पं. तोयनाथको स्मृतिमा हलोक्रान्ति स्थलमा थपियो ८ रोपनी जग्गा

पं. तोयनाथको स्मृतिमा हलोक्रान्ति स्थलमा थपियो ८ रोपनी जग्गा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १७ गते बुधबार ०७:२८

विसं २००६ सालमा हलो जोतेर पं. तोयनाथ शर्मा अधिकारीले एकसाथ सामाजिक(छुवाछुत), शैक्षिक, आर्थिक एवम् राजनीतिक आन्दोलनको उदघोष गरेका थिए । त्यस्तो दुरगामी प्रभावको ऐतिहासिक कार्यको नेतृत्व गरेका उनै पं. तोयनाथ अधिकारीका माहिला छोरा हाल अमेरिका निवासी सोमकान्तले सो जग्गा किनेर पिताको विरासतलाई उजिल्याउने काम गर्नु भएको हो् ।

अर्चल्यानी स्थित बाटेगरो दुराडाँडामा रहेका ऐतिहासिक स्थल मध्ये एक हो ।

दुराडाँडा(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ४ को ऐतिहासिक थलो दुराडाँडाको अर्चल्यानी स्थित बाटेगरामा रहेको हलोक्रान्ति स्थल नेपाल तथा पं. तोयनाथ स्मृति प्रतिष्ठानमा ८ रोपनी जग्गा थप भएको छ । उक्त थलोको नेतृत्वकर्ता पं. तोयनाथ अधिकारीका माहिला छोरा सोमकान्त अधिकारीले सो स्थलको व्यवस्थापनका लागि उक्त जग्गा किनेर प्रतिष्ठानलाई दान गर्नु भएको हो ।
अर्चल्यानी स्थित बाटेगरो दुराडाँडामा रहेका ऐतिहासिक स्थल मध्ये एक हो । ब्राम्हणहरूले विसं २००६ सालमा हलो जोतेर पं. तोयनाथ शर्मा अधिकारीले एकसाथ सामाजिक(छुवाछुत), शैक्षिक, आर्थिक एवम् राजनीतिक आन्दोलनको उदघोष गरेका थिए । त्यस्तो दुरगामी प्रभावको ऐतिहासिक कार्यको नेतृत्व गरेका उनै पं. तोयनाथ अधिकारीका माहिला छोरा हाल अमेरिका निवासी सोमकान्तले सो जग्गा किनेर पिताको विरासतलाई उजिल्याउने काम गर्नु भएको हो । उहाँले उक्त आठ रोपनी जग्गा शर्माले हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको नाउँमा स्वामित्व हस्तान्तरण गर्ने प्रवन्ध गर्नु भएको हो ।
प्रतिष्ठानको व्यवस्थापन समितिले हलोक्रान्ति तथा तोयनाथ स्मृति पार्कलाई पर्यटकीय गन्तव्य बनाउने योजना भएता पनि आवश्यक जग्गाको अभावमा आवश्यक संरचना निर्माण गर्न नसकेको बताउदै आएको थियो । जग्गा प्राप्त भएपछि सो स्थलमा पार्क निर्माण गर्ने, वनभोज स्थलको रुपमा विकास गर्ने, पार्कभित्र २००६ सालमा पण्डित तोयनाथ अधिकारीले हलो जोतेको साँकेतिक रुपमा हलो जोत्दै गरेको हल गोरु सहितको पूर्ण कदको शालिक निर्माण गर्ने लगायतका योजना रहेको स्मृति प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेले बताउनु भयो । उहाँका अनुसार हलोक्रान्ती स्थललाई पर्यटकीय स्थलका अतिरिक्त आन्तरिक र बाह्य पर्यटकका साथै देशभरका विद्यार्थीहरूको लागि अध्ययन एवम् अनुगमन स्थल बनाउने प्रतिष्ठानको योजना छ ।
देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ सालमा सो स्थानमा बाहुनहरूले सामुहिक रुपमा हलो जोतेका थिए । जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेप्टन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेललगायतले नेपालमै पहिलो पटक हलो जोतेर सो कार्यमार्फत सामाजिक सुधारको उदघोष गरेका थिए ।
त्यो बेलामा विपन्न परिवारका ब्राम्हणहरूले समेत हलो जोत्न पाउन्नथे, आफ्नो काम नहुँदा र हलीलाई खर्च भर्न सक्ने अवस्था नहुँदा पनि दोस्रो व्यक्तिलाई हली राख्न बाध्य भई गरीबीको मारबाट पीडित थिए । त्यस्तै शिक्षाको ज्योति र सचेतना फैलाउनका लागि गुरुकुल आश्रम स्थापना गरी त्योमार्फत भजन कीर्तन लगायतका काम गरिएको थियो । दलितप्रति गरिने छोइछिटोको समेत पं. तोयनाथ आफैले अन्त्यको पहिल गर्दै आफ्नो आयुर्वेदिक कार्यका लागि औषधि पिस्ने काममा सार्की परिवारका व्यक्तिलाई राखेको जानकारहरू बताउँछन् । हलोजोत्ने काम गरेर छुवाछुत लगायतका विक्रितिको अन्त्यका लागि गरिएको कार्यले उनी लगायतको जात गयो भनेर उनका चेलीबेटीहरूले घरमाइत समेत गर्न पाएनन् । घरमा भएका चेली माइत आउन पाएनन् भने माइतमा आएको चेलीले घर जान नपाएको स्थिति त्यो बेला बनेको थियो ।
यसप्रकार सामाजिक विभेद विरुद्ध, शिक्षा र आर्थिक अभियान एकसाथ छेड्नुको अर्थ देशमा प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने मूल उद्देश्य छिपेको थियो सो प्रतिष्ठानका सल्लाहकार एवम् राष्ट्रिय भूमिआयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारले बताउनु भयो ।
प्रतिष्ठान रहेको बाटेगरासँगै जोडिएको ८– २– ३– १ क्षेत्रफल भएको उक्त जग्गा प्रतिष्ठानको नामका सोमकान्तले रजिष्ट्रेशन पास गरिदिएको प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार लामो समयदेखि जग्गाको अभावमा आवश्यक कार्य गर्न नपाएको अवस्थामा अब बाटो खुलेको छ । यसअघि सो प्रतिष्ठानका नाउँमा दुई रोपनी जग्गा थियो । त्यो जग्गा पनि पं. तोयनाथकै पैतृक सम्पत्तीबाट प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले बाटेगरामा हलोक्रान्तिका योद्धाहरूको नाम रहेको स्मारक यस अघिनै निर्माण गरेको छ भने हलोक्रान्ति स्मृति भवन समेत निर्माण गरेको हो । त्यस्तै प्रतिष्ठानले पं. तोयनाथले हलो जोत्दै गरेको हल गोरु सहितको शालिक निर्माण गर्नको लागि फाउण्डेशन समेत निर्माण गरिसकेको छ । अव छिट्टै शालिक निर्माण गर्ने तयारीमा प्रतिष्ठान लागिपरेको प्रतिष्ठानका अध्यक्ष पौडेलको भनाइ छ । प्रतिष्ठानका अध्यक्ष डा. पौडेलले भन्नुभयो ‘अब तोयनाथका बहुआयमलाई खोज तथा सम्बोधन गर्ने गरी प्रतिष्ठानले काम अघि बढाउने भएको छ ।’
ऐतिहासिक हलोक्रान्ति स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्न, हलोक्रान्ति स्थलमा योद्धाहरूको अभिलेख राख्न र यस क्रान्तिको सन्देश एवम् अभियानलाई जिवन्त राख्न दुराडाँडामा हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान स्थापना गरी २०६४ सालदेखि काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८१ पुष १७, बुधबार ०७:२८ गते
हजुरको प्रतिक्रिया