अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन तीन दिने साबुन बनाउने तालिम समापन

अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन तीन दिने साबुन बनाउने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २ गते आईतबार ०६:४७

तालिमको आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेलले तालिमका सहभागीहरूले सावुन बनाउने व्यवसाय सञ्चालन गर्ने भएमा प्रति व्यक्ति १० हजार रुपैयाँ बराबरको कञ्चा पदार्थ उपलब्ध गराइने जानकारी दिनुभयो ।

सो तालिममा १८ जनाले भाग लिएकामध्ये ९ जना महिला भएको आयोजक संस्थाले जनाएको छ ।

बेसीशहर– अपाङ्ग संरक्षण समाज, लमजुङको आयोजनामा यहाँ सञ्चालित तीन दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । फरक क्षमता अर्थात अपाङ्गता भएका व्यक्तिका लागि आत्म निर्भर बनाउन दिइएको सो तालिमको तथा सामाजिक विकास कार्यालयका प्रमुख मिता थापाको प्रमुख आतिथ्यतामा चैत ३ गते समापन गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि थापाले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै स्वरोजगार प्रवर्धनका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागीलाई व्यवसायी बन्न आग्रह गर्नुभयो । उहाँले व्यवसाय गर्नका लागि वीउ पूँजी समेतको प्रवन्ध आयोजक संस्थाबाट गर्ने भन्ने भएको हुँदा यो तालिमलाई प्राथमिकताका साथ आफ्नो कार्यालयले सहयोग गरेको बताउनु भयो । उहाँले भोलिका दिनमा व्यवसायको अनुगमन गर्ने र थपस्तरीय तालिम आवश्यक छ भन्ने भयो भने त्यसको प्रवन्ध गर्न सकिने उल्लेख गर्नुभयो ।
यसैगरी, प्रशिक्षक शोभा कँडेलले चार प्रकारका नुहाउने सावुन सहित आठ प्रकारका साबुन, सर्फ र फिनायल आदि बनाउन सिकाइएको बताउनु भयो । उहाँले सिस्नो, एलोभेरा, तीतेपाती, सुन्तलाको बोक्रा आदिको प्रयोग गरेर सावुन बनाएको जानकारी दिनुभयो । उहाँले यो उत्पादन पूर्णत अर्गानिक हुने हुन्छ । त्यसैले बजारमा यसको माग छ भन्दै आफूले ०७४ सालदेखि बजारबाट नुहाउने र लुगाधुने दुवै थरी साबुन खरिद नगरेको जानकारी दिनु भयो । उहाँले आफ्नो साबुन उद्योग समेत रहेको बताउँदै सहभागीहरूले सावुन उद्योग सञ्चालन गरेमा आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउनु भयो ।
उक्त अवसरमा पत्रकार महासंघका संस्थापक अध्यक्ष नवराज पहाडीले आत्मनिर्भर बन्नका लागि यो तालिम अति उपयोगी भएको आफूले पाएको बताउनु भयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरू समाज, घरपरिवारका लागि बोझ होइनन् भन्ने सिद्ध गर्नका लागि पनि तपाईहरू उद्यमी बन्न आवश्यक छ । जिल्लामा पहिलो पटक यो खालको तालिम भएको हुँदा यसको बजारमा खासै समस्या हुने छैन त्यस्तो आवश्यक परेमा प्रचारप्रसारमा सहयोग गर्नेछौं भन्नुभयो ।
त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष बसन्ता भट्टले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै यो तालिमले तपाईलाई हिम्मत दिएको छ, व्यवसायका साथमा आयआर्जनमा जोडिनु होला भन्नुभयो ।
सो समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले तालिमका सहभागीहरूले सावुन बनाउने व्यवसाय सञ्चालन गर्ने भएमा त्यस्ता व्यक्तिलाई १० हजार रुपैयाँ बराबरका कञ्चा पदार्थ उपलब्ध गराइने जानकारी दिनुभयो । सो अवसरमा सहभागीहरू तस्विर गुरुङ, बहिरा संघका अध्यक्ष रामचन्द्र श्रेष्ठ, कार्यकारी सदस्य दानबहादु गुरुङ लगायतले तालिमको अनुभव सुनाउँदै आफूहरू व्यवसायमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सो तालिममा १८ जनाले भाग लिएकामध्ये ९ जना महिला भएको ती बेसीशहर नगरपालिकाका अतिरिक्त मर्स्याङदी गाउँपालिका, क्ब्होलासोंथर गाउँपालिका र दोर्दी गाउँपालिकाबाट सहभागी रहेको आयोजक संस्थाका सचिव सीताराम बसेलले कार्यक्रमको सञ्चालन गर्दै जानकरी दिनु भएको थियो । उहाँका अनुसार समापनका अवसरमा अतिथिहरूलाई तालिममा निर्माण गरिएका सामग्री उपहार स्वरुप वितरण गरिएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र ३, आईतवार १८:४७ गते
हजुरको प्रतिक्रिया