लमजुङ– सुन्दरबजार नगरपालिका– ७ द्वारा स्थानीय ७५ जना किसानलाई तरकारीको बीउ वितरण गरेको छ । व्यावसायिक केन्द्र सुन्दरबजारमा सञ्चालित सुन्दरबजार कृषि हाटबजारको प्रवद्र्धनका लागि रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड काठमाडौका एजिएम दिपेन्द्र कडारियाको प्रमुख अतिथ्यतामा सो कार्य मंसिर २९ गते बितरण गरिएको हो ।
सुन्दरबजार नगरपालिका– ७ को आयोजनामा उक्त तरकारीको बीउविजन वितरण कार्यक्रममा ७५ जना किसानलाई बीउ बितरण गरिएको सो वडाकार्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड काठमाडौका एजिएम दिपेन्द्र कडारियाले सुन्दरबजारको कृषि हाटबजारको विकास र बिस्तारमा आफू र आफ्नो संस्था सदैब लागि पर्ने बताउनु भयो ।
सुनपा– ६ का किसान रामचन्द्र नेउपानेले यो कृषि हाटबजार स्थापना पश्चात् आफ्ना उत्पादित कृषि बस्तु सहज रुपमा बिक्री भएको बताउदै बीउ पाउँदा आफू हर्षित भएको बताउनु भयो ।
सो कार्यक्रममा काक्रो, लौका, तने बोडि, करेला, घिरौला, टुकिनास मुला, धनिया, मार्फा रायो साग, गाजर, केराउ आदिका बीउ बितरण गरिएको थियोे ।
तरकारी बीउ बितरण पछि वडाध्यक्ष जयराम रेग्मीले सुन्दरबजार कृषि हाटबजारको प्रबद्र्धन, व्यवस्थापनमा वडा सधैंं लागि पर्ने बताउदै शीत भण्डार निर्माणमा आफू आजैबाट लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले हाटबजारमा आउने किसानलाई आवश्यकता पहिचान गरी वडाले थप सहयोग गर्ने बताउनु भयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– १० कोइराला फाटका किसान तीर्थराज मिश्रले कृषि एम्बुलेन्सको व्यवस्था गर्न जोड दिदै हाटबजार किसानको लागि किसानको आम्दानीको महत्त्वपूर्ण श्रोत भएको बताउनु भयो । उहाँले सुन्दरबजार नगरापलिका– ७ का वडाध्यक्षलाई विशेष धन्यवाद दिदै आगमी दिनमा पनि किसान उत्प्रेरित हुने कार्यक्रम गर्न अनुरोध गर्नु भयो । त्यस्तै, सुन्दरबजार नगरपालिका– ४ का किसान मदन खनियाले कृषि बिमाको पहल गर्न अनुरोध गर्दै कृषि एम्बुलेन्सको लागि अनुरोध गर्नुभएको थियो ।
कृषि हाटबजार सञ्चालनका लागि एभरेष्ट साकोस सुन्दरबजार, सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका– ७, आरसिडिसी लमजुङ, वर्ड भिजन, कृषि ज्ञान केन्द्र लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लमजुङ, कृषि विकास शाखा सुन्दरबजार, लमजुङ कृषि क्याम्पस लगायत सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका रहेको सो हाटको व्यवस्थापन गर्ने एभरेष्ट साकोसका सचिव विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा सदस्य बुद्धिकला बिक, सोही नगरपालिका– ५ का वडासदस्य यानकुमार गुरुङ, सिटिइभिटी लमजुङका योजना प्रमुख अच्युत रेग्मी, सुनपा– ७ का प्राबिधिक अमृत मरासिनी, सुनपा– २ का वडा सचीव शत्रुधनप्रसाद शाह, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली लगायतको उपस्थिति थियोे । एभरेष्ट साकोस सुन्दरबजारको समन्वयमा सञ्चालित सुन्दरबजारको कृषि हाटबजार गत भदौं १५ गतेबाट हप्ताको २ दिन शनिबार र बुधबार सञ्चालन गर्न थालिएको छ ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको अध्यक्षता भएको कार्यक्रममा स्वागत कृषि हाटबजार सुन्दरबजारका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ गर्नु भएको थियोे । सो कार्यक्रमको सुन्दरबजार नगरपालिका– ७ का वडा सचीव सितारामप्रसाद शाहले सञ्चालन गर्नु भएको हो ।
प्रकाशित मिति २०८१ मंसिर २९, शनिबार २०:२० गते