काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ । रास्वपाका सभापति रविप्रति प्रहरीले दुर्व्यवहार गरी डायरी समेत खोसेको खुलासा भएपछि आयोगले प्रहरीलाई त्यस्तो निर्देशन मंसिर २४ गते दिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगप्रवक्ता डा. टीकाराम पोखरेलले पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको बताउनु भएको छ । आयोगमा प्रहरी अधिकारीहरूसँग छलफल पछि प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै त्यस्तो खुलासा गर्नु भएको हो । सो विज्ञप्तिमा भनिएको छ, ‘कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको छ ।’
रास्वपाकाद्वारा प्रहरी हिरासतमा रहनु भएका आफ्ना सभापति रविउपर अमानवीय व्यवहार गरी प्रहरीले मानवअधिकार हनन् गरेको भन्दै आयोगमा उजुरी दिइएको थियो । मंसिर १९ गते चितवनबाट रविलाई प्रहरीले झ्यांगलझुंगल गर्दै रातबेरात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरेको भनिएको थियो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको बताउनु भएको छ । सो विज्ञप्तिमा भनिएको छ, ‘सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानवअधिकार हनन् गरिएकोले छानबिन गरी मानवअधिकार संरक्षण गरी पाऊँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ ।’
यस विषयमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक (आईजीपी)सँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई जारी राखेको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो । सो सम्बन्धमा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानवअधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरिनुपर्नेमा आफूहरूको चासो रहेको बताउनु भयो ।
प्रहरी प्रमुख (आईजी) कुँवरलाई सोधपुछका लागि आयोगद्वारा पुनः बोलाहट :
यसैबीच, सोही सन्दर्भमा प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइएकोमा उहाँ आयोगमा उपस्थित हुनु भएन ।
रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए तापनि कुँवर उपस्थित नभएको कुँवर आफू उपस्थित हुनु भएन आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताउनु भयो । कुँवरले आफ्नो सट्टामा अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाउनु भएको थियो ।
प्रहरी प्रमुख कुँवर उपस्थित नभएपछि यस विषयमा कुँवरसँग थप बुझिने पनि प्रवक्ता पोखरेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयोगले उच्च प्रहरी अधिकारीहरूलाई आयोगमै बोलाएर बन्दीका रुपमा लामिछानेले पाउने न्युनतम मानव अधिकार दिन निर्देशन दिएको छ ।’
प्रहरीसँग आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न भन्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहनु भएका रविलाई मध्यरातमा त्यहाँबाट पोखरा लगिएको, उहाँको डायरी समेत गायब पारिएको र मानव हधिकार उल्लंघन गरिएको भन्दै उनकी श्रीमती निकिता पौडेल र पार्टीद्वारा आयोगमा उजुरी हालिएको थियो ।
उक्त उजुरीमा आईजी कुँवरकै आदेशमा चितवन प्रहरीले काम गरेको आरोप लगाइएको छ ।
पञ्चायतकाल भन्दा हालको लोकतान्त्रिक गणतन्त्र क्रुर हो ?
नेपालमा २०१७ सालमा कु गरी प्रजातन्त्रको हत्या गरिएपछि २०१९ सालबाट एकदलीय निरंकुश पञ्चायत व्यवस्था लादिएको थियो । त्यो विरोधको नायकका रुपमा उत्रनु भएको थियो, मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपि) कोइराला । उहाँलाई पञ्चायतकालमा भद्रगोल जेलमा राखिएको थियो । त्यही बसेर विपिले चार– पाँच वटा कृति लेख्नु भयो र साहित्यकारका रुपमा समेत स्थापित हुनु भएको थियो । त्यो बेलामा विपिले दैनिक डायरी समेत लेख्ने गर्नु भएको समेत प्रकाशनमा आएको छ । तर यतिबेला रास्वपाका सभापति रविले निजी प्रयोगमा उपयोग गर्नु भएको ‘डायरी’ प्रहरीले खोस्ने काम गरेको सार्वजनिक भएको छ । यसले ‘वर्तमान अवस्थाको व्यवस्था लोकतान्त्रिक हो कि पञ्चायतभन्दा पनि क्रुर हो ?’ भन्ने प्रश्न उठेको छ ।
यसैबीच, रास्वपाका सभापति रविलाई २४ गते पोखराबाट प्लेनबाट काठमाडौं हुँदै सिमरा लगेर बीरगञ्ज पुर्याइएको छ ।
प्रकाशित मिति २०८१ मंसिर २५, मंगलवार ०७:३८ गते