क्व्होलासोथार गाउँपालिकाको सार्वजनिक सुनुवाईमा विकासप्रति स्थानीयबासीको चासो

क्व्होलासोथार गाउँपालिकाको सार्वजनिक सुनुवाईमा विकासप्रति स्थानीयबासीको  चासो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २३ गते आईतबार ११:३०

कार्यक्रमका सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँपालिकाको गतिविधिलाई पारदर्शी र थप व्यवस्थित बनाउँदै आम सरोकारका विषयमा नागरिकलाई थप जिम्मेवारी बनाउन सार्वजनिक सुनुवाइ गरिएको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

चरागाउँ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । क्व्होलासोथार गाउँपालिका– ७, उपल्लो चरागाउँमा क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा सञ्चालित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई चैत २३ गते गरिएको हो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिदै उहाँले गाउँपालिकाको गतिविधिलाई पारदर्शी र थप व्यवस्थित बनाउने बताउनु भयो । अध्यक्ष गुरुङले आम सरोकारका विषयमा नागरिकलाई थप जिम्मेवारी बनाउन सार्वजनिक सुनुवाइ गरिएको बताउनु भयो । उहाँले सार्वजनिक सुनुवाईका माध्यमबाट आम नागरिकले गाउँपालिकाले गरेका गतिविधि एवं क्रियाकलापको बारेमा थाह पाउने, गाउँपालिकाको समग्र विकासबारे नागरिकले बुझ्न पाउने र नागरिकको रचनात्मक प्रतिक्रिया पाउने भएको हुँदा यस कार्यक्रमबाट आउँदा दिनमा विकासका योजनाहरू खाका कोर्न, समग्र पालिकाको विकास तथा समृद्धिका मार्गमा थप सहयोग पुग्ने अपेक्षा गरेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिकाको विकासमा चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरूले विकास बिना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधिका साथै कर्मचारीलाई समेत सुझाव दिए ।
सार्वजनिक सुनुवाइमा स्थानीयले सडकको सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन साथै करलगायतको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति अशोककुमार गुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष लक्ष्मण गुरुङलगायतले नागरिकका समस्या पहिचान गरी समाधान गर्नतर्फ जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।
सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले न्याययिक समितिले गर्दै आएको कामकारबाहीका साथमा अनुगमनका विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी, सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
साथमा वडा नं. ७ का वडाअध्यक्ष लक्षुमन गुरुङ, वडा नं. २ का वडाअध्यक्ष खुशीमान गुरुङ, वडा नं. ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङ, वडा नं. ८ का वडाअध्यक्ष सन्तोष घले र वडा नं. ९ का वडाअध्यक्ष हुमराज गुरुङले आफ्नो वडाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
सार्वजनिक सुनुवाईमा उठेको विषयमा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडाअध्यक्ष लक्षुमन गुरुङ, स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, पशु सेवा शाखा प्रमुख डा. अनुप गुरुङलगायतले सम्बोधन गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको अध्यक्षतामा भएको सुनुवाईमा कार्यपालिका सदस्यहरू केशकुमारी गुरुङ, खासदेवी गुरुङ, पुष्पा सुनार, निवर्तमान वडाअध्यक्ष डीलकुमारी गुरुङ, वडा सदस्यहरू दलबहादुर गुरुङ, राजेन्द्रप्रसाद गुरुङ, बीरमाया गुरुङलगायतको सहभागिता थियो ।
लमजुङ मिडिया हाउसको सहजीकरणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन पत्रकार आश गुरुङले गर्नु भएको थियो भने सार्वजनिक सुनुवाइको महत्वबारे जानकारी गराउँदै आचारसंहिताबारे पत्रकार देवेन्द्र (सुरज) गुरुङले जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र २४, आईतवार ११:३० गते
हजुरको प्रतिक्रिया