हामी नेपाली, नागरिक हुन सकेका छैनौं : सकारात्मक सोचका प्रणेता कर्ण शाक्य

हामी नेपाली, नागरिक हुन सकेका छैनौं : सकारात्मक सोचका प्रणेता कर्ण शाक्य

नवराज पहाडी

@antaranganews

२०८१ पुस २२ गते सोमबार ०९:१६

उहाँले ६० वर्ष ननाघ्दासम्म गीताको अध्ययन गर्नु पर्ने र त्यसपछि त्रिपिटक(बौद्ध ग्रन्थ)को अध्ययन गर्नु पर्छ भन्ने सुझाव दिनुहुँदै पैसाले सुख हुन्छ भन्ने कल्पना नगरौं भन्नुभयो ।

देश बनाउने हो भने हामीले आफ्ना छोरा छोरीलाई विदेश जान दिनु हुँदैन ।

बनेपा(काभ्रे)– सकारात्मक सोचका प्रणेता ८३ वर्षीय कर्ण शाक्यले रैती रहेका हामी नेपाली जनता भए पनि नागरिक हुन सकेका छैनौं भन्नुभएको छ । उहाँले नेपाल अर्बुद रोग निवारण संस्थाको ३४औं केन्द्रीय सभाको अवसरमा सहभागीहरूलाई उत्प्रेरक प्रशिक्षण दिदै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले राणाकालमा रैती रहेका हामी प्रजातन्त्रको उदय पछि जनता त भयौं तर आजका दिनसम्म पनि नागरिक हुन सकेका छैनौं भन्नुभयो । उहाँले नागरिक हुनका लागि सही, सत्य कुरा हेर्न, सुन्न र देख्ने हृदय चाहिन्छ, हृदयले देख्नु पर्छ भन्नुभयो । सबैभन्दा ठूलो सम्पत्ती सम्झौता हो, जो सम्झौताका लागि तयार रहन्छ र अघि बढ्छ उसले संसार जित्न सक्छ उहाँको तर्क थियो । उहाँले अथाह सम्भावना भएको देश नेपालमा ४४ प्रतिशत जग्गा बाँझो रहेको उल्लेख गर्दै ३० प्रतिशत (७० लाख) जनसंख्या देश बाहिर हुनु हो भन्नुभयो ।
उहाँले आफूलाई बदल्न नसक्ने मानिसले अन्यलाई बदल्छु भनेर सोच्नु व्यर्थ छ, लामो आयु बाँच्न र सुखी हुनका लागि सकारात्मक सोच आवश्यक पर्नेमा जोड दिनु भयो । उहाँले आफ्नै ३० वर्ष अघिको आफ्नै जीवनको एक भोगाईको उदाहरण दिदै भन्नुभयो, क्यान्सरबाट आफूले श्रीमती सहित १८ वर्षीया छोरीलाई गुमाएपछि निकै बिचलित भएको थिएँ, आमाको काखमा टाउको रोखेर रुँदै ‘साच्चै म अभागी, पापी हँु ?’ भन्ने प्रश्न गर्दा आमाले ‘त्यसो होइन, धन्दा नमान, भगवान्ले राम्रो मान्छेको परीक्षा धेरै लिन्छन्, तिमी नआत्तिए, अर्को छोरीको विवाह गर्नु छ, तिमी बलवान छौं,’ भन्दै ढाडसपूर्ण बचन दिनु भयो । त्यसपछि म नयाँ सोच, जाँगर, उत्साह आएको र आज यो स्थानमा आउन सकेको हुँ उहाँले भन्नुभयो ।
त्यसपछि उहाँले आफ्नो कथा आफैले लेखेँ, त्यसबेला गोरखापत्र बाहेकको पत्रपत्रिका थिएन । गोरखापत्रले मेरो त्यो लेख छाप्यो । त्यसपछि मेरो कलम अघि बढ्न थालेको हो उहाँले जानकारी दिनुभयो ।
उहाँले ६० वर्ष ननाघ्दासम्म गीताको अध्ययन गर्नु पर्ने र त्यसपछि त्रिपिटक(बौद्ध ग्रन्थ)को अध्ययन गर्नु पर्छ भन्ने सुझाव दिनुहुँदै पैसाले सुख हुन्छ भन्ने कल्पना नगरौं भन्नुभयो । तपाईसँग तपाईको छोराले अंश खोज्यो भने तपाई खत्तम, उलाई तपाईले राम्रो संस्कार दिन सक्नु भएन भन्ने अर्थ हुन्छ भन्नुभयो ।
उहाँले ६० वर्ष हुँदाको एक अनुभव सुनाउँदै भन्नुभयो, कपिलवस्तुको एक कार्यक्रममा आफूलाई त्यहाँका युवाहरूले बोलाए, म गएँ । २०– ३० जना मानिस होलान् भन्ने कल्पना गरेको थिएँ । लगभग हजार जनाजति जम्मा भएर मेरो प्रतिक्षामा रहेछन् । मैले बोल्न सुरु गरेँ, बोल्दाबोल्दै तीन घण्टा वितेछ, पानी पनि पिएको थिइन । त्यसपछि मलाई केही असहज फिल भयो, मलाई डिहाइड्रेसन भयो भन्ने मैले थाहा पाएँ । त्यहाँका आयोजकलाई मलाई अस्पताल लगिदेऊँ भन्न सक्थे तर भनिन । भाषण गर्दागर्दै मर्छु कि ? भन्ने लाग्यो, तर मेरो आत्मबलको कारणले केही भएन, मैले आत्मबल पाएको सकारात्मक सोचले हो उहाँले उल्लेख गर्नुभयो ।
देश बनाउने हो भने हामीले आफ्ना छोरा छोरीलाई विदेश जान दिनु हुँदैन, उनीहरूलाई संघर्ष गर्न सिकाउनु होस् देश बन्छ, बन्छ भन्नुहुँदै यही बसेर केही न केही उद्यम गर्नका लागि उत्प्रेरित गर्नु पर्छ । यहाँ अचार बनाएरमात्र ६६ अर्ब आम्दानी गरेको स्थिति छ उहाँले उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
आफूले मनको घाउमा मल्हम लगाउने क्रममा, मनको सेवा गर्दागर्दै समाजसेवामा आएको हुँ भन्ने जानकारी दिदै उहाँले सकारात्मक सोचले सफलताको ढोका खोल्छ भन्नुभयो ।
उहाँले हामी नेपाली गरीब हैनौं मुर्ख हौं, माल पाएर चाल नपाएको मुर्ख, साधन भएर व्यवस्थापन गर्न नसक्ने, नजान्ने मुर्ख हौं उहाँले भन्नुभयो । मानिसलाई धनी सोचले बनाउने हो, पैसाले हैन भन्नुहुँदै उहाँले आफू पर्यटन र प्रकृतिको विद्यार्थी तर पछि क्यासरको अभियानमा जोडिएर आएँ यो पनि सकारात्मक सोचकै परिणाम हो उहाँले गर्वका साथ उल्लेख गर्नु भयो ।

कार्यक्रम स्थलबाट ।

प्रकाशित मिति २०८१ पुष २२, सोमबार ०९:१६ गते
हजुरको प्रतिक्रिया