुरुङले गर्नु भएको थियो । उहाँले भन्नुभयो ‘कार्यक्रमको बीचबीचमा स्थानीय नृत्य तथा सांगीतिक प्रस्तुति रहेको थियो ।’
जगत स्थित उक्त तातोपानी कुण्ड लमजुङको सदरमुकाम बेसीशहर तथा मनाङको सदरमुकाम चामे जाने सडक खण्डको जगतसम्मको २७ किमिको दुरीमा रहेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार २०:३३ गते
हजुरको प्रतिक्रिया