‘सानु साथी’का साथ पोखरामा उदाउनु भयो कवि डा. ईश्वरमणि

‘सानु साथी’का साथ पोखरामा उदाउनु भयो कवि डा. ईश्वरमणि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २७ गते शनिवार ०२:५६

प्रमुख आमन्त्रित साहित्यकार सरूभक्तले एकसाथ कवि डा. अधिकारी, संस्थाकै अध्यक्ष तथा कवि रिता अधिकारी ऋतु हुँदै स्रष्टाकी पुत्री डा अस्मिता अधिकारीलाई उनीहरूको अलग अलग क्षमता, विशेषता र सामथ्र्यहरूको विषद चर्चा गर्दै झन्डै तीन दशकदेखि आफूले अत्यन्त नजिकबाट प्रेमपूर्वक सुन्दै आएका कवि अधिकारीको काव्य सामथ्र्यको प्रशंसा गर्नुभयो ।

कवि पुत्री डा अस्मिता अधिकारीले बाबासितका अन्तरङ्ग विषयहरूको कुन्तुरो खोल्न थालेसँगै कार्यक्रमले गम्भीर र रोचक मोड लिएको थियो ।

पोखरा– कवि डा. ईश्वरमणि अधिकारीको ‘सानु साथी’का साथ पोखरामा उदाउनु भएको छ । यहाँ आयोजित एक समारोहका बिच सो कीर्ति लोकार्पित भएसँगै बैशाख २६ गते त्यस्तो पुष्टि भएको हो ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कृतिको साहित्यकारहरू सरू भक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, कृतिकार कवि, सरस्वती प्रतिक्षा, लक्ष्मण थापा, अध्येता तथा विश्लेषक विश्व सिग्देल सहित डा अस्मिता अधिकारीले एकसाथ उक्त पुस्तकको लोकार्पण गर्नु भएको हो ।
सो अवसरमा प्रमुख आमन्त्रित साहित्यकार सरूभक्तले एकसाथ कवि डा. अधिकारी, संस्थाकै अध्यक्ष तथा कवि रिता अधिकारी ऋतु हुँदै स्रष्टाकी पुत्री डा अस्मिता अधिकारीलाई उनीहरूको अलग अलग क्षमता, विशेषता र सामथ्र्यहरूको विषद चर्चा गर्दै झन्डै तीन दशकदेखि आफूले अत्यन्त नजिकबाट प्रेमपूर्वक सुन्दै आएका कवि अधिकारीको काव्य सामथ्र्यको प्रशंसा गर्नुभयो । उहाँका कृतिहरूमा वर्तमानका त्रासदी र कुरुप यथार्थहरूलाई पनि कथ्यको गहनताका साथ प्रस्तुत हुने बताउनु भयो । स्पर्शीलता, गहनता, दार्शनिकता, बहुअर्थी र अन्तरविषयकता कवि अधिकारीको विशिष्टता रहेको जानकारी दिंदै नेपाली साहित्यमा यौटा सुन्दर काव्य कृति आएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष आमन्त्रित साहित्यकार तीर्थ श्रेष्ठले कतिपय कवि लेखकहरू आफनै पूर्ववर्ति कृतिहरूको प्रतिष्पर्धा र राप तथा तापमा चेपिएर हराइरहेको चर्चा गर्दै कवि अधिकारीले आफ्ना हरेक कृतिहरू अघिल्ला कृतिहरूभन्दा सशक्त र प्रभावकारी ढंगले लामो सम्पादन र परिपक्कताका साथ पर्खेर, अत्यन्त इमान्दार भएर नेपाली साहित्यमा दिइरहेकोमा आफू हर्षले गदगद भएको सुनाउंनु भयो । उहाँलाई वौद्धिक, दार्शनिक तर त्यत्तिकै हार्दिक र कोमल कविका रूपमा उहाँले अथ्र्याउनु भयो । अहिले उनी नेपाली समकालीन कविताको एक सारथी भइसकेको भन्दै श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।
विश्लेषक विश्व सिग्देलले कृति माथि आफ्नो दृष्टिकोण राख्दै सानु साथी कविताको विविध आयामहरूको चर्चा गर्दै डा. अधिकारीका कविताले बोकेको विचार तथा दर्शनको क्षितीजको व्याप्तिलाई मुक्त कण्ठले प्रशंसा गर्दै पूर्वीय दर्शनका उपनिषद् र वेदका सुक्तिहरू झैँ न्यूनतम शब्द खर्चेर गहन अनुभूतिजन्य कवितामा संवाद गर्न सक्ने कविका रूपमा कविलाई अथ्र्याउनु भयो । कविताको बुनोट, बनोट र भाषा सरल भैकन पनि अर्थगत तथा अनुभुतिगत रूपमा संवेदनाका अनेक मूर्त–अमूर्त विम्बहरूको सुन्दर माला उनेर उच्च बौद्धिक र हार्दिक बनेर आएको ‘सानु साथी’ वास्तावमै एक सफल काव्य कृति रहेको उहाँले आफ्नो धारणा सुनाउनुभयो । उहाँले आफूले कविता नलेखे पनि वर्षौदेखि काव्यलाई रुचिपूर्वक पढ्दै आएको र सानु साथीका कतिपय कवितामा आफ्नै अनुभूति भेटेकोमा खुसी समेत व्यक्त गर्नु भएको थियो ।
लोकार्पित कृति सानु साथीबाट अमृतले सम्बोध्य शैलीको प्रेमगीत सम्झाउने कविता ‘सम्बोधिका’ कार्यक्रममा कवि वाचन गर्नु भएको थियो भने साहित्यकार जीवनसागर भण्डारीले जीवनबोध, मृत्युबोध, प्रेम, संवेदना तथा दर्शनले भरिएको ‘इच्छापत्र’ वाचन गर्नु भयो ।
काव्यिक शुभकामना सहित २१ वर्षपछि आफ्ना पूर्ववर्ती काव्यकृतिहरूलाई धेरै उछिनेर अत्यन्त सुन्दर र शक्तिशाली कविताहरू सहित गौरव गर्न लायक काव्य कृति नेपाली कविताले प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै साहित्यकार सरस्वती प्रतीक्षाले ‘आमाः विश्वविद्यालय’ वाचन गर्नु भयो । शुभकामनाका शब्दहरू सहितका यी काव्य वाचनले खचाखच भरिएको विद्वान काव्य प्रेमीहरूको हल सम्पूर्णरूपमा काव्यिक देखिन्थ्यो । शुभकामनाकै क्रममा लामो समयदेखि कविता र कलाका क्षेत्रमा एकोहोरो लागिरहेका अर्का काव्य पारखी विम्ब कवि रमेश श्रेष्ठले आफूले कवि ईश्वरमणिलाई समयको पृथक चेताना बोकेको बौद्धिक तथा दार्शनिक कविको रूपमा वर्षौदेखि चिन्दै र संगत गर्दै आएको बताउनु भयो । उहाँले कविभित्रको हार्दिकता र बौद्धिकताले उहाँलाई कवि बनाएको जिकिर गर्नु भयो ।
अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयबाट उच्च छात्रवृत्तिमा औषधी विज्ञानमा विद्यावारिधि गरेर हाल क्यालिफोर्नियास्थित जोन्सन एण्ड जोन्सन कम्पनीमा अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत कवि पुत्री डा अस्मिता अधिकारीले जब बाबासितका अन्तरङ्ग विषयहरूको कुन्तुरो खोल्नु भयो, कार्यक्रमले गम्भीर र रोचक मोड लिएको थियो । छोरी अस्मिताले आफ्नो जीवनको रोलमोडल र रियल हिरो आफ्नो बाबा भएको, बाबाको जीवन सङ्घर्ष, अध्ययन–अध्यापन कौशल र उनको आफ्नो विषय तथा अन्य अन्तरविषयक ज्ञानको सानैदेखि आफू साक्षी र साथी दुवै भएको बताउंदै सानैमा पनि सबैले जेमा पनि बाबाजस्तै भन्ने गरेको सुनाउंदै बाबाको छोरी भएकोमा गर्व गर्दै बाबाले सुरुमा र विचविचमा अनिक्षापूर्वक गणितको पिएचडीमा लागेसमेत सुनाउनु भयो । त्यसलाई कुशलता र गुणवेत्ताका साथ टुंग्याएर अब त्यतैत्यतै पो लागिरहनु हुन्छ कि ! भन्ने आशंका भइराखेको बेला पिएचडीपछि लगातार दुईवर्षमै दुइटा सफल कृति आएको देखेपछि ईश्वरले साहित्य र साहित्यले ईश्वर नछोडेकोमा खुसी व्यक्त गरिन् र बाबा तथा आमा दुबैलाई साहित्य सेवामा जुटिरहन आफूले हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आफ्ना कविताहरूले नै आवश्यक संवाद आफै गर्ने बताउंदै कृति आफ्नी ‘सानु साथी’ देव्यांशीलाई र समारोह आफ्नी मेधावी छोरी साथी अस्मितालाई समर्पण गर्दै दुवैमाथि लेखिएका आफ्ना दुई थान कविता ‘सानु साथी’ र ‘छोरीका नाममा’ वाचन गर्दै कवि ईश्वरमणि अधिकारीले आफू कविताको प्रेमी भएको र जीवन रहुन्जेल कविताको आराधना गरिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘आजकल त सास फेर्नु र कविता लेख्नु आफ्ना लागि उस्तैउस्तै लाग्न थालेको छ ।’ बेलाबेलामा विभिन्न नामले प्रकाशन गृहहरू चाहारेको आफ्नो कृति पहिलो पाण्डुलिपी तयार भएको झन्डै डेढ दशकपछि सानु साथीको आगमनले तीव्र प्रकाशन सम्भव भएको बताउंदै छोरीकी जन्मदिन पारेर उसैलाई साक्षी राखेर लोकार्पण गर्न पाउँदाको खुसी र प्रकाशन संस्थाकी अध्यक्ष समेत रहेकी आफ्नी जीवनसाथी तथा कवि रिता अधिकारी ऋतु, सानु साथीसितै मुलुक बाहिर भएको बेलाको प्रकाशनको रिक्तता पनि एकसाथ उहाँले व्यक्त गर्नुभयो ।
प्रकाशन संस्थाकै आयोजनामा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सचिव एमडी काफ्लेले सञ्चालन गर्नु भएको उक्त लोकार्पण समारोहामा संस्थाकै साहित्य संयोजक केशु शर्माले स्वागत गर्नु भएको थियो । अध्यक्ष थापाले धन्यवाद ज्ञापन सहित सभा विसर्जनका क्रममा कवि अधिकारीलाई न्युनतम शब्दमा अधिकतम भाव र जादुमय गाम्भीर्यता पोख्न सक्ने कवि अधिकारीका कविताहरू पढदा आफूलाई ध्यानमा बसेजस्तो महसुस हुने बताउनु भयो । उहाँले आफ्नो संस्थामार्फत यस्तो गहन कृति प्रकाशन गर्ने अवसर प्रदान गरेकोमा कवि र उहाँको परिवारप्रति आभार व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २७, शनिबार १४:५६ गते
हजुरको प्रतिक्रिया