प्याब्सन डेमा सञ्चारमन्त्री मन्त्री गुरुङ भन्नुभयो, ‘विद्यालय शिक्षाले प्रतिफल दिन नसक्दा सरकार चिन्तित छ ।’

प्याब्सन डेमा सञ्चारमन्त्री मन्त्री गुरुङ भन्नुभयो, ‘विद्यालय शिक्षाले प्रतिफल दिन नसक्दा सरकार चिन्तित छ ।’

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २५ गते बिहिबार ०१:३३

आयोजक प्याब्सन लमजुङद्वारा संघीय सांसद हुनुका साथै सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता हुनु भएकोमा उहाँको मन्तव्य अघि पृथ्वीसुब्बा गुरुङलाई सम्मान गरिएको थियो ।

प्याब्सन कपको कुल २६५ अंकमा ती विद्यालयले क्रमशः १२०, ११९ र ११४ अंक ल्याएको घोषणा गरिएको थियो । युनिभर्सल एकेडेमी गत वर्षको पनि विजेता विद्यालय हो ।

बेसीशहर– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यालय शिक्षाले लगानी अनुसारको प्रतिफल दिन नसक्दा सरकार चिन्तित भएको बताउनु भएको छ । मन्त्री गुरुङले जिल्ला सदरमुकाम बेसीशहरमा निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) लमजुङको ३४ औँ स्थापना दिवसको उदघाटन गर्दै पुस २४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले शिक्षामा राज्यको रहेक वर्ष दोस्रो ठूलो लगानी हुने गरेको छ । त्यो लगानी अनुसारको प्रतिफल दिन नसक्दा सरकार चिन्तित भएको बताउनु भएको हो । त्यसका लागि विद्यालय शिक्षालाई नीतिगत हिसाबले, ऐन कानुनको हिसाबले व्यवस्थित गने वर्तमान सरकारले काम गरिरहेको बताउनु भयो । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले विद्यालय शिक्षा सम्वन्धी ऐन अहिले प्रतिनिधि सभाको समितिमा छलफलको क्रममा रहेको र आउने अधिवेशनबाट पारित गरेर अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

शिक्षा नीति अलमलका परेका कारण सामान्य शिक्षामा मात्र जोड दिँदा मुलुकको उद्देश्य पुरा हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब बन्ने शिक्षा नीति बेरोजगार युवा उत्पादन बन्ने केन्द्र हुनुहुँदैन, स्वरोजगार मुलक शिक्षा आजको आवश्यकता हो यस कारण हामी यो वर्ष शिक्षा सम्वन्धी ऐन पारित गरी शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा जुटेका छौँ ।’ नेपाली विद्यार्थीको भविष्य नेपालमा सुरक्षित छ नेपालमा उनीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् नेपालमै बसेर उनीहरूले देशको सेवा गर्न सक्छन् भन्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको मन्त्री गुरुङले बताउनुभयो ।
उहाँले निजी क्षेत्रका विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा दिएको योगदान प्रसंशनीय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा विधेयक छलफलमा रहेको जानकारी दिदै त्यो लागू भएसँगै शिक्षा क्षेत्रमा देखिएको धेरै अन्योल र निरासाजनक स्थितिको अन्त्य हुने बताउनु भयो । उहाँले प्याब्सनले हरेक वर्ष गर्ने यो उत्सव र यहाँ आयोजना गरेको नाच प्रतियोगिता कुनै सांस्कृतिक महोत्सवमा हुने सांस्कृतिक प्रर्दशनभन्दा कम नभएको, प्याब्सनको यस्तो कार्यले सांस्कृतिक प्रवद्र्धनमासमेत योगदान गर्ने उल्लेख गर्नुभयो ।
उहाँले विभिन्न मन्त्रालयका बीचमा रहेको मनोमालिन्य चिर्नका लागि विद्यमान ११ ऐन संशोधनको तयारीमा रहेको उल्लेख गर्दै यही हिउँदे अधिवेशनमा ती विधेयकको टुंगो लगाउने जानकारी दिनुभयो । त्यस्तै संसदमा विचाराधिन रहेका १९ विधेयकसमेत सोही हिउँदे अधिवेशनमा पास गर्ने तयारीमा सरकार रहेको छ मन्त्री गुरुङले भन्नुभयो ।
अर्को एक प्रसङ्गमा मन्त्री गुरुङले सहकारी घोटाला काण्डमा मुछिने सञ्चालन वा अन्य जो कोहीलाई पनि नछाडीने बताउँदै जीवनभर एउटै व्यक्ति अध्यक्ष हुने प्रवृत्तीलाई निरुत्साहित गर्न र सहकारीमा राखेको निक्षेपकर्ताहरूको रकम मासिन नदिने गरी सो रकमको सुरक्षणका लागि विशेष प्रवन्ध गर्नका लागि सहकारी अध्यादेश ल्याएको हो भन्नुभयो ।
मन्त्री गुरुङले सन् २०३० सम्म हासिल गर्नु पर्ने दिगो विकासको लक्ष्य हासिलका लागि पनि सरकार लागि परेको उहाँले जानकारी दिनुभएको थियो । उहाँले सन् २०२६ मै हासिल गर्नु पर्ने विकासशील राष्ट्रको श्रेणीमा देशलाई दर्ज गर्नका लागि सरकार दत्त चित्त भएर लागेको छ भन्दै त्यसकै लागि दुई ठूला दल लागि परेको बताउनु भयो । देशमा शान्ति सुव्यवस्थाको स्थिति सुनिश्चित गर्नका लागि दुई ठूला दलले सरकार निर्माण गरेको उल्लेख गर्नुभयो । आफ्नो नेतृत्वको सरकार आएपछि देशको सबैक्षेत्रमा सकारात्मक सुधार भइरहेको दावी गर्नु भएको थियो । उहाँले अब पूँजीगत खर्चलाई बढावा दिनु पर्ने भएकोमा जोड दिदै त्यसतर्फ सरकारको ध्यान गएको बताउनु भएको थियो ।
मन्त्री गुरुङलाई सम्मान :
आयोजक प्याब्सन लमजुङद्वारा संघीय सांसद हुनुका साथै सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता हुनु भएकोमा उहाँको मन्तव्य अघि पृथ्वीसुब्बा गुरुङलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा संविधानसभाका सदस्य जमिन्द्रमान घलेले प्याब्सनले शिक्षाको गुणस्तर अभिबृद्धि गर्ने कार्यमा गरेको योगदानको उत्कृष्ट गरेको बताउनु भयो । उहाँले मूलधारका ठूला दल र तिनका नेताहरूप्रति वितृष्णा फैलाउँदै स्थापित गर्न खोज्ने र युवा जति सबै विदेश पलायन हुने हो भने त्यो बेलाको देश कस्तो होला ? भन्ने प्रश्न गर्दै त्यसतर्फ समयमै सोच्नु पर्ने बेला आएको बताउनु भयो । उहाँले विद्यार्थीलाई समेत देशको बारेमा सोच्न र विदेश अमेरिका अस्टेलिया जाने सपना देख्नु भन्दा नेपाललाई नै अमेरिका अस्टेलिया बनाउनेतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्याब्सन कप २०८१ युनिभर्सललाई :
प्याब्सन लमजुङले सो अवसरमा वर्षभर गरेका अतिरिक्त क्रियाकलापका विजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै प्याब्सन लमजुङमा आवद्ध विद्यालयका शिक्षकहरू एवम् व्यवस्थापन समितिका अध्यक्षलाई समेत सम्मान गरेको थियो । त्यस्तै, प्याब्सन लमजुङमा आवद्ध विद्यालयका बीचमा नृत्य प्रतियोगिता समेत गरिएको थियो । सो प्रतियोगितामा जिल्लाभरका १२ विद्यालयले भाग लिएको प्याब्सन लमजुङका सचिव विमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा भूपूसैनिक आमावि बेसीशहर, युनिभर्सल एकेडेमी र हिमचुली आमावि क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
उक्त नृत्य प्रतियोगिताको परिणाम समेत जोडेर घोषणा गरिएको प्याब्सन कप यो वर्ष युनिभर्सल एकेडेमीले जितेको छ भने दोस्रो र तेस्रो स्थान क्रमशः हिमचुली आमावि र भूपू सैनिक आमावि बेसीशहरले जित्न सफल भए । प्याब्सन कपको कुल २६५ अंकमा ती विद्यालयले क्रमशः १२०, ११९ र ११४ अंक ल्याएको घोषणा गरिएको थियो । युनिभर्सल एकेडेमी गत वर्षको पनि विजेता विद्यालय हो ।
प्याव्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, प्याब्सन लमजुङका सल्लाहकार एवम् मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ लगायतले शुभमन्तव्य राख्दै शिक्षा क्षेत्रको विकासमा प्याब्सन लमजुङले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । गुणस्तरीय शिक्षा प्रदानमा प्याव्सनको भूमिका उल्लेख्य रहेको बताउँदै आगामी दिनमा स्वरोजगार मुलक शिक्षामा जोड दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल, क्व्होलासोँथर गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तव, ससस्त्र प्रहरी नायव उपरिक्षक दिपक पुरी, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख विष्णुहरी पण्डित, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीलगायतको सहभागिता थियो ।
प्याव्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बिमल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयस्तरीय नृत्य प्रतियोगिताको साथमा प्याव्सनले वर्ष सञ्चालन गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरू, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, एसइई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई ट्रफी मेडल सहित पुरस्कृत गरेको छ ।

प्रकाशित मिति २०८१ पुष २५, बिहीबार १३:३३ गते
हजुरको प्रतिक्रिया