बेसीशहर– प्रथम शहीद लखन थापा मगरको १४८औं स्मृति दिवसको अवसरमा यहाँ दीप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङको आयोजनामा फागुन २ गते साँझ भिमसेनस्थानमा दीप प्रज्वलन गरिएको हो ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिका पूर्वकेन्द्रीय सदस्य बलबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रथम शहीद लखन थापाको स्मृतिमा सहभागीहरूले मौन धारण गरी दीप प्रज्वलन गरेका थिए ।
पूर्वकेन्द्रीय सदस्य रानाले लखना थापालाई राज्यले प्रथम शहीद घोषणा गरे पनि प्रथम शहीदको मान्यता दिन कन्जुस्याई गरेको स्मरण गर्नु भयो । उहाँले प्रथम शहीद लखन थापाको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्नु भएको थियो ।
प्रथम शहीद लखन थापाको स्मृतिमा आयोजना भएको दीप प्रज्वलन कार्यक्रममा बेसीशहर नगरपालिका– ८ का वडा अध्यक्ष पवित्रा थापा राना, संघका पदाधिकारी र स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
प्रथम शहीद लखन थापाको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका– ७, बुंकोटमा भएको थियो । उनलाई राणा शासन विरुद्ध जनविद्रोह सञ्चालन गरेको आरोपमा जंगबहादुर राणाको आदेशमा १९३३ साल फागुन २ गते झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । त्यसपछि लामो समयसम्म जहानीया राणा शासनको विरुद्धमा आवाज उठाउने कसैले हिम्मत गरेन । जंगबहादुर राणाले सुत्रपात गरेको एकतन्त्रीय निरंकुश शासनमा अन्याय, अत्यचार, दमन, शोषण क्रम जारी रह्यो । नेपाली जनता त्यो बेलामा रैती थिए । रैती भनिन्थ्यो पनि, त्यसैले सबै खाले दमन सहन गर्न वाध्य भए ।
बि.सं. १९९७ सालमा जहानीया राणा शासनको अन्त्यका फेरि लागि प्रयास भयो । त्यतिबेला दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाईसमेत मृत्युदण्ड दिइयो । सचेतनाका हिसावले नेपाली समाज केही अघि पनि बढेको थियो । त्यसपछि क्रमशः जनविद्रोह बढ्दै गयो र २००७ सालमा प्रजातन्त्रको स्थापना सम्भव भएको हो । त्यसरी प्राप्त प्रजातन्त्रको २०१७ सालमा फेरि तत्कालीन राजा महेन्द्रबाट हरण भयो । मुलुकमा अन्धकार छायो ।
२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापन भयो । लखन थापालाई नेपाल सरकारले २०५६ साल फागुन ११ गते शहीद घोषणा ग¥यो । सरोकारवालाहरूले उनलाई नेपालको प्रथम शहीद घोषणा गर्नुपर्ने दबाब दिएपछि सरकारले २०७२ साल असोज ३ गते नेपालको प्रथम शहीद घोषणा गरेको हो ।
दीप प्रज्वलन कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा भएको हो ।
प्रकाशित मिति २०८१ फाल्गुन ५, सोमबार ०६:३४ गते