सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ९ को फेदिकुना स्थित लालीगुँरास अङ्ग्रेस बोर्डिङ स्कूलको व्यवस्थापन समिति चयन गरिएको छ । नवगठित समितिको अध्यक्षमा पुनः रामजी कँडेल जेठ ३० गते चयन हुनुभएको हो ।
समितिको सदस्यहरूमा सन्तोष अर्याल, सर्मिला भुजेल, इन्दु खड्का, सरु मिश्र, सन्तोष श्रेष्ठ र नरेन्द्र थापा चयन हुनु भएको छ । 
यसैगरी, सोही दिन स्कुल क्याप्टेन, भाइस क्याप्टेन चयन भएका छन् । त्यसका लागि भने मतदान गरिएको थियो । कक्षा– १ देखि १० कक्षासम्मका विद्यार्थीले मतदानमा भाग लिएका थिए । उक्त निर्वाचनबाट स्कुल क्याप्टेनमा युकेस सुनार र भाइस क्याप्टेनमा सिङ्नल तामाङ विजय भएका छन् । लालीगुँरास बोर्डिङ स्कूलमा दोस्रो पटक विद्यार्थी वीच चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोट गरिएको व्यवस्थापन समितिका अध्यक्ष एवम् सो विद्यालयका संस्थापक रामजी कँडेलले बताउनु भयो । उहाँका अनुसार स्कुल क्याप्टेन, भाइस क्याप्टेनको सो निर्वाचनमा निर्वाचन अधिकृत पनि विद्यार्थी नै रहेका थिए । उहाँले भन्नुभयो, ‘यसविधिले विद्यार्थीको नेतृत्व क्षमता विकास, साथी भाइसँगको सम्बन्ध विकास, समुदायप्रतिको उत्तरदायित्वबोध हुने र लोकतान्त्रिक विधिको ज्ञान हुने विश्वास गरिएको छ ।’
बाल क्लव गठन : अध्यक्षमा अनुषा भुजेल
सो अवसरमा विद्यालयमा बाल क्लवसमेत गठन गरिएको छ । बाल क्लवको अध्यक्षमा अनुषा भुजेल, उपाध्यक्ष जनक मिश्र, सचिवमा किरण के.सी, कोषाध्यक्ष सभ्यता अर्याल र सहसचिवमा उज्ज्वल घिमिरे चयन हुनु भएको छ ।
क्लबको कार्यसमितिको सदस्यहरूमा गौरव अधिकारी, आरोही भुजेल, पार्वती तामाङ, प्रशान्त खड्का, सावन तामाङ, समिर वि.क, अर्पणा खनाल, सुशान्त श्रेष्ठ, रोषन भुजेल, आकांक्षा तामाङ र अनुराधा अधिकारी सदस्यमा निर्वाचित हुनु भएको विद्यालय प्रशासनले जनाएको छ । 
शैक्षिक पाठ्यक्रमका कोषसँगै अतिरिक्त क्रियाकलाप सिकाउँदै आएको यस विद्यालयले बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा विद्यार्थीद्वारा नाटक प्रस्तुत गरेका थिए । विद्यालयका अनुसार उक्त नाटकमा युकेस सुनार, प्रशान्त तामाङ, करिष्मा घले, अनु कार्की, इभा श्रेष्ठ, र अनुषा भुजेलले विभिन्न पात्रको भूमिका निर्वाह गरी प्रस्तुति दिनुका साथै बाल श्रम विरुद्ध सचेतना गराउने काम गरेका थिए ।
यसैबीच, लाली गुराँस अंग्रेजी बोडिङ स्कुलमा हस्त लेखन सुधार कार्यशाला सञ्चालन गरिएको छ । लालीगुराँस स्कुलको आयोजनामा स्किल बेष्ट एजुकेसन फाउन्डेसन बुटवलले विद्यार्थीलाई तालिम दिइरहेको छ । आयोजक सो फाउन्डेसनका फाउन्डर तथा प्रशिक्षक ओम प्रकास बस्यालले हस्त लेखन सुधार तालिम दिनु भएको हो ।
छ दिने उक्त तालिममा कक्षा– १ देखि १० कक्षासम्मका सबै विद्यार्थील भाग लिएका छन् । विद्यार्थीलाई चार समूहमा विभाजन गरी प्रति समूह साँढे एक घण्टाका दरले तालिम दिइएको प्रशिक्षक बस्यालले जानकारी दिनु भयो । उहाँका अनुसार यो तालिमले विद्यार्थीको लेखन गति र अक्षर बनाउने क्षमतामा सुधार आउने मात्र नभई उनीहरूको आनीबानी आचरण, व्यवहार सँगसँगै व्यक्तित्व विकास समेत हुने हुन्छ ।
यसैगरी सबै शिक्षकहरूका लागि शिक्षण सिकाई विधि र कक्षा व्यवस्थापन सम्बन्धमा तालिम पनि दिइएको छ । हेण्ड राइटिङ तालिम लिनु पूर्व र लिन थालेपछि विद्यार्थीको लेखन कलामा धेरै परिवर्तन आएको शिक्षक सुशील थापाले जानकारी दिनु भयो । उहाँका अनुसार सुन्दर हेण्ड राइटिङले विद्यार्थीको व्यक्तित्व विकास हुनुका साथै विचारमा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ असार ३, मंगलवार २१:०३ गते