बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरको सेरामा दाह्री– कपाल काट्नका लागि सुविधा सम्पन्न गोल्डेन युनिसेक्स सैलुनद्वारा सेवा सुरु गरेको छ । वरिष्ठ पत्रकार एवम् संस्कृतिकर्मी नवराज पहाडीले सो सैलुनको रिबन काटेर एक कार्यक्रमका बीच असार १३ गते उदघाटन गर्नु भएको हो ।
पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार नवराज पहाडी प्रविधिको विकाससँगै मानिसहरूले सुविधाको उपयोग गर्नु स्वभाविक हो । त्यसै क्रममा आज गोल्डेन युनिसेक्स सैलुनले आफ्नो सेवाको लामो अनुभव उपयोग गर्दै सुविधा सम्पन्न सेवा सुरु गरेर ग्राहकलाई थप आकर्षण गर्ने कार्य गरेको थाहा पाउँदा धेरै खुशी लागेको बताउनु भयो ।
संस्कृतिकर्मी एवम् ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका पहाडीले भन्नुभयो, ‘यो सैलुनमा सेवाग्राहीका लागि यरकण्डिसन(एसी)को सुविधा सहित तातोपानी, चिसोपानीका साथमा टि.भी.को सुविधा, हेडवास आदिको सेवा रहेको समेत थाहा पाउँदा आफूलाई थप उत्साहित बनाएको छ, सामान्य सैलुनकै शुल्कमा यतिका सुविधाले ग्राहकहरूलाई पक्कै पनि बढी मात्रामा लोभ्याउने काम गर्ने छ ।’ यी सुविधाले यो सैलुनको भविष्य उज्वल छ भन्ने देखिन्छ भने उद्योग वाणिज्यको क्षेत्रमा समेत नयाँ आयाम थप गरेको रुपमा आफूले लिएको पहाडीले उल्लेख गर्नुभयो । उहाँले अन्य क्षेत्रले एसी सेवाका नाउँमा अतिरिक्त शुल्क असुल्ने गरेको समेत आफ्नो अनुभव रहेको सुनाउँदै यो सेवा सैलुनको विशेषता रहेको आफूले पाएको जानकारी दिनुभयो । पहाडीले बेसीशहर बजारको प्रवेशद्वार सेरा चेकमा यो सैलुन रहेकोले पनि यो निकै लोकप्रिय हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त सैलुनका प्रोपाइटर मोहमद मुवारक हुसेनले बेसीशहरमा विगत २२ वर्षदेखि सैलुन व्यवसायमा संलग्न रहेर आर्जित अनुभवका आधारमा सो नयाँ सेवाको थालनी गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘हामीले सेवा थप गरेका नाउँमा अतिरिक्त शुल्क लिदैनौं । सो सैलुनमा आफ्ना दुई छोराहरू मोहमद अब्बास हुसेन र मोहमद फिरोज हुसेनका अतिरिक्त थप तीन जना स्टाफ समेत रहेका छन् ।’ उहाँका अनुसार सैलुनमा ग्राहक वर्गको सेवाग्राहीको सुविधाका लागि गद्दासहितको कुर्चीसमेतको प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘व्यवसायलाई स्थायित्व दिनका लागि सो घर बहालका लागि २० वर्षको सम्झौता गरिसकेको छु ।’
सैलुनका प्रोपाइटर मोहमद मुवारकले आफ्ना पाँच जना छोरा छोरी र श्रीमती सहित व्यापार व्यवसाय सञ्चालन गर्नका लागि बेसीशहरमा बस्दै आएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘साधारण कपाल काटेको १५० रुपैयाँ, दाह्री काटेको एक सय रुपैयाँ, कपाल डिजाइन गरेको तीन सय रुपैयाँ, दाह्री डिजाइन गरेको १५० रुपैयाँ शुल्क लाग्नेछ ।’
एकसाथ छ जनालाई सेवा दिन सक्ने सो सैलुनले पुरुषका अतिरिक्त बालबालिका लक्षित सेवा प्रदान गरिरहेको छ भने छिट्टै ‘लेडिज सेवा’ पनि सुरु गरिने जानकारी दिइएको छ ।
स्थानीयबासी तथा सेवाग्राहीहरूले उक्त सलुनलाई स्वागत गर्दै उच्चस्तरीय सेवा पाउने विश्वास व्यक्त गरेका छन् । यतिधेरै सुविधा सम्पन्न बेसीशहर बजार क्षेत्रमा सञ्चालित सैलुन यो दोस्रो हो भने सेरा बजार क्षेत्रमा पहिलो रहेको गोल्डेन युनिसेक्स सैलुनका प्रोपाइटर मुवारकले जानकारी दिनुभएको छ ।
उक्त उदघाटन कार्यक्रमको मोहमद अब्बास हुसेनले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष किसान संगीत रेडियो मस्र्याङ्दीका प्रतिनिधि मिना गुरुङ, फेवा टेलिभिजनका जिल्ला प्रतिनिधि प्रमोद अधिकारी, अन्तरङ्ग न्यूजडटकमका प्रतिनिधि अपूर्वराज अधिकारी तथा सप्तरङ्गी आर्टका प्रोपाइटर सुभास अधिकारीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ असार १३, शुक्रबार १७:२३ गते