ठाडोभाका, कृष्ण चरित्र नितान्त लमजुङबाट उत्पत्ती भएरपछि अन्य जिल्लामा गएको हो : सञ्चारमन्त्री गुरुङ

ठाडोभाका, कृष्ण चरित्र नितान्त लमजुङबाट उत्पत्ती भएरपछि अन्य जिल्लामा गएको हो : सञ्चारमन्त्री गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ७ गते बुधबार १०:०१

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पशु तथा जडीबुटी प्रदर्शनी, सांस्कृतिक झाँकी, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बाल उद्यान, पर्यटन प्याकेज टुरजस्ता कार्यक्रम राखिएको आयोजकको भनाइ छ ।

फागुन ६ गते सुरु भएको महोत्सव १८ गतेसम्म चल्ने छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ स्थित सहजी खेलकुद मैदानमा प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिका महोत्सव सुरु भएको छ । सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उदघाटन गर्दै लमजुङ संस्कृतिका क्षेत्रमा धनी जिल्ला भएको फागुन ६ गते बताउनु भयो ।
उहाँले भिन्न चरित्रको यो महोत्सवले खेलकुदको जग बसाउन र लमजुङको लोकसंस्कृति संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले ठाडोभाका, कृष्ण चरित्र नितान्त लमजुङबाट उत्पत्ती भएरपछि अन्य जिल्लामा गएको हुँदा यस्ता सम्पदाको संरक्षण गर्न आवश्यक छ भन्नुभयो । उहाँले ठाडोभाका देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङले तथा कृष्ण चरित्र डिल्लीजङ्ग गुरुङले सिर्जना गर्नु भएको हो भन्दै अन्य घाँटु, सोरठी लगायतका सम्पदाको संरक्षण गर्न आवश्यक छ भन्नुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने उल्लेख गर्नु भयो । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने समेत जानकारी दिनुभयो । उहाँले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने दावी गर्नुभयो ।
‘सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समयसापेक्षका लागि अध्यादेश अपरिहार्य थियो ।’ उहाँको कथन थियो । मन्त्री गुरुङले ‘वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो ।’ भन्नुभयो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ, यो अध्यादेशले यी समस्यालाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ उहाँको धारणा थियो ।
आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङले आफ्नो मन्तव्यमा महोत्सवको माध्यमबाट पर्यटन प्रवर्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा दिनुका साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने उद्देश्य लिएको बताउनुभयो । महोत्सवबाट भएको आम्दानीले बेसीशहरमा रहेको सहज खेल मैदान विस्तारका लागि थप जग्गा खरिद गर्ने योजना रहेको उहाँको भनाइ छ ।
महोत्सवमा दुईसय स्टल राखिएका छन् । करिब चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा राखिएको आयोजक समितिका कोषाध्यक्ष प्रल्हाद बोहोराले बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘युवालाई खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गर्न महोत्सवले भूमिका खेल्ने छ ।’
अध्यादेशले उद्योग व्यवसायी समेत उत्साही देखिएको उहाँले बताउँदै अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएको जानकारी दिनुभयो ।
महोत्सवको उत्दाघाट कार्यक्रमका अवसरमा संविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य टिका बस्याल, यशोदा रिमाल, जिससका प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार अटल, राष्ट्रिय स्वतन्त्र पार्र्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ लगायतको सहभागिता थियो । सो कार्यक्रमको सञ्चालन पत्रकार अनुज अधिकारीले गर्नु भएको थियो ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पशु तथा जडीबुटी प्रदर्शनी, सांस्कृतिक झाँकी, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बाल उद्यान, पर्यटन प्याकेज टुरजस्ता कार्यक्रम राखिएको आयोजकको भनाइ छ ।
सो महोत्सवमा उदघाटन अघि र्याली गरिएको थियो । सेराबजारबाट सुरु भएको र्याली बेसीशहरको मुख्य बजार क्षेत्र नारायण स्थान, भीमसेन स्थान, त्रिवेणी टोल, बैंक चोक, हाइस्कूल चोक, मनाङ्गे चौतारा हुँदै सहजी खेल मैदानमा पुगेको थियो ।
भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेलका साथै आमा समूहको नृत्य प्रतियोगिता हुने कार्यक्रम छ । स्थानीय संस्कृतिको प्रचार–प्रसार गर्न आयोजित महोत्सव १८ गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ७, बुधबार १०:०१ गते

हजुरको प्रतिक्रिया