
असम(भारत)– नेपाली भाषा सहित्य, कला संस्कृतिका शिखर व्यक्तित्व टीकाराम उपाध्याय ‘निर्भीक’को निधन भएको छ । असमको शोणितपुर जिल्लाको (पूर्ववर्ती) हालको बिहालीस्थित बाघमारी क्षेत्रका उपज उहाँको असोज ९ गते अर्थात सेप्टेम्बर २५ मा निधन भएको हो । उहाँ ९० वर्षका हुनुहुन्थ्यो ।
उहाँको निधनसँगै समग्र नेपाली साहित्य तथा कला संस्कृति जगतले एउटा प्रतिभाशाली स्रष्टा, चिन्तक, मार्गदर्शक, साहित्यसेवी, कला संस्कृतिप्रति समर्पित प्रेरणा पुरुष गुमाएको छ । उहाँको स्वर्गारोहणले नेपाली भाषा, साहित्य तथा कला सांस्कृतिक जगतका लागि अपूरणीय क्षति भएको छ ।
भारतको असम जन्म थलो भई सोही स्थानलाई कर्मथलो रोज्नु भएका निर्भिकले नेपाली साहित्य, कला, संस्कृतिका क्षेत्रमा कुशल सम्पादक, अनुवादक, लेखक, खण्डकाव्यकार, नाटककार, कवि तथा अभिनेताका रुपमा आफूलाई स्थापित गर्नु भएको थियो । कुनै दिन असम नेपाली साहित्य परिषद्का अध्यक्षसमेत रहनु भएका टीकाराम उपाध्याय ‘निर्भीक’ अब हामीबीच रहनु भएन । उहाँको निधनको दुःखद खबरले समस्त नेपाली भाषा साहित्यका साथै कला संस्कृति तथा सामाजिक जगतलाई गहिरो शोकमा डुबाएको छ ।
गान्धीवादी नेताका रुपमा समेत परिचित उहाँ शोणितपुर जिल्लाको (पूर्ववर्ती) हालको बिहालीस्थित बाघमारी क्षेत्रका उपज हुनुहुन्छ । उहाँ कुशल सम्पादक, अनुवादक, लेखक, खण्डकाव्यकार, नाटककार, कवि, अभिनेता तथा समाजसेवी व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
उहाँले आफ्नो दीर्घ जीवनभर साहित्य तथा कला संस्कृतिको श्रीबृद्धिमा साधनारत रहनु भएर समाजसेवामा समेत आफूलाई समर्पित गर्दै असमिया तथा नेपाली साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
उहाँले नेपाली साहित्य परिषद्, असमको अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै संस्थालाई नयाँ दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको अतुलनीय साहित्यिक योगदानको कदरस्वरूप असम सरकारले उहाँलाई साहित्यिक पेन्सन प्रदान गरी सम्मानित गरेको थियो ।
उहाँका कविता, उपन्यास, लघुकथा, ऐतिहासिक रचना तथा निबन्धलगायत साहित्यका विभिन्न विधामा उत्तिकै उचाईमा कलम चल्ने गरेको पाइन्थ्यो । उहाँका प्रकाशित कृतिहरूमा पाँचवटा कविता सङ्ग्रह, दुईवटा लघुकथा सङ्ग्रह, उपन्यास, इतिहासमूलक ग्रन्थ, निबन्ध सङ्ग्रह र जीवनीमूलक ग्रन्थ एक एक वटा प्रकाशित रहेका छन् । यी सिर्जनाहरूले उहाँको बहुमुखी साहित्यिक प्रतिभा र सृजनशीलतामा उहाँको उचाईको चिनारी दिन्छन् ।
साहित्यिक सिर्जनासँगै समाजप्रतिको गहिरो उत्तरदायित्व र प्रतिबद्धता बोकेर उहाँले नेपाली भाषा, साहित्य, कला संस्कृति र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका निभाउनु भयो । सरल, मृदुभाषी, कर्मठ, समाजहितैषी र साहित्यप्रेमी व्यक्तित्वका रूपमा उहाँले आफ्ना सहकर्मी, शुभेच्छुक तथा नयाँ पुस्तामाझ गहिरो प्रभाव छोड्नुभएको छ ।
उहाँको निधनले साहित्यिक, कला संस्कृति तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँजस्तो साहित्यप्रति समर्पित स्रष्टा, सृजनशील प्रतिभा तथा समाजसेवी व्यक्तित्वको अवसानले समग्र नेपाली भाषा साहित्य तथा कला एवम् सांस्कृतिक गजतमा अपूरणीय क्षति भएको छ । उहाँ हामी बिच नरहनु भएता पनि उहाँले साहित्य र समाजसेवाका क्षेत्रमा पुर्याउनुभएको अमूल्य योगदान सधैँ स्मरणीय रहनेछ भने उहाँका साहित्यिक कृति, विचार र सामाजिक योगदानको स्मृति हाम्रो हृदयमा सदैव अमर रहनेछन् ।
साहित्यलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाउँदै नेपाली भाषा, साहित्य, कला संस्कृति एवम् समाजको उत्थानमा निरन्तर समर्पित रहनुभएका ‘निर्भीक’ बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । सम्पादनदेखि अनुवादसम्म, कविता, खण्डकाव्य तथा नाटक लेखनदेखि अभिनयसम्म उहाँले पुर्याउनुभएको योगदान समग्र नेपाली साहित्य, संस्कृतिको इतिहासमा सदैव स्मरणीय रहनेछ ।
असम पूर्व मोनाबारी जिल्ला परिषद् सदस्य, पूर्व बाघमरा आञ्चलिक पञ्चायत अध्यक्ष, गान्धीवादी नेताका रुपमा परिचित उहाँ काङ्ग्रेस(इ)का कट्टर समर्थक हुनुहुन्थ्यो ।
साहित्य शिरोमणी सम्मान, अभिजमान स्मृति ट्रास्ट, कुवैत, गोपालसिंह नेपाली फाउण्डेसन पटना, विहाली महाविद्यालय, अ.ने.सा.स. शोणितपुर, समारदलनि श्रीमयी साहित्य गोष्ठी, असम नेपाली नाट्य सम्मेलन, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, अन्तरङ्ग रजत सम्मान आदि दर्जन बढी संस्थाबाट सम्मानित व्यक्तित्व निर्भिकले नेपाली साहित्य तथा कला संस्कृतिमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै असम राज्य सरकारले उहाँलाई साहित्यिक पेन्सन समेत प्रदान गरिएको थियो ।
पिता देवीचरण खतिवडा र माता अन्नपूर्णादेवीको कोखबाट सन् १९३६ मे १३ तारिखका दिन जन्मनु भएका टीकाराम उपाध्याय निर्भिकका श्रीमती, एक एक जना छोरा बुहारी र दुई नाति नातिना हुनुहुन्छ ।
स्व. टीकाराम उपाध्याय, निर्भीकको संक्षिप्त चिनारी :
बिहाली राङसालीको दलनी प्राथमिक विद्यालयबाट शिक्षारम्भ गर्नु भएका उहाँले एसएलसी(मैट्रिक) चारिआलि उच्चतर माध्यमिक विद्यालयबाट संस्कृत विषयमा लेटार मार्कस सह प्रथम विभागमा (सन १९५४), दरंग महाविद्यालयबाट आइ, ए., बनारस सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयबाट साहित्य शास्त्री, हरिश्चन्द्र डिग्री कॉलेज, बनारसबाट स्नातक (बि.ए) गर्नु भएको हो । साथमा उहाँले एलाहावाद विश्वविद्यालयबाट हिन्दी विषयमा एम.ए., उत्तर प्रदेश सहराणपुर वि. एड कलेज बाट बि.एड, असम संस्कृत परिषदबाट पुराण शास्त्रीको उपाधि हासिल गर्नु भएको व्यक्तित्व हो ।
निज बाघमारी, पो. बुढ़ीगाङ, विश्वनाथ, असममा वर्तमान बसोबासो गर्नु भएका उहाँका पत्नी श्रीमती तुलसी देवी हुनुहुन्छ । कर्मजीवन : १. २ नं. मोनाबारीको शारदा प्राथमिक विद्यालयमा शिक्षण कार्य गर्नु भई १९६४ सन्मा निवृत्त हुनु भएको हो ।
साथमा बापुजी उच्च माध्यमिक विद्यालयमा केहीकालबाट पनि शिक्षकता प्राप्त ।
३. गोसाइगांव कॉलेजमा केही दिन अध्यापन ।
४. एस. बी. आरबी कलेज (चाराली) मा ३ वर्ष अध्यापन ।
साहित्यिक जीवन : सन १९५३ देखि असमीयामा गीत लेखन (आकासवाणी गुवाहाटीबाट सन १९५४ तिर प्रशारित) १९६० देखि नेपाली र हिन्दी भाषामा लेखन कार्यारम्भ । १९६३–६४ सनदेखि विभिन्न पत्र–पत्रिकामा लेख कविता प्रकाशन आरम्भ ।
प्रकाशित पुस्तक :
१. चम्पा (नेपाली, खण्डकाव्य, पहिलो प्रकाशन १९७६, दोस्रो संस्करण २००४)
अनूदित :
२. राग अनुराग (गीत समग्रह)
३. भ्रान्ति (कथा संग्रह)
४. पूर्णिमा (उपन्यास)
५. गोपाल सिंह नेपाली (प्रकाशक भारतीय साहित्य अकादमी, दिल्ली)
६. उर्वशी (हिन्दी खण्डकाव्य, २००४)
७. कलीया भोमोरा दलङ (असमीया, प्रकाशित सन २०१७) ।
८. श्रद्धाञ्जली नेपाली कविता संग्रह ।
९. गंगा खण्डकाव्य (नेपाली) १९७६ ।
१०. डाकर वचन (असमीया) ।
१. इन्दु एक बिन्दु दुई (मूल डॉ. त्रिलोकीनाथ ब्रजवाल, हिन्दीबाट नेपालीमा)
२. अलेकजेण्डर पुस्किनको जिप्सी काव्यखण्ड नेपाली भाषामा अनूदित (प्रकाशाधीन)
३. नवमी नेपाली लेककथा असमीयामा संयुक्त रूपमा ।
४. पुस्किनका केहि कविता ।
रासियान कवि आलेकजेण्डार पुस्किनका २१ वटा कविता नेपालीमा ।
सम्पादन : १. कल्पना : गोपालसिंह नेपालीका गीत र कविताको संकलन
२. पूर्वाञ्चल (हिन्दी, असमीया द्विभाषीक पत्रिका) ।
३. चमेली गोजी पतिका
अन्यान्य : फुटकल कविता, लेख, खोज प्रबन्ध, नाटक आदि असमीया, नेपाली, हिन्दी आदि भाषाका पत्र–
पत्रिका, ग्रन्थ आदिमा अतंभूत भएर प्रकाशित ।
सामाजिक कार्य र संलग्नता :
१. २ नं. मोनाबारी गाउँमा शारदा प्राथमिक विद्यालय स्थापन (१९६४)
२. शारदा राष्ट्रभाषा विदयालय स्थापन, बाघमारी
३. पद्यनाथ शर्मा पञ्चानन स्मृति पुस्तकालय स्थापन, बाघमारी ।
४. अशोक पुस्तकालय प्रतिष्ठा बालिपोखरी
५. पूर्व चारिआलि शाखा साहित्य सभा प्रतिष्ठापक सचिव ।
६. राष्ट्रभाषा प्रचार समिति, वर्धा अन्र्तगत कोविद परीक्षा केन्द्र प्रतिष्ठापक परिचालक (बापुजी उच्च माध्यमिक विद्यालय, १९७९) ।
७. नेपाली साहित्य परिषद, असम, केन्द्रीय पूर्व सभापति ।
८. असम नेपाली नाट्य सम्मेलन केन्द्रीय पूर्व सभापति ।
९. बाघमरा आञ्चलिक पञ्चायत र बाघमरा उन्नय खण्डको चेयरमेन (१९९६)।
१०. मोनाबारी जिला पञ्चायत समष्टिको सदस्य (२००२ देखि २००७ सम्म) ।
११. एरी स्पिनिङ केन्द्र, निजबाघमारी, प्रतिष्ठापक ।
१२. भि.डि.पि.विहालीसँग संलग्न २२ वर्ष १३. विश्वनाथ ब्लक डेभेलपमेण्टको साहित्य सचिव ।
१४. पूर्वचारालि बडादशैँ सम्मेलन, प्रतिष्ठापक युग्म सम्पादक ।
१५. अन्यान्य स्थानीय संस्था–संगठनसँग संलग्न ।
सम्मान र पुरस्कार :
१. असम सगकारको साहित्यिक पेन्सनार ।
२. बनारस तुलसी प्रतिष्टानबाट गोष्ठीबाट निर्भीक सम्मान प्रापक ।
३. देवकोटा शताब्दी सम्मान, अन्र्तराष्ट्रिय नेपाल भाषा साहित्य काठमाडौ ।
४. पद्म प्रसाद ढुङ्गाना पुरस्कार (२००८) नेपाली साहित्य कला निकेतन, गुवाहाटी ।
५. मदन स्मारक सम्मान (२०११) श्रीविद्या धर्म प्र. नेपाली समिति, वाराणसी ।
६. साहित्य शिरोमणी सम्मान, अभिजमान स्मृति ट्रास्ट, कुवैत ।
७. गोपालसिंह नेपाली फाउण्डेसन पटनाबाट सम्मानित ।
८. अखिल म्यान्ना देशीय गोर्खा हिन्दु धार्मीक संघ म्यानमार ।
९. डा. शिवाली रामामृत रङ्गनाथन पुरस्कार, असम ग्राम्य पुथिभँराल ।
१०. बागदेवी पुरस्कार, तानसेन समारोह मध्यप्रदेश सरकार।
११. भारती परिषद प्रयागबाट दिन्दी मार्तण्ड उपाधि ।
१२. विहाली महाविद्यालय, अ.ने.सा.स. शोणितपुर, समारदलनि श्रीमयी साहित्य गोष्ठी, असम नेपाली नाट्य सम्मेलन, ठाड़ोभाका लोककला प्रतिष्ठान नेपाल (लमजुङ), बसन्त स्मृति संस्थान, विश्वनाथ चारिआलि प्रवोध विद्यालय, साझा कलागोष्ठी आदि ।
स्मरणीय छ, नेपाली भाषा, साहित्य, कला संस्कृतिको मातृ देश मानिने नेपालमा भने साहित्यकार तथा कला संस्कृतिकर्मीहरूलाई पेन्सन दिने प्रचलन आजका दिनसम्म सुरु हुन सकेको छैन ।
विरेन्द्र राणा र अनुप शर्माको सहयोगमा, असमबाट ।

प्रकाशित मिति २०८३ आश्विन ९, शुक्रबार १६:१३ गते