भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाद्वारा पालिकाको प्रवेश नाका सहित मुख्य स्थलमा सिसीटिभी क्यामेरा जडान कार्य गरेको छ । ती सि.सि.टि.भि. क्यामरा जडान गरेसँगै सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।
मस्र्याङ्दी गाउँपालिका– ३ खुदीमा आयोजित उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष गुरुङले बजार व्यवस्थापन र सुरक्षाको लागि सिसिटिभि क्यामरा जडान गरिएको बताउनु भयो । उहाँले आगामी दिनहरूमा सुरक्षाको लागि थप विश्वसनीय बनाउने योजनाबारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले भन्नुभयो, ‘पालिकाको सीमाक्षेत्रका साथमा मुख्य बजारक्षेत्रमा आवतजावत बढी हुने भएको हुँदा सुरक्षा व्यवस्थापन कार्यलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनका साथै सामाजिक विकृति रोक्न सि.सि.टि.भि. क्यामेरा जडान गरिएको हो ।’
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले क्यामेरा जडानले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज हुने र सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले वेसीशहर नगरपालिका जाने मुख्यद्वार, खुदी वजार नजिकैको स्थलहरूलाई र उत्तरी भेग मनाङ जिल्ला जाने मुख्य नाकामा रहेको जगत वजारलाई केन्द्रित गर्दै ४ वटा तथा खुदी बजार क्षेत्रमा १० वटा क्यामरा जडान गरेको जानकारी दिनु भयो । निगरानीका लागि दुबै ठाउँमा रहेको सुरक्षा निकायलाई अधिकार दिइएको उहाँको भनाइ छ ।
पालिकाद्वारा आगामी आर्थिक वर्ष वडा कार्यालय र मानिसको आवातजावत तथा चहल पहल वढी हुने अन्य वजार क्षेत्रमा पनि क्यामरा जडान गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकामा अन्नपूर्ण चक्रीय पदमार्गको लमजुङमा खण्डमा सबैभन्दा बढी पर्दछ । यस कार्यले पर्यटन प्रवर्धनका क्षेत्रमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति २०८१ चैत्र २३, शनिबार ०६:४३ गते