दूधपोखरी(लमजुङ)– लमजुङ र गोरखा जोड्ने चेपे नदी भच्चेक सडक पुलको कुनाघाटमा निर्मित मोटरेवल पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो पुलको उदघाटन गर्नु भएको हो ।
मुख्यमन्त्री पाण्डेले पुल उद्घाटन गर्दै अब सडक स्तरोन्नति गर्ने गरी आगामी बजेटमा योजना समेट्ने बताउनु भयो । उहाँले लमजुङको दूधपोखरी र गोरखाको अजिरकोट दुर्गम र विकट क्षेत्र हो, यी दुई पालिकालाई विकाससँग जोड्ने अभियानअनुसार अघि बढेका छौँ भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले सडकसँगै विद्युत् लगायतका पूर्वाधार पनि सँगै लैजाने योजना प्रदेश सरकारको रहेको छ भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशभरिका आवश्यकता पूरा गर्न पाँच खर्ब रुपैयाँ बजेट चाहिने स्थिति छ । तर प्रदेशको अवस्था पाँच अर्ब जुटाउन समेत मुस्किल रहेको स्थितिप्रति ध्यानाकर्षण गर्दै सीमित बजेटमा सीमित योजना मात्र अघि बढाउन प्रदेश सरकार बाध्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव हुँदा कतिपय योजना दोहोरोपना र अलमलमा पर्ने समस्या देखिएको समेत बताउनु भयो । संघ, प्रदेश र स्थानीय सरकारविच विकास निर्माणका योजनाहरूमा समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना हुनुका साथै अलमल हुने गरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । स्थानीय सरकारले गर्नुपर्ने सानासाना कामहरूमा पनि प्रदेश र संघ सरकारले हेर्नुपर्दा माथिल्लो सरकार सानासाना कामहरूमा अलमलिएका कारण विकासले उचित गति लिन नसकेको उहाँको तर्क थियो ।
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सिमित श्रोत र साधनका बाबजुत पनि गण्डकी प्रदेश सरकारले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहको बताउनुभयो ।
सो पुल निर्माणका लागि २०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पूर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो । कुल ४ करोड ३७ लाख रुपैयाँको लागतमा सो पुल निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जानकारी दिनु भयो । उहाँका अनुसार सो पुलको दुरी ४० मिटर रहेको छ ।
पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । कृषि उत्पादन बजारसम्म पु¥याउन समेत पुलले सहजता ल्याएको भन्दै स्थानीय खुसी व्यक्त गरेका छन् । सो मोटेरेवल पुलबाट लमजुङको विकट दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रकाशित मिति २०८२ बैशाख १६, मंगलवार ०८:४१ गते