
खुदी(लमजुङ)– मर्स्याङदी गाउँपालिका– ३ को खुदीमा आयोजना गरिएको बडादशैंलक्षित कृषि तथा पशु हाटबजारमा ल्याइएका सामग्री प्रायः हातहातै सकिएका छन् । तीन दिवसीय उक्त हाटबजारको पहिलो दिन असोज २७ गतेका दिन बजारमा ल्याइएका कृषि तथा पशुपंछीजन्य सामग्री हातहातै सकिएका छन् ।
मर्स्याङदी गाउँपालिकाको कृषि तथा पशु हाटबजार सञ्चालक समितिले आयोजना तथा गाउँपालिकाको प्रवर्द्धनमा सञ्चालन गरिएको बडादशैंलक्षित तिन दिने हाटबजारमा ल्याइएका कृषि तथा पशुपंछीजन्य सामग्री प्रायः विक्रेताको हातहातै सकिएका हुन् । सो हाटमा नयाँ फलफूल किवि बढी आकर्षक रह्यो भने कागनुको चामल, मकै(सेतो र पहेलों)को च्याख्ला(चामल), बेलाउती(अम्बा), काक्रो, मह तथा खसी, बोका हातहातै विक्री भएका थिए ।
सोही वडाका कुमानसिंह तामाङ दम्पत्तीले विकी खेती गर्नु भएको रहेछ । जम्मा ३५ बोट किविलगाएकोमा गत वर्ष १० बोटबाट एक क्विन्टल बिक्री गरेको थिएँ । यो वर्ष त चार क्विन्टल बढी नै हुन्छ होला भन्नुभयो । ७४ वर्षीय तामाङ र ६८ वर्षीया उहाँका श्रीमती रिद्धिमाया तामाङले त्यो खेती गरेको बताउनु भयो । छ जना छोराछोरी सबै बाहिर छ्रन् । घरमा बुढाबुढी मात्र छौं तैपनि त्यसै बस्नभन्दा २– ४ पैसा होला भनेर खेती लगाएको कुमानसिंहले बताउनु भयो । एक केजी किविको २५० रुपैयाँमा विक्री गरेको उहाँको भनाइ छ ।
त्यसैगरी, घनपोखराकी मनमाया गुरुङले ल्याउनु भएको पाँच किलो बेलाउती बिसाउन पनि नपाउँदै सकिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले त १५० रुपैयाँ प्रति केजी भनेकी थिएँ, सय रुपैयाँमा देउँ भने, एकै जनाले दुईकेजी किने, बिसाउन पनि पाइन ।’
घनपोखरामै रहेको रैथाने बाली संरक्षण समिति(सामुदायिक बीउ बैंक)का अध्यक्ष भक्तबहादुर गुरुङले आफूहरूले कागनुको चामल, मकैको च्याख्ला, निवुवा, मह आदि ल्याएको केही बेरमै सकियो । फेरि गाउँमा लिन जादैछु भन्नुभयो । उहाँका अनुसार कागनुको चामल प्रतिकेजी २५० रुपैयाँ र कमैको च्याख्ला दुई सय रुपैयाँ, मह प्रति माना एक हजार रुपैयाँ, भिर मह प्रति माना एक हजार २५० रुपैयाँ, निवुवा प्रतिकेजी ७० रुपैयाँमा बिक्री गरेको जानकारी दिनुभयो ।
त्यस्तै, हाटमा लगिएका बोकाहरू पनि हातहातै बिक्री भएका थिए । बेसीशहरतिरबाट समेत त्यो हाटमा खसी बोका किन्नेको भिड थियो । अघिल्ला अघिल्ला वर्षहरूमा मनाङबाट च्याँग्रा आउने गरेकोमा पछिल्ला दुई वर्षदेखि आउन छाडेका छन् । यो वर्ष पनि आउने लक्षण छैन । त्यसैले पनि बसीबोका किन्नेको भिड देखिन्थ्यो ।
गत वर्ष पाइएको अनदीको चामल, मोही आदि यसपटक नपाएको सो हाटबजारमा केही नयाँ पाएमा किन्ने उद्देश्यले पुगेका पत्रकार अपूर्वराज अधिकारी(पहाडी)ले बताउनु भयो । उहाँले भन्नुभयो, ‘किवि, मह र काक्रो किने, अन्य किन्ने जस्तो वस्तु देखिएन, खासमा अनदीको चामल खोजेको पाइएन ।’
उक्त हाटमा पुगेकाहरूको खाजा प्रयोजनका लागि स्थानीय दूधमा बनाइएको कागनुको खिर पनि पाक्न नपाउँदै बिक्रि भएको बताएका थिए । ।
गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही पाँच हजार रुपैयाँका दरले कुल दुई लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान :
यसैबीच, हाटबजार शुभारम्भका अवसरमा गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही पाँच हजार रुपैयाँका दरले कुल दुई लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय प्रदिप गुरुङले बताउनु भयो । उहाँका अनुसार परम्परागत पशुपालनको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै किसानलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्ने उद्देश्यले रकम वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्यको सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाटबजारमा विक्रिका लागि ल्याइउका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ ।’ साथै हाटबजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको पाँच प्रतिशत र खसी, बोका, भेडा तथा कुखुरालगायत पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको तीन प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाटबजारमा सहभागी भई स्थानीय उत्पादनको खरिदबिक्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस हाटबजारले कृषि तथा पशुपालन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हाटबजार २९ गतेसम्म खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति २०८३ आश्विन २८, बुधबार ०७:०७ गते