बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित रेडियो मर्स्याङ्दी ९५ मेगाहर्जको १९औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ उद्योग वाणिज्य संघको सभाहलमा चैत ३१ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि गुरुङले केक काटी, ‘रेडियो प्रोफाइल’ भिडियोमा क्लिक गरेर सो बार्षिकोत्सव कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । उहाँले आउँदो २० वर्षदेखि २५ बर्षसम्मलाई थेग्ने योजनाका साथ नेपालमा सूचना प्रविधि(ए.आइ, आइ.टि)का क्षेत्रमा विकास गरी युवाका लागि स्वदेशमै रोजगारी सृजना गर्न सरकार लागि परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा विभिन्न प्रविधिको विकास गरेर सञ्चार माध्यमको कार्यलाई सहजीकरण कार्य सिघ्र हुनेछ ।’
सो अवसरमा विशिष्ट अतिथि संविधान सभाका सदस्य जमिन्द्रमान घले तथा पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् सार्वजनिक सेवा प्रशारण अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थिति थियो । उहाँहरूले रेडियोको उज्ज्वल भविष्य तथा कार्यक्रमको सफलताका लागि सार्वजनिक सेवा प्रशारण सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा यो वर्ष उत्कृष्ट आमा समूहको रूपमा राइनस नगरपालिका– ९ स्थित तमु एकता आमा समूहलाई सम्मान गरिएको थियो । रेडियोले आफ्नो स्थापना दिवसमा हरेक वर्ष एक आमा समूहलाई सम्मान गर्ने गरिआएको छ ।
यसैगरी, सो अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा रेडियो मर्स्याङ्दीकी समाचार प्रमुख बसन्ता भट्टलाई सम्मान गरिएको छ । रेडियोमा निरन्तर १० वर्षदेखि कार्यरत रही निष्ठापूर्वक कार्यसम्पादन गर्ने गरेकोमा त्यसको उच्च मूल्यांकन गर्दै सम्मान गरेको रेडियोले जनाएको छ ।
यस्ता सम्मानले संस्था तथा कर्मचारीको योगदानको कदर गर्ने र मनोबल बढाउनका गरिएको रेडियो मस्र्याङ्दीका समाचार प्रस्तोता लक्ष्मी घलेले बताउनु भएको छ ।
अनौपचरिक कार्यक्रमको परिचयका क्रममा वरिष्ठ पत्रकार नवराज पहाडीले लमजुङमा आजका दिनमा पनि सञ्चारमाध्यम मैत्री वातावरण बन्न नसकेको दुःखेसो व्यक्त गर्नु भयो । उहाँले समाज, सरकारी कार्यालय तथा स्थानीय तह कोही कसैको व्यवहार पनि मिडियामैत्री छैन । पत्रिकाको वार्षिक ग्राहकका रुपमा ६– ७ सय तिर्न कञ्जुस्याइँ गर्नेहरू समाचारमा आफने नाउँ भने भँगेरे टाउके अक्षरमा सकेसम्म पहिलो पेजमै आओस् भन्ने चाहन्छन् तर एकोहोरो रोटी पाक्ने वा एकहातले ताली बज्ने भन्ने हुँदैन । सञ्चारमाध्यम बचेमा मात्र सबैका समाचार लेखिने हो त्यसैले यो दिवसले जिल्लाको समाज, स्थानीय तह तथा कार्यालयहरूलाई समाचार मैत्री बन्ने चेत खोल्न सकोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन सत्रमा कार्यक्रममा रेडियो मर्स्याङ्दीका अध्यक्ष गमप्रसाद गुरुङले सञ्चार माध्यम र ग्रहकहरू विच दोहोरो स्वस्थ सम्बन्ध हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार माध्यममा कार्यरत कर्मचारीको हालत के छ ? कसैलाई केही फरक नपर्ने तर एकैचोटी आफूले आयोजना गरेको कार्यक्रमको समाचार नआउँदा असन्तुष्ट हुने, यस्तो प्रकारको व्यवहार गर्न हुदैन ।’
कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका रेडियो मर्स्याङ्दीका अध्यक्ष गुरुङले सहयोगी सबैलाई शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन रेडियो मस्र्याङ्दीकी निर्देशक मिना गुरुङ आफैले गर्नुभएको थियो ।
सो सत्रमा विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै उपस्थित व्यक्तित्वको परिचय दिने तथा नयाँ वर्ष वि.सं. २०८२ को शुभकामना आदान प्रदान गरिएको थियो । उनीहरूले रेडियो मर्स्याङ्दीलाई अझ प्रभावकारी, समय सापेक्ष प्रविधिको प्रयोग गरी अझ गुणस्तरीय माध्यम बनाउनका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्वागत मन्तव्य सहित पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष तथा रेडियोका स्टेसन प्रमुख सन्देश पौडेलले गर्नुभएको कार्यक्रममा समाज, सञ्चार तथा प्रशासनिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ बैशाख १, सोमबार १२:०० गते