सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा सञ्चालन हुने दशौं सुन्दरबजार महोत्सवको तयारी पुरा भएको छ । भोलि माघ ११ देखि माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिउँसो २ बजे उदघाटन गर्नु हुने भएको आयोजकले माघ १० गते साँझ बताएको छ ।
सुन्दरबजार स्थित लमजुङ क्याम्पस हातामा हुने सो महोत्सवको दिउँसो १२ः३० बजे सोही हाताबाट झाँकी सहितको र्यालीले सुन्दबजार परिक्रमा गर्ने छ । तल्लोबजार हुँदै सैनिक टोल, मिलनचोक, फिल्महल टोल हुँदै महोत्सव स्थलमा आएर उदघाटन सभामा परिणत हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवम् लउवासंघको इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो र्यालीमा उत्कृष्ठ हुने १० टोलीलाई पुरस्कारको प्रवन्ध गरिएको छ । पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई पाँच हजार र अन्या सात टिमलाई एकहजारका दरले प्रोत्सहन(सान्त्वना) पुरस्कार प्रदान गरिने छ ।
महोत्सवको तयारी पुरा भएको आयोजक लमजुङ उद्योग बाणिज्य संघ(लउवासंघ) सुन्दरबजार इकाईले जानकारी दिएको छ । महोत्सवको लागि स्टल बुकिङको काम सकिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवम् लउवासंघको इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार महोत्सवका लागि १५५ स्टलको निर्माण गरिएको छ । उहाँले भन्नुभयो, ‘तीमध्ये १५ वटा कृषि तथा स्थानीय उत्पादन तथा घरेलु हस्तकलाका लागि उपलब्ध गराएको छ । १५ वटा होटल व्यवसायीका लागि वितरण गरिएको छ । उहाँले भन्नुभयो, ‘स्थानीय उत्पादन तथा स्थानीय सामग्री विक्रीका लागि २० हजार पाँच सयका दरका स्टलमध्ये २० प्रतिशत छुट गरिएको छ ।’
अन्य होटल आदिका स्टलको ३० हजार पाँच सय मूल्य तोकिएको आयोजकको भनाइ छ ।
यो महोत्सवमा पुरस्कार, प्रचारप्रसार लगायतका कामका लागि ३० लाख खर्च हुने अनुमान छ भने सम्पूर्ण निर्माण कार्य, मञ्च, बालउद्यान, कम्पाउण्डको बारबन्देज आदिका लागि थप ३० लाख खर्च हुने अनुमान गरिएको मूल समितिका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनु भयो ।
सुन्दरबजार नगरपालिका– ७ को लमजुङ क्याम्पस हातामा गरिने उक्त महोत्सवको नारा ‘स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको आधार सांस्कृतिक एकता सहितको समृद्ध सुन्दरबजार’ रहेको छ ।
महोत्सव अवधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको मूल समितिका संयोजक श्रेष्ठले उल्लेख गर्नु भयो ।
‘उदघाटन कार्यक्रम स्थलमा तनहुँको चोकचिसापानीबाट उडेका तीन वटा प्याराग्लाईडिङबाट पुष्पबृटि गर्ने समेतका कार्यक्रम छन् भने होमस्टे प्रवद्र्धनको प्योकजसमेत हामीसँग छ ।’ आयोजक समितिका संयोजक आनन्दराज श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्याराग्लाईडिङको व्यवसायिक उडान पनि हुने तयारी छ । पाँच हजार रुपैयाँमा २५मिनेटदेखि ३० मिनेटसम्म उड्न पाइने छ । अन्य दिनमा पाउँदीमा प्याराग्लाईडिङ झरालिने छ । स्थानीय रैथाने बालीको अर्गानिक उत्पादनको प्रदर्शनी तथा खरिद बिक्रीलाई पनि महोत्सवमा समेटिएको आयोजकको भनाइ छ ।
‘राष्ट्रिय खुला लोक दोहोरी गीत प्रतियोगिता’लाई प्राथमिकता :
यो वर्षको विशेष अकर्षणमा ‘राष्ट्रिय खुला लोक दोहोरी गीत प्रतियोगिता’ हुने र त्यसको पहिलो पुरस्कार एक लाख रुपैयाँ राखिएको मूल समितिका संयोजक श्रेष्ठ बताए । उनका अनुसार सुन्दरबजार महोत्सवको उद्गम कार्यक्रमनै २०५६÷५७ साल ताका गर्ने गरिएको दोहोरी गीत प्रतियोगिता हो । त्यसैले दशौं सुन्दरबजार महोत्सवमा आउँदा पुरस्कार राशीमा समेत बृद्धी गरी प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । उनले भने, ‘सो प्रतियोगितामा दोस्रो, तेस्रो तथा सान्त्वना हुने समूहलाई क्रमशः ५० हजार, २५ हजार, १० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।’ प्रतियोगितामा उत्कृष्ट गायक– गायिकालाई ५÷५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने कार्यक्रम रहेको समेत उनले उल्लेख गरे ।’
सो प्रतियोगिता सम्पन्न गर्नको लागि ईकाइले छुट्टै दोहोरी गीत प्रतियोगिता कार्यक्रम उपसमिति गठन गरेर प्रचारसहितका तयारीको काम गरिरहेको उनको भनाइ छ । उनका अनुसार सो अवसरमा जनवादी गायक जीवन शर्मा लगायत ४ दर्जन बढी कलाकारहरूको प्रस्तुती रहने गरी कार्यक्रम तय भएको छ ।
केरा र च्याउका विशेष परिकार :
विगतको महोत्सवमा केराको विशेष परिकारले बजार गर्माउने गरेकोमा यो वर्ष केराका अतिरिक्त थप च्याउका विशेष परिकार बनाउने तयारी रहेको आयोजकको भनाइ छ । त्यसैगरी, महको स्थानीय उत्पादनको छुट्टै स्टल रहने भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
साथमा महोत्सव स्थलमा कृषि प्रदर्शनी, खाना महोत्सव, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, गार्मेन्ट र कर्पोरेट लगायतका केराका विशेष परिकारका स्टलहरू रहने श्रेष्ठले जानकरी दिए । महोत्सवको अन्य आकर्षणहरूमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवम् खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरू, भाञ्छामा प्रयोग हुने मालसामानहरू, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरू, सूचना प्रविधि तथा सञ्चारका उपकरणको साथै पर्यटन क्षेत्रका गतिविधिहरू, फुड फेस्टिवल, वित्तीय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको इकाईका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनु भएको छ । साथमा कृषि प्रदर्शन प्रतियोगिता पनि हुने भएको छ ।
महोत्सवमा स्थानीय प्रतिभाको खोजी, राष्ट्रियस्तरका कलाकारबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरूको प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, क्अजयय िकजयध तष्mभ, शैक्षिक सामग्री प्रदर्शनी, मा.वि.स्तरीय नृत्य प्रतियोगिता, रीतिरिवाज झल्कने रत्यौली प्रतियोगिता समेत गरिने भएको छ ।
यसअघिका महोत्सवमा नभएको कवि गोष्ठी एवम् कविता प्रतियोगिता समेत यस पटक आयोजना गरिएको इकाईका सचिव धनराज गुरुङले बताउनु भयो । उहाँका अनुसार कविता प्रतियोगिताको कार्य सम्पन्न भइसकेको छ । छनौटमा परेका उत्कृष्ठ १० कविता महोत्सवमा प्रस्तुत गर्ने गरी तयारी गरिएको साहित्यिक उपसमितिका संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कविता प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना २ हुनेले क्रमशः ७ हजार, ५ हजार, तीन हजार र दुई हजार नगद सहित प्रमाणपत्र पुरस्कार महोत्सवको उदघाटनमा वितरण गरिने छ ।
महोत्सवको मुख्य प्रायोजक सिजि मोटर्स र पानस यातायात सेवा रहेका छन भने राष्ट्रिय बाणिज्य बैंक र गोरखा ब्रुअरी टुबोर्ग बियर सहप्रायोजक रहेका छन् । महोत्सवको संरक्षकमा लमजुङ उद्योग बाणिज्य संघ र मुख्य सहयोगी संस्था सुन्दरबजार नगरपालिका रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सव अवलोकनको लागि सर्वसाधारणलाई १०० र विद्यार्थीका लागि ८० रुपैया टिकट दर कायम गरिएको छ ।
महोत्सवको सञ्चार एवम् प्रचारप्रसार पक्ष भने अत्यन्तै कमजोर भएको प्रतीत भएको छ । अन्यत्रका महोत्सव आयोजकहरूले समाचार प्रकाशन गरिदिनका लागि पटक पटक आग्रह गर्दथे भने १० औं सुन्दरबजार महोत्सवका आयोजकहरूलाई पटक पटक सम्पर्क गर्दा पनि तयारीका बारेमा अपडेट हुन नसकेको पाइयो । आयोजक पक्ष यस मामलामा निकै कमजोर रहेको प्रतीत भएको अन्तरङ्ग न्यूजडटकमको अनुभव छ ।
खर्च सार्वजनिक गरिएन :
त्यसो त यसअघिको नवौं महोत्सवको आयव्यय समेत आजका मितिसम्म सार्वजनिक गर्न तत्कालीन आयोजकले आवश्यक ठानेको पाइएको छैन । यसबारेमा अन्तरङ्गले पटक पटक जिज्ञासा राख्ने र प्रश्न उठाउने गर्दा पनि ‘गर्छौं गर्छौं’ भन्दै तत्कालीन नेतृत्वले टार्ने काम गरिरहेको स्थिति छ । दिनको संकेत विहानीले गर्छ भने झैंं त्यस्तो असक्षम नेतृत्व लिनेहरूले अन्य संस्थाहरूमा नेतृत्व लिएर के कति उपलब्धि दिन सक्लान् ? त्यो त भोलिको समयले नै बताउने छ ।
गल्ती नदोहोर्याउने प्रतिवद्धता :
नवौं सुन्दरबजार महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईमा यो वर्ष नेतृत्व परिवर्तन भएको छ । नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।
समग्र सुन्दरबजारका साथै लमजुङ जिल्लाको समुन्नतिका लागि सुन्दरबजारमा २०६० सालदेखि महोत्सवको आयोजना हुँदै आएको छ ।
प्रकाशित मिति २०८१ माघ १०, बिहीबार २१:४० गते