काठमाडौं– नेपाली साहित्यको भण्डारमा एकै साथ एउटै मञ्चबाट तीन कृति थप भएका छन् । प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण वैशाख ३० गते गर्नुभयो ।
वानीरा फाउन्डेसनले एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाउने क्रममा ती कृतिको लोकार्पण गरिएको हो ।
लोकार्पण भएका ती कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन् । दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गर्नुभएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार लोकार्पित कृतिहरूबारेमा कार्यक्रम संयोजक भगवती बस्नेतले समीक्षात्मक टिप्पणसहितको मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको व्यक्तित्व एवम् कृतित्वका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले समेत आआफ्ना धारणा सहित शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्तीको महत्व तथा लोकार्पिक कृतिका लेखकका बारेमा परिचर्चा गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ बैशाख ३१, बुधबार ०५:५७ गते