विद्यालय हातामै फूड फेष्टिवल : विद्यार्थी उत्साहित, ५० हजारको कारोबार

विद्यालय हातामै फूड फेष्टिवल : विद्यार्थी उत्साहित, ५० हजारको कारोबार

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ३ गते बिहिबार ०७:००

‘खाना उत्सव’मा विद्यार्थीले बनाएका परिकार बिक्रीबाट संकलित रकम खर्च कटाएर विद्यार्थी हितकोषमा राखिने भएको सो विद्यालयका शिक्षक राजकुमार धितालले बताउनु भयो ।

त्यसअघि घरमा चिया बनाउन समेत अल्छी गर्ने आफ्ना छोराछोरीले ती परिकार बनाएको देख्दा अभिभावकहरू हर्षित देखिन्थे ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित ल्याण्डस्टार आमाविमा ‘फूड फेष्टिवल’ कार्यक्रम गरिएको छ । नियमित शिक्षण सिकाईसँगै विद्यार्थीलाई अतिरिक्त सीपमुलक गतिविधिहरूमा सहभागी गराएर उनीहरूको क्षमता अभिवृद्धिका लागि विद्यालयले ‘खाना उत्सव’को आयोजना गरेको हो ।
नियमित पढाईसँगै विद्यार्थीहरूमा व्यवहारिक ज्ञान तथा सिकाईका लागि विभिन्न शैक्षिक गतिविधीहरू गर्दै आएको ल्याण्डस्टार आमाविले पछिल्लो पटक ‘खाना उत्सव’मा विद्यार्थीलाई सहभागी गराएको हो । त्यसो त ‘खाना उत्सव’मा विद्यालयमा अध्ययनरत कक्षा– ६ देखि कक्षा– १० सम्मका विद्यार्थीहरूले स्वस्फुर्त रुपमा भाग लिएका थिए । विद्यालय हातामा उनीहरूले परम्परागत विभिन्न प्रकारका परिकारहरू अधिकांश आफैले बनाएर प्रर्दशन स्थलमै बिक्रीसमेत गरेका थिए । त्यसबाट करिब ५० हजारको आम्दानी भएको कक्षा– १० का विद्यार्थी अंश राउतले बताए । उनका अनुसार आफूहरूले तयार गरेका परिकारको मूल्य पाँच रुपैयाँदेखि ११० रुपैयाँसम्मका थिए ।
उनले भने, ‘पानीपुडीको ५ रुपैयाँ, अचार, आलु चप, पापड आदिको १० रुपैयाँ, समोसा १५ रुपैयाँ, सेलरोटी र चिया २० रुपैयाँ मूल्य छ ।’ यसैगरी झोल ममः ८० रुपैयाँ, चिकेन स्टिम ममः एक सय, चिकेन झोल ममः र फ्राई ममःको ११० का दरले विक्री गरिएको उनको भनाइ छ । हामीलाई स्कूलमा नभई कुनै मेला महोत्सवमा गएको जस्तो अनुभूति भएको सोही कक्षाका असिन्दा गुरुङले बताइन् ।
खाना उत्सवमा सहभागी विद्यार्थीहरूले कक्षा गत रुपमा छुट्टाछुट्टै स्टल राखेको सो विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले जानकारी दिनु भयो । उनका अनुसार स्टलहरूमा विद्यार्थीहरूले सेलरोटी, अचार, आलुचप, समोसा, चना अण्डा, सुक्खा रोटी, एगरोल, पानी पुरी, ममः, चट्नी लगायतका परिकार तयार गरी प्रर्दशनी तथा बिक्रीका लागि राखेका थिए । उनले भने, ‘हामीहरूले तिमीहरूले यस्तो काम पनि गर्न सक्छौं भन्यौं, कच्चा पदार्थ किन्न पैसा संकलन गर्नदेखि परिकार निर्माणसम्म उनीहरू आफै जुटे ।’ विद्यार्थीले सो उत्सवमा विद्यार्थीहरूले विभिन्न १७ परिकार बनाएको प्रिन्सिपल पौडेलले जानकारी दिए ।
उक्त फेष्टिबलमा आफ्ना छोराटोरी तथा भाइबहिनी, विद्यार्थीहरूले बनाएका परिकारहरूको पर्दशनी हेर्न र किन्न अभिभावकहरू विद्यालय हातामा पुगेका थिए । विद्यार्थीलाई नियमित पढाईसंगै अतिरिक्त क्रियाकपालमा सहभागी गराउने कार्यले विद्यार्थीको बौद्धिक विकास, सामाजिक विकासमा योगदान पुग्ने अभिभावकहरूले विश्वास गरेका छन् । अघिपछि घरमा चिया बनाउन समेत अल्छी गर्ने आफ्ना छोराछोरीले ती परिकार बनाएको देख्दा हर्षित देखिन्थे ।
अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यालयको बार्षिक कार्यतालिका अनुसार पहिलो पटक फुड फेष्टिबल आयोजना गरिएको विद्यालयका प्रिन्सीपल ईश्वर पौडेलले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको अतिरिक्त क्षमता अभिबृद्धि तथा व्यवहारिक ज्ञान पाउने विश्वास जागृत भएको छ । त्यसका लागि आउदा वर्षहरूमा पनि यस्ता परम्परागत खाना उत्सवका रुपमा विभिन्न गतिविधी गरिने प्रिन्सीपल पौडेलले जानकारी दिनुभएको छ ।
फेस्टिबलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । हरेक कक्षालाई एउटा समूह बनाएर उनीहरूकै लगानीमा विक्री भएको रकम विद्यार्थीहरूलाई नै वितरण गरिएको विद्यालयले जनाएको छ । बिक्रीबाट संकलित रकम खर्च कटाएर विद्यार्थी हितकोषमा राखिने भएको सो विद्यालयका शिक्षक राजकुमार धितालले बताउनु भयो ।

प्रकाशित मिति २०८१ माघ ३, बिहीबार ०७:०० गते
हजुरको प्रतिक्रिया