पोखरा– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्ततः निर्वाचन भएरै छाडेको छ । माउ पार्टी एमालेबाट युवा संघ नेपालको नयाँ नेतृत्व निर्विरोध रुपमा चयन गर्न गरेको पहल खेर गएको छ र अन्ततः निर्वाचन भएको छ । आज जेठ १३ गते भएको मतदानमा करिब ८० प्रतिशत मत खसेको छ ।
सो निर्वाचनका लागि कुल एकहजार ७६४ मतदाता थिए । तीमध्ये एकहजार ४०४ अर्थात ७९.५९ प्रतिशत मत खसेको छ । पोखरा सभागृहमा आज विहान १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । जम्मा ४५ वटा विद्युतीय मेसिनबाट मतदान कार्य सुचारु गरिएको थियो । तर, फर्जी मतदाताको विषयलाई लिएर बीचमा केही बेरा मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
मतगणना आजै हुने नेताहरूले बताएका छन् । अबको केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
युवा संघको कुल १५७ पद मध्ये ६४ पद निर्विरोध भएको थियो भने ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।
प्रकाशित मिति २०८२ जेष्ठ १३, मंगलवार १९:२५ गते